चीनले जुनदेखि भारतीय पर्यटकका लागि कैलास पर्वत र मानसरोवरको यात्रा खुला गर्ने समाचारसँगै यहाँको प्याकेज सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । धेरै भारतीय पर्यटक नेपालको बाटो भएर कैलास मानसरोवार जाने भएकाले नेपालका पर्यटन व्यवसायीले राम्रो फाइदा लिन पाउने देखिन्छ । झन्डै दुई दर्जनभन्दा बढी ट्राभल एजेन्सीले कैलास मानसरोवर यात्रा सञ्चालन गरिरहेका छन् । भारतीय पर्यटकलाई त्यहाँ लैजाँदा नेपालका पशुपति क्षेत्रलगायतमा पनि ती पर्यटकीय लैजाने गरिन्छ । मानसरोवरमा अहिलेसम्म नेपालबाट मात्रै जान सहज छ । भारतबाट सीधै मानसरोवर जतिसुकै तीर्थयात्रु जान पाउने व्यवस्था भएमा चाहिँ नेपालले यो अवसर गुमाउन सक्छ ।
कोरोना महामारी शुरू भएपछि सन् २०२० मा चीनले मानसरोवर जाने यात्रीमाथि रोक लगाएको थियो । त्यसअघि नेपाली ट्राभल एजेन्सीले भारतीय पर्यटकलाई मानसरोवर लैजाने गरेका थिए । हिल्सा र रसुवागढी नाकाबाट भारतीय पर्यटकलाई त्यहाँ लैजाँदा नेपाली व्यवसायीले राम्रो आम्दानी गरेका थिए । खासगरी हिल्साबाट छोटो अवधिमा पुग्ने भएकाले नेपालगञ्ज विमानस्थलमा हेलिकोप्टर र प्लेनको भीड नै लाग्ने गरेको थियो । तर, कोरोनाका कारण देखाउँदै चीनले दुवै नाका बन्द गरिदिएपछि नेपाली पर्यटन क्षेत्रले एउटा आम्दानीको अंश गुमाएको थियो । पछि चीनले नेपाली र भारतीय पासपोर्ट बाहेकलाई मानसरोवर खुला गर्यो । हजारौं भारतीयलाई मानसरोवर लगिरहेका ट्राभल एजेन्सीले केही थोरै नेपालीलाई मानसरोवर लगेर आफ्नो व्यवसाय जोगाएका थिए । चीनले भारतीय नागरिकबाहेकका लागि मानसरोवर खुला गरेपछि तेस्रो मुलुक पुगेका भारतीयहरू मानसरोवर लैजाने क्रम चल्यो । अहिले उसले भारतीयहरूका लागि पनि मानसरोवर खुला गरेपछि नेपाली व्यवसायी उत्साहित भएका छन् ।
चीनले भारतीयहरूलाई मानसरोवरमा लैजान दिनेबारेमा निर्णय गरिसकेको भए पनि त्यसको औपचारिक जानकारी भने पठाइनसकेको पर्यटन व्यवसायीको भनाइ छ ।
चीनले भारतबाट सीधै पनि मानसरोवर जान स्वीकृति दिने गरेको छ । करीब १ हजार यात्रु धार्चुलाको बाटो हुँदै नेपाल र भारतबीच सीमा विवाद रहेको लिपुलेक हुँदै मानसरोवर जाने गरेका छन् । नेपालबाट जानुभन्दा यस क्षेत्रबाट मानसरोवर जान सस्तो पर्ने भए पनि बढी समय लाग्ने भएकाले उनीहरूले नेपाल नै रोज्ने गरेको व्यवसायीको भनाइ छ । जसरी मुस्लिमहरूका लागि मक्कामदिना जीवनमा एकपल्ट पुग्नै पर्ने र्धािर्मक यात्रा मानिन्छ त्यसैगरी हिन्दूहरूका लागि पनि मानसरोवर र कैलास पर्वत निकै पवित्र धार्मिक स्थल मानिन्छ । यो क्षेत्र हिन्दू, जैन, बौद्ध बोन धर्मावलम्बीहरूका लागि निकै पवित्र तीर्थस्थल मानिन्छ । ७० वर्ष नाघेका भारतीयहरूलाई प्रवेश नदिइने भएकाले ५ वर्षदेखि रोकिएका भारतीयहरू मानसरोवर जानका लागि निकै भीड लाग्ने अनुमान व्यवसायीहरूको छ । व्यवसायीले पैसाको प्रलोभनमा जथाभावी गरे, अस्वस्थ प्रतिस्पर्धा भयो भने समस्या पैदा हुन सक्छ । मानसरोवरमा तीर्थयात्रु लैजाँदा होटेल र गाडी चिनियाँ नै प्रयोग गर्नुपरे पनि यात्रुहरूका लागि शाकहारी खानाको व्यवस्था नेपालकै टुर अपरेटरहरूले गर्छन् । मानसरोवर जान भारतीयहरूका लागि करीब २ लाख भारतीय रुपया बराबरको प्याकेज बनाइएको हुन्छ । नेपालीलाई भन्दा भारतीयलाई बढी शुल्क लिने गरेकाले उनीहरूले बढी पैसा तिर्नुपर्छ । अहिले नेपाली तीर्थयात्रुलाई डेढ लाखको हाराहारीमा प्याकेज विक्री भइरहेको छ । त्यसैले मानसरोवर यात्राबाट नेपालको पर्यटन व्यवसायले राम्रो लाभ लिने देखिन्छ ।
भारतीय हिन्दूहरूका लागि नेपाल पनि धार्मिक गन्तव्य नै हो । भारतको विभिन्न प्रान्तीय सरकारहरूले मानसरोवर जाने तीर्थयात्रुहरूलाई १ लाखभन्दा बढी भारू सहयोग दिने गरेको छ । नेपाली ट्राभल एजेन्सीहरूले मानसरोवर यात्रा सम्पन्न गरेको प्रमाणपत्र दिएपछि त्यसैका आधारमा उनीहरूले सरकारबाट सहयोग लिन पाउँछन् । नेपालको पशुपतिनाथको दर्शनमा आउने भारतीय ज्येष्ठ नागरिकलाई पनि केही प्रदेश सरकारहरूले आर्थिक सहयोग दिने गरेका छन् । वास्तवमा नेपालको पशुपतिनाथ र कैलासलाई एउटै प्याकेज बनाएर बेच्दा पर्यटन व्यवसायीका लागि थप आम्दानीको बाटो खुल्न सक्छ । मानसरोवर राम्रो अवसर भएकाले नेपालका व्यवसायीहरूले यसमा विशेष ध्यान दिनुपर्छ । अस्वस्थ प्रतिस्पर्धा भयो र सेवा स्तरीय भएन भने नेपालको छवि खराब हुन सक्छ । त्यसैले सरकारले पनि यसका लागि आवश्यक नियमनमा ध्यान दिनु उपयुक्त हुन्छ ।