नेपाल एकीकृत व्यापार रणनीति २०८० ले १२ ओटा क्षेत्रमध्ये कृषिक्षेत्रमा पारेको चियाको निर्यात उल्लेख्य मात्रामा बढ्न सकेको छैन भने केही वर्षयता न यसको खेती गर्ने क्षेत्र विस्तार भएको छ न उत्पादनमै उल्लेख्य सुधार । चिया तथा कफीखेतीको विस्तार र निर्यातकै लागि गठन गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नामको संस्था छ तर यसले नगदेबालीको विकास तथा विस्तारमा के गर्यो भन्ने प्रश्न उब्जिएको छ ।
विगत ५ वर्षमा चियाको निर्यात न्यूनतम २ अर्ब ७८ करोड रुपैयाँदेखि ३ अर्ब ९३ करोड रुपैयाँबीचमा भएको बोर्डको तथ्यांकमा उल्लेख छ । आव २०७५/७६ पछि चिया रोपण भएको क्षेत्रफल नै घटेको छ । आव ०७५/७६ मा कुल २८ हजार ७३२ हेक्टरमा चियाखेती गरिएकोमा आव २०८०/८१ सम्म आइपुग्दा २० हजार ७६० हेक्टरमा ओर्लेको छ । बीचका वर्षमा चिया रोपणको क्षेत्रफल अझै घटेको थियो । त्यस्तै यस अवधिमा चियाको उत्पादन पनि आशालाग्दो किसिमले बढ्न सकेको देखिँदैन । आव २०७५/७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन भएकामा आव २०८०/८१ सम्म आइपुग्दा २६ हजार ९८३ मेट्रिक टनमात्रै पुगेको छ । बोर्ड बनाएर र चियाखेतीका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि किन क्षेत्रफल घट्यो र उत्पादन ठूलो परिमाणमा किन बढाउन सकिएन भन्नेमा सरकार गम्भीर देखिएको छैन । बोर्डले पनि जिम्मेवारीबोध गरेको पाइँदैन ।
- अब स्वदेशमा खपत बढाउनुका साथै अन्य तेस्रो देश निर्यात बढाउन प्रयास गर्नु जरुरी छ ।
- चियाको निर्यात र उत्पादन बढाउन अब फरक रणनीति अख्तियार गर्नुपर्ने देखिएको छ ।
नेपालमा चियाखेती फस्टाउन नसक्नुको एउटा प्रमुख कारण यसको निर्यातमा हुने अवरोध हो । नेपालमा उत्पादित अत्यधिक चिया भारत निर्यात हुन्छ । तर, भारतमा उत्पादन बढेको वर्ष नेपाली चियाले बजार र मूल्य पाउन कठिन हुन्छ । त्यसमा पनि बेलाबेलामा गैरभन्सार अवरोध हुने गरेको छ । यसको समाधानका लागि तेस्रो देशमा बजार खोजिनुपर्छ । बजार विस्तारका लागि सरकारले कूटनीतिक माध्यमलाई समेत प्रयोग गर्न आवश्यक हुन्छ । अधिकांश चिया भारत निर्यात हुनेगर्छ । अब स्वदेशमा खपत बढाउनुका साथै अन्य तेस्रो देश निर्यात बढाउन प्रयास गर्नु जरुरी छ ।
त्यस्तै निर्यातकर्ताले खोजेको जस्तो उत्पादन र प्रमाणीकरण प्रक्रिया पनि हुन आवश्यक छ । चिनियाँ व्यापारीले नेपाली चियामा चासो दिए पनि त्यसलाई सही तरीकाले सम्बोधन गर्न नसक्दा यसले बजार पाउन सकेको छैन । त्यस्तै विषादी र रासायनिक मलको प्रयोगका कारण यूरोपको बजार पनि बलियोसँग पाउन सकेको छैन । नेपाल टी भनेर ब्रान्डिङ गरी निर्यात गर्न थालिए पनि खासमा बजारीकरणका लागि पर्याप्त काम भएका छैन भन्न सकिन्छ । त्यसैले यसमा किसानहरू आकर्षित हुन सकेका छैनन् । भारतको दार्जलिङ चिया बगान पुरानो भएकाले त्यहाँको भन्दा राम्रो चियापत्ती नेपालको राम्रो हुने र त्यसको विक्री पनि बढी हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । बरु नेपाली चिया किनेर भारतीय व्यापारीले दार्जलिङ चियाको ब्रान्डमा निर्यात गरेको नेपाली व्यवसायीको दाबी छ । यसो हो भने पनि यसमा नेपालकै कमजोरी देखिन्छ ।
अर्को, इलाम र झापामा चियाखेती भइरहेको छ तर त्यही अनुपातमा अन्यत्र खेती हुन सकेको छैन । यही चियाबारीका कारण इलाममा आन्तरिक पर्यटन निकै फस्टाएको छ । त्यसले पनि चियाखेतीभन्दा यसतर्फ व्यवसायीको ध्यान गएको हुन सक्छ । पर्यटक आगमन बढेसँगै यहाँको जग्गाको भाउ महँगो हुन थालेपछि प्लटिङ गरी घडेरी विक्री गर्ने प्रवृत्ति पनि बढेको छ । चियाखेतीका लागि नयाँनयाँ क्षेत्र विस्तार हुनुपर्नेमा त्यसो नभई संकुचित हुनु चिन्ताको विषय हो । त्यसो त युवाको विदेश पलायनले पनि यस क्षेत्रलाई प्रभाव पारेको देखिन्छ ।
त्यसैले चियाको निर्यात र उत्पादन बढाउन अब फरक रणनीति अख्तियार गर्नुपर्ने देखिएको छ । नेपाली चिया गुणस्तर भएको भनी चिया चाख्न आएका विदेशी व्यापारीले बताएको पाइए पनि निर्यात हुन नसक्नुमा केही नीतिगत र प्रविधिगत समस्या कारण हो भन्न सकिन्छ । त्यस्तै चिया किसानले सरकारलाई बारम्बार विभिन्न समस्याबारे अवगत गराउँदा त्यसको समाधान हुन सकेको देखिँदैन । त्यसैले एकीकृत व्यापार रणनीतिमा पारिएको चियाको रोपण, उत्पादन र निर्यातका लागि विशेष पहल हुनु जरुरी छ ।