सन् २०२५ मा नेपाल चीन दौत्य सम्बन्धमा स्थापना भएको ७० वर्ष पुगेको छ । यस वर्षलाई विशेष बनाउन चीनले चीनमा नेपाल भ्रमण वर्ष मनाउने र चिनियाँहरूलाई नेपाल घुम्न जान प्रोत्साहित गर्ने खबरले नेपालका पर्यटन व्यवसायीमा उत्साह जागेको छ । सरकारी निकाय पनि चीनले टन्न पर्यटक पठाइदिने आशामा ३/४ लाख चिनियाँ पर्यटक आउने भन्दै त्यसको श्रेय लिने दाउमा रहेको देखिन्छ । नेपालमा चिनियाँ पर्यटक किन आउने, आउँदा के सहुलियत दिने, उनीहरूले कस्तो कस्तो गतिविधि खोज्छन्, आए भने त्यसलाई दिगो बनाउने के गर्ने जस्ता कुरामा भने तयारी र गृहकार्य भएको देखिएको वा सुनिएको छैन । नयाँ वर्ष लाग्दै गर्दा त्यसको औपचारिक शुभारम्भ गर्ने कुनै तयारी नेपाल पर्यटन बोर्ड, नेपालको कुनै सरकारी निकाय वा चिनियाँ निकायले गर्न आँटेको वा गरेको जानकारी पनि सार्वजनिक भएको छैन । चीन नेपाल भ्रमण वर्ष कुहिरोको काग जस्तै बनेको देखिन्छ । यही आलेखका चिनियाँ पर्यटक, तिनको रोजाइ र वास्तविकताबारे प्रकाश पार्नु यस आलेखको उद्देश्य रहेको छ ।
आँकडामा चिनियाँ पर्यटक
सन् २०२४ मा लगभग १३ करोड चिनियाँ पर्यटक विदेश यात्रा गर्नेछन् भनी डिजिटल मार्केटिङ र अनुसन्धान फर्म चाइना ट्रेडिङ डेस्कको पछिल्लो सर्वेक्षणमा उल्लेख छ । यो संख्या महामारीपूर्वको १५ करोड उच्चतम संख्याभन्दा कम हो । तर, सन् २०२८ सम्म चीनको बाह्य पर्यटन २० करोड नाघ्ने अनुमान गरिएको छ । २०२५ मा कोरोना महामारीको विन्दु छुने अनुमान गरिएको छ । यही अनुपातमा नेपालमा चिनियाँ पर्यटक आएको अवस्था छैन ।
ड्रागन ट्रेलले आफ्नो पछिल्लो सर्वेक्षणमा उल्लेख गरेको छ कि चीनको अक्टोबर गोल्डेन वीक बाह्य पर्यटनको पुनरुत्थानमा महत्त्वपूर्ण कोसेढुंगा सावित भएको छ । सन् २०२४ मा यात्रा निर्णयलाई साकार पार्नमा विभिन्न कारक छन् । बजेट प्राथमिकतामा शीर्ष स्थानमा छ । त्यस्तै सरकारी नीतिहरू र यात्रा प्रतिबन्धले पनि गन्तव्यहरूको छनोटमा भूमिका खेल्छ । चाइना ट्रेडिङ डेस्कको सर्वेक्षणले तीनओटा महत्त्वपूर्ण प्रवृत्तिहरूलाई देखाएको छ । २०२३ मा घरेलु पर्यटन द्रुत गति र सुदृढ रूपमा कोरोनाअघिको अवस्थामा पुग्यो । प्रतिपर्यटक खर्च ५ वर्षमा उच्चतम स्तरमा पुगेको छ । २०२३ मा २०१९ को उचाइको ६० प्रतिशत बाह्य पर्यटन पुनरुत्थान भएको छ । तीमध्ये ७० प्रतिशतभन्दा बढी यात्रा हङकङ, मकाउ र ताइवानमा केन्द्रित थिए । अन्य देशहरूमा यात्रा ३६ दशमलब ३ प्रतिशत मात्र पुनरुत्थान भएको देखिन्छ ।
पुनरुत्थानमा अझै समय लाग्छ
युरोप र अन्य देशमा पर्यटन पुनरुत्थान चीनको भन्दा निकै बढी भएको पाइन्छ । चिनियाँमा बाह्य पर्यटन पुनरुत्थानमा अझै केही अवरोध रहेका छन् । कोरोनाविरुद्ध सरकारले निकै ठूलो प्रतिबन्धहरू लगायो । यसको प्रभाव कारण चिनियाँ परिवारहरूको आर्थिक अवस्थामा ठूलो नकारात्मक प्रभाव परेको छ । अझै पनि चीनको अर्थतन्त्रले महामारीपूर्वको गति लिन सकेको छैन । त्यस्तै चिनियाँ मुद्राको अवमूल्यन पनि अर्को कारण देखिन्छ । त्यस्तै गन्तव्य देशहरूमा देखिएको उच्च मुद्रास्फीतिले गर्दा पनि चिनियाँ पर्यटक बाह्य मुलुकमा जान नसकिरहेको अवस्था छ । अहिले उडान र पर्यटन सेवाहरूको शुल्क बढेको छ । त्यसो भएपछि विदेश घुम्न जान तयार भएकाहरू मुलुकभित्रको पर्यटनलाई विकल्पका रूपमा रोज्छन् । यूरोप भ्रमण महँगो भएकाले अहिले सस्तो गन्तव्य रोजेका छन् जसले गर्दा थाइल्यान्डमा सबैभन्दा बढी चिनियाँ पर्यटकको अंश रहेको छ । त्यस्तै अहिले रूस युक्रेनबीचको युद्धले भूराजनीतिक तनाव बढाएको छ । यसले भीसासम्बन्धी जटिलतालाई जन्माउँछ जसले गर्दा यात्राको अनिश्चितता बढाउँछ ।
सर्वेक्षणले देखाएको छ कि झन्डै दुई–तिहाइ चिनियाँ यात्रु चारतारे होटेल वा त्योभन्दा माथिको बसाइलाई रुचाउँछन् । प्रतिस्पर्धात्मक मूल्य र छूटमा विलासी सामान विदेशमा किन्नका लागि उत्साहित देखिन्छन् ।
त्यही भएर कतिपय मुलुकले चिनियाँ पर्यटकलाई भिसा नचाहिने व्यवस्था गरेका छन् । नेपालले पनि भिसा शुल्क नलिने निर्णय गरेको छ । भीसा छूटले चिनियाँ पर्यटक आगमनलाई वृद्धि गर्न मद्दत गर्छ । यसको उदाहरण त थाइल्यान्ड र सिंगापुरलाई लिन सकिन्छ । सिंगापुरमा २०२४ मा चिनियाँ नयाँ वर्षको समय भीसा छूट दिएपछि ३८८ प्रतिशत पर्यटक वृद्धि भएको बताइन्छ । थाइल्यान्ड, मलेशिया र यूएईजस्ता देशहरूले भीसा–फ्री नीतिबाट लाभ लिएका छन् तर नेपालले पर्याप्त लाभ लिन सकेको छैन । यसो हुनुमा हवाई भाडा बढी महँगो हुनु एउटा कारण रहेको छ । भाडा महँगो बनाउने काम नेपाल सरकारले गरेको छ, टिकटमा भ्याट लगाएर । त्यस्तै चीनले अहिले पनि पूर्णरूपमा विदेश यात्रा खुला गरेको छैन, केही प्रतिबन्ध अझै कायम रहेको छ । सरकारी कर्मचारीहरूलाई विदेश यात्रा गर्न अनुमति चाहिन्छ, जसले मध्यमवर्गीय यात्रुहरूलाई अवरोध पुर्याउँछ ।
२०२४ को अन्त्यसम्ममा उडान क्षमता ८० प्रतिशत पुर्याउने लक्ष्य चिनियाँ वायुसेवा कम्पनीको रहेको छ । एशिया–प्रशान्त र मध्यपूर्वका मार्गहरूमा बढी उनीहरूको ध्यान केन्द्रित रहेको पाइन्छ । किनमेलको सट्टा सांस्कृतिक र अनुभवजन्य उत्पादनतर्फ चिनियाँ पर्यटकको झुकाव बढ्न थालेको छ । जापानमा चिनियाँ पर्यटकको कुल खर्चमा किनमेलको अंश २०१९ मा ५१ दशमलव १ रहेकामा २०२३ मा ३७ दशमलव ३ प्रतिशतमा घटेको छ । उनीहरूको खर्च आवास र मनोरञ्जनमा बढेको छ । खेलकुद र सांगीतिक कार्यक्रमहरूप्रति आकर्षण बढ्दै छ ।
चीनमा कसरी प्रवर्द्धन गर्ने ?
अबको पर्यटन प्रविधिमा आधारित हुनेछ । पर्यटनका लागि डिजिटल समाधानहरूको प्रयोग गर्न थालिएको छ । एपहरू, यात्राको योजना, बुकिङ र बजेट–मैत्री विकल्पहरूको वृद्धि भइरहेको छ । स्याओहोङ्सु, डाउयिन जस्ता प्लेटफर्महरूबाट प्रभावित युवा पुस्ताले यिनकै माध्यमबाट नयाँ गन्तव्यहरूको खोजी गरिहेका छन् । त्यसैले अब प्रविधियुक्त मार्केटिङ नगरी चिनियाँ पर्यटक आकर्षित गर्न कठिन हुन्छ । प्रविधि प्रयोगमा चिनियाँहरू निकै अगाडि बढिसकेको सन्दर्भमा नेपालले त्यसलाई नपछ्याउने हो भने चिनियाँ पर्यटकको रटान लगाउनुको अर्थ छैन । नयाँ पुस्ताको ध्यान तान्न विशेष ध्यान दिनु आवश्यक छ ।
संगीत, खेलकुद, र स्थानीय खानाको अनुभवले चिनियाँ पर्यटकलाई आकर्षित गर्दै छ । पर्यटकको खर्चमा आवास र मनोरञ्जनको अंश बढ्दै छ । मित्र र परिवारसँग अनुभव बाँड्न चाहने जेन जेड र मिलेनियल पुस्ताको रुचि रहेको पाइन्छ । त्यसैले चिनियाँ पर्यटकमा देखिएको प्रवृत्ति र बजार हेरेर नेपालले नीति बनाउन आवश्यक छ । व्यक्तिगत आवश्यकताअनुसार यात्रा प्याकेज बनाउनुपर्छ । अन्तिम समयमा योजना बनाउने प्रवृत्तिलाई सम्बोधन गर्न रियल–टाइम छूट योजनाहरू लागू गर्नुपर्छ । थाइल्यान्ड, मलेशिया, र दक्षिणपूर्वी एशियाका देशहरू चिनियाँ पर्यटकको प्राथमिकतामा परेको देखिएकाले कम लागतका गन्तव्यहरूको प्रचार गर्नु बढी लाभदायी देखिन्छ । चिनियाँ पर्यटकको बदलिँदो प्राथमिकताअनुसार, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, र सांगीतिक फेस्टिभललाई केन्द्रित गर्न आवश्यक छ । फेवातालमा ड्र्यागन बोट प्रतियोगिता यसको उदाहरण हो । यस्तै खालका कार्यक्रम आयोजना नेपालले आफै गर्ने हो भने त्यसबाट लाभ लिन सकिन्छ ।
नेपालले ध्यान दिनुपर्ने विषय
नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको भूमिका महत्त्वपूर्ण छ । चीनको ठूलो जनसंख्या, बढ्दो आर्थिक क्षमता, र अनुभवजन्य पर्यटनप्रतिको आकर्षणले नेपाललाई चिनियाँ पर्यटक आकर्षित गर्ने उत्कृष्ट गन्तव्य बनाउन सक्छ । तर, यो सम्भावनालाई पूर्णरूपमा उपयोग गर्न नेपालले केही विशेष रणनीतिहरू अपनाउनु आवश्यक छ ।
चीनबाट नेपाल आउने पर्यटकलाई अनअराइभल भीसाको सुविधा उपलब्ध गराउन, साथै ई–भीसाको प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्छ । चीनका प्रमुख शहरहरू (जस्तै, बेइजिङ, शाङ्घाई, छन्तु) र काठमाडौंबीच प्रत्यक्ष उडानहरू थप गर्नु आवश्यक छ ।
उडान संख्यामा वृद्धि गर्नुका साथै उडान भाडालाई प्रतिस्पर्धी बनाउनु आवश्यक छ । चिनियाँ पर्यटकहरू प्राय: स्याओहोङसु , वीच्याट, वैदु, डाउयिनजस्ता प्लेटफर्महरू प्रयोग गर्छन् । नेपालका गन्तव्यहरूको प्रवर्द्धन ती डिजिटल माध्यमहरूमा गर्नु आवश्यक छ । नेपालका सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, र साहसिक पर्यटनका सम्भावनाहरूलाई डिजिटल माध्यमबाट चिनियाँ भाषामा प्रचार गर्नुपर्छ । फोटोमा देखाउन लायक स्थानहरूको सूची तयार गरेर युवापुस्तालाई आकर्षित गर्न सकिन्छ । त्यस्तै चिनियाँ भाषामा दक्ष गाइडहरूको संख्या वृद्धि गर्नुपर्छ । पर्यटकस्थलहरूमा चिनियाँ भाषामा जानकारी बोर्ड र ब्रोशरहरू राख्नु आवश्यक छ ।
चिनियाँ पर्यटकले सांस्कृतिक, साहसिक, र प्राकृतिक अनुभवलाई प्राथमिकता दिने गरेका छन् । नेपालले यी क्षेत्रहरूमा थप आकर्षण सिर्जना गर्न सक्छ । बौद्ध तीर्थस्थलहरू (लुम्बिनी, स्वयम्भू), पाटन दरबार स्क्वायर, र भक्तपुरजस्ता स्थानहरूको प्रवर्द्धन गर्न सकिन्छ । त्यस्तै साहसिक पर्यटनलाई बढावा दिनुपर्छ । नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । चीनमा नेपाल पर्यटनसम्बन्धी प्रदर्शनी आयोजना गरी चिनियाँ पर्यटकलाई नेपालबारे जानकारी दिन सकिन्छ । दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अहिलेको अवसर नेपालमा चिनियाँ पर्यटक बढाउने सबैभन्दा उपयुक्त समय हो । चीनको सरकार यसमा निकै सकारात्मक देखिएको छ । त्यसैले यही प्लेटफर्मलाई प्रयोग गरेर नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने सही अवसर आएको छ ।
नयाँ पुस्ता डिजिटल भुक्तानीमा रमाउँछ । त्यसैले व्यवसायीहरूले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुपर्छ । अत: चिनियाँ पर्यटकको प्रवृत्ति र रोजाइ हेरेर नेपालले काम नगर्ने हो भने चिनियाँ पर्यटकको आश गर्नुमात्रै हुन्छ, भर पर्न सकिँदैन ।
नेपालको तुलनात्मक रूपमा सस्तो लागत खोज्ने चिनियाँ पर्यटकका लागि मुख्य आकर्षण हो । त्यसैले लागत प्रभावकारी प्याकेजहरू (फ्लाइट, होटल, गाइड सेवा) तयार गर्नुपर्छ । चिनियाँ पर्यटक प्राय: शान्त र प्राकृतिक गन्तव्यहरू खोज्छन् । पर्यटकहरूलाई लुम्बिनी, पोखरा, गण्डकी क्षेत्र, र मध्य तथा सुदूर पश्चिमका कम–ज्ञात स्थानहरूको प्रवर्द्धन गरिनुपर्छ । चिनियाँ ट्राभल एजेन्सीहरू, अनलाइन ट्राभल प्लेटफर्महरूसँग साझेदारी गर्न सकिन्छ । साथै, नेपालका होटेल व्यवसायी, ट्रेकिङ एजेन्सीहरू, र एयरलाइन्सले चीनमा विशेष अभियान सञ्चालन गर्नुपर्छ । चिनियाँ नयाँ वर्ष, गोल्डन वीकजस्ता अवसरहरूमा विशेष छुट र प्याकेजहरू उपलब्ध गराउनुपर्छ । चिनियाँ पर्यटकहरूलाई लक्षित गरेर सांस्कृतिक कार्यक्रम आयोजना गर्न सकिन्छ ।
नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक वृद्धि गर्न उपयुक्त रणनीति, डिजिटल प्रवर्द्धन, र अनुभवजन्य सेवाहरूको विकासले ठूलो भूमिका खेल्न सक्छ । चीनसँगको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई उपयोग गरी पर्यटन क्षेत्रमा दीर्घकालीन लाभ लिन सकिन्छ । यात्रा व्यवहारमा देखिएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन अन्तिम समयमा यात्रा योजना बनाउने प्रवृत्ति हो । सर्वेक्षणले देखाएको छ कि ७३ दशमलव १ प्रतिशत चिनियाँ पर्यटक आफ्नो यात्रा १ महीनाभन्दा कम समयअघि मात्र बुक गरिरहेका छन् । यो प्रवृत्ति युवा पर्यटक, विशेषगरी जेन जेड बीच बढी प्रख्यात छ, जो स्वस्फूर्त र साहसिक अनुभवतर्फ आकर्षित भइरहेका छन् । जेन जेड र मिलेनियल्सले न्यून तयारीमै सजिलै गरिने यात्रा मन पराउँछन् । बुकिङको समय र यात्रा अनुभवका हिसाबले बढ्दो लचकता चाहन्छन् । त्यसैले रियल–टाइम विकल्प र छूटसहितको बुकिङ प्रस्ताव गर्न आवश्यक छ । चीनको बाह्य पर्यटनको बजारवृद्धिमा जेन जेड अगाडि छन् । १८–२९ उमेरसमूहका करीब ५४ प्रतिशत पर्यटक यस्ता छन् । उनीहरूको प्राथमिकता पुराना पुस्ताहरूको तुलनामा निकै फरक छ ।
जहाँ पुराना पुस्ताले अनुभवलाई प्रशंसा गर्छन्, उनीहरूले स्वास्थ्य, सुरक्षा र आर्थिक पक्षमा बढी चासो देखाउँछन् । उनीहरू यात्रा एपहरूमा योजना र बुकिङका लागि बढी निर्भर छन् । यी तथ्यलाई ध्यान दिएर चीनमा पर्यटन प्रवर्द्धन गर्न सके, अभियान चलाउन सकेमात्रै चिनियाँ पर्यटक बढाउन सकिन्छ ।
सर्वेक्षणले देखाएको छ कि झन्डै दुई–तिहाइ चिनियाँ यात्रुहरू चारतारे होटेल वा त्यसभन्दा माथिको बसाइलाई रुचाउँछन् । प्रतिस्पर्धात्मक मूल्य र छूटमा विलासी सामान विदेशमा किन्नका लागि उत्साहित देखिन्छन् । उनीहरूको यस्तो स्वभावलाई सम्बोधन गर्ने खालको प्रडक्ट नेपालमा छैन भन्दा पनि हुन्छ । नयाँ पुस्ता डिजिटल भुक्तानीमा रमाउँछ । त्यसैले व्यवसायीहरूले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुपर्छ । त्यस्तै पुरानो पुस्ताचाहिँ नगदमा आधारित लेनदेनमा रमाउँछ । अत: चिनियाँ पर्यटकको प्रवृत्ति र रोजाइ हेरेर नेपालले काम नगर्ने हो भने चिनियाँ पर्यटकको आश गर्नुमात्रै हुन्छ, भर पर्न सकिँदैन ।
लेखक पर्यटन व्यवसायी हुन् ।