संयुक्त राज्य अमेरिको नयाँ भन्सार नीतिले पारेकोे प्रभाव न्यूनीकरणमा विश्वको ध्यान आकर्षित भएको छ । नयाँ अमेरिकी भन्सार नीतिलाई कतै अवसरका रूपमा र कतै अवरोधका रूपमा ग्रहण गर्दै अवसरलाई व्यवहारमा उतार्न र अवरोधलाई सुगम बनाउन सम्पूर्ण विश्व अहोरात्र सक्रिय रहेको छ । बाहिर एकप्रकारको मौनता देखिए तापनि भित्रभित्र नयाँ परिस्थितिअनुसार प्राथमिकता निर्धारण, भन्सारका दरहरूमा परिवर्तन गर्दाका आयामहरू र वाणिज्य क्षेत्रको दिशा निर्धारण गर्ने विषयमा अनेकौं विकल्पका घनीभूत गृहकार्यहरूमा विश्वभरिका सरकारहरू व्यस्त छन् । भाषाका कडापन र नरमपन जेसुकै भए तापनि सारमा हरेक देश नयाँ परिस्थितिअनुसार संयुक्त राज्य अमेरिकासँगको व्यापार सम्बन्धलाई पुन: परिभाषित गर्दै विश्व अर्थव्यवस्थाको अंगका रूपमा निर्यातमार्फत समृद्धि प्राप्त गर्ने लक्ष्यतर्फ उन्मुख छन् ।
व्यापार प्राथमिकता निर्धारणका ऐतिहासिक आधार
व्यापार प्राथमिकता निर्धारण गर्दा जहिले पनि ऐतिहासिक आधारहरूलाई ध्यान दिनुपर्ने हुन्छ । आवरणमा जेजस्ता नयाँ शब्दावली र रूपावलीसहितका नामकरण भए तापनि ती सबै स्वरूप प्राचीन भूखण्डका विभाजनका वरिपरि नै परिभ्रमण गरिरहेका छन् ।
प्राचीन समयमा पृथ्वीलाई नौखण्डमा वर्गीकृत गरिएको थियो । पाँचओटा समान गुणहरू (संस्कृति, सामाजिक मनोविज्ञान, सोच, शैली, शैलमण्डल (भूबनोट)युक्त भएकाले त्यसै आधारमा पृथ्वीलाई नौखण्डमा वर्गीकृत गरिएको हो । यी नौओटा खण्डमा आआफ्ना खण्डमा जो सर्वेसर्वा राजा हुन्थे तिनलाई चक्रवर्ती सम्राट् भन्ने प्राचीन अभ्यास रहेको थियो । आफ्नो खण्डभन्दा बाहिर प्रभुत्व स्थापित गर्ने प्रयास भएको प्राचीन समयमा कमै उदाहरण पाइन्छन् । यस्ता केही उदाहरण इतिहासमा भेटिए तापनि यी प्रयास दीर्घकालसम्म टिक्न सकेको पाइँदैन । प्रशासनिक, सैनिक, सञ्चार यातायात, संस्कृति, सामाजिक मनोविज्ञान, सोच, शैली र शैलमण्डलका कारण अन्तरखण्ड चक्रवर्ती सम्राट् बन्ने प्रयाशहरू असफल हुने दृष्टान्तका माझ यी खण्ड व्यापारका दृष्टिकोणबाट भने आकर्षक खण्डका रूपमा रहेको देखिन्छ । रेशममार्गमार्फत जम्बुद्वीपका खण्डहरू चीन खण्ड (पूर्वी र दक्षिण पूर्वी एशिया) र आर्यावर्त (दक्षिण एशिया इरानसमेत), स्कन्दभूमि (रूस र मध्यएशिया) तथा इराखण्ड (पश्चिमी यूरोप) बीच व्यापार गतिविधिहरू घनीभूत हुँदै जाँदा ती क्षेत्रका बासिन्दाको जीवनमा आएको सकारात्मक परिवर्तन र चीन खण्डमा आएको स्वर्णकाल हामी सबैमा सर्वविदितै छ । पृथ्वीको अरब खण्ड (मध्यपूर्व), मेरूखण्ड (अफ्रिकी महादेशको दक्षिणी भाग) र उषाखण्ड (अस्टे्रलियासम्मको भूभाग जसलाई कुनै शास्त्रमा समुद्र खण्ड पनि भन्छन्) बीच व्यापारिक सम्बन्ध घनीभूत हुँदा यी क्षेत्रमा आर्थिक स्वर्णकालहरू आएको इतिहास रहेको छ । प्राचीन मयखण्ड र अंग खण्ड (हालको उत्तरी र दक्षिणी अमेरिका) इराखण्डसँग व्यापारिक गतिविधिहरूमा जोडिँदा आन्ध्र महासागर वारपार समृद्धिको ढोका खुलेको सर्वविदितै छ ।
आधुनिक व्यापारिक परिवेश
प्राचीन समयका यी खण्ड हाल पनि अस्तित्वमा छन् । दक्षिण एशियाली परिवृत्त, चिनियाँ परिवृत्त, स्लाभिक परिवृत्त, पश्चिमी यूरोपेली परिवृत्त, मध्यपूर्वीय परिवृत्त, दक्षिणी अफ्रिकी परिवृत्त, अस्टे्रलियाली परिवृत्त र उत्तर अमेरिकी र दक्षिण अमेरिकी परिवृत्त गरी नौओटा परिवृत्तहरू रहेका छन् । वर्तमान विश्वका सामारिक र आर्थिक गतिविधि यी नौओटा परिवृत्तलाई आधार मानी सञ्चालन भइरहेका छन् । प्राचीन समयमा झैं वर्तमानमा पनि यी नौओटा खण्डबीच हुने आपसी व्यापारले विश्व अर्थतन्त्रको गतिशीलता निर्धारण गर्ने गरेको छ । वर्तमान समयका क्षेत्रीय व्यापार सम्झौताहरू पनि यही आधारमा निर्धारण भएका छन्, नाम फरक, उही उद्देश्य उही प्रकृतिका साथ ।
नाम फरक परे पनि प्राचीन समयमा निर्धारण गरिएका र वर्तमान समयमा अस्तित्वमा रहेका पृथ्वीका नौओटा भूखण्डका पाँचओटा समान तत्त्व (संस्कृति, सामाजिक मनोविज्ञान, सोच, शैली, शैलमण्डल (भूबनोट)ले उक्त भूखण्डको समग्र उपभोक्ता संस्कृति र आवश्यकतालाई परिभाषित गरिरहेको हुन्छ । ती उपभोक्ता संस्कृति र आवश्यकताले उक्त देशमा अन्य खण्डका मुलुकहरूका व्यापार प्राथमिकताहरूलाई दिशानिर्देश गरिरहेका हुन्छन् । प्राचीनकालमा निर्धारित र आधुनिक कालमा समेत अस्तित्वमा रहेका उपर्युक्त नौओटा खण्डहअन्तरभूखण्ड र आन्तरभूखण्ड व्यापारका निर्धारक तत्त्वका रूपमा रहेका छन् । देशगत व्यापार विविधीकरणका निर्णायक तत्त्वहरू पनि यिनै नौओटा भूखण्डहरू नै हुन् । यी नौओटा भूखण्डका उपभोक्ताका चाहनाहरूलाई दृष्टिगत गरी विभिन्न देशले आफ्नो उत्पादन सम्भावना र क्षमताका आधारमा देशगत व्यापार रणनीति अंगीकार गरेका हुन्छन् । नेपालले दोस्रो पञ्चवर्षीय योजनापश्चात् अंगीकार गरेको वस्तुगत र देशगत व्यापार रणनीतिका पछाडि पनि प्रत्यक्ष र परोक्ष रूपमा उपर्युक्त नौओटा भूखण्डका उपभोक्ता संस्कृति र मागको मिहीन विश्लेषण प्रमुख आधारका रूपमा लिएको देखिन्छ ।
भूखण्डगत नेपालको व्यापार रणनीतिको आवश्यकता
बदलिँदो विश्व परिस्थितिको सापेक्ष हुने गरी भूखण्डका उपभोक्ता संस्कृति र बजारलाई दृष्टिगत गरी नेपालका लागि तुलनात्मक लाभ भएका र सम्बद्ध देशमा प्रतिस्पर्धी क्षमता राख्न सक्ने उत्पादनमा केन्द्रित रही ती देशमा नेपालले आफ्नो निर्यात र आयात रणनीति र प्राथमिकता निर्धारण गर्नुपर्छ ।
(क) स्लाभिक सभ्यता र त्यसको परिवृत्त भूखण्ड
स्लाभिक सभ्यता र त्यसको परिवृत्तमा रहेका देशहरूमा खासगरी पूर्वी यूरोपका अर्थोडक्स धर्मको बाहुल्य रहेका रूसलगायत देश, आफ्नै विशिष्ट संस्कृति भएका मध्यएशियाली देशहरू पर्छन् । यी देशहरूमा विद्यमान विशिष्ट खालको बजार, उपभोक्ता संस्कृति तथा उत्पादनलाई दृष्टिगत गर्दा यी मुलुकमा नेपालबाट वस्तुतर्फ चिया निर्यात गर्ने र सेवातर्फ पर्यटन निर्यात गर्ने रणनीतिमा केन्द्रित हुन आवश्यक छ । यसैगरी वर्तमान समयमा ओझेलमा पारिएको स्लाभिक परिवृत्तबाट पर्यटन प्रवर्द्धन कार्यलाई मूलप्रवाहीकरण गरी पर्यटन, आईटी बीपीओ सेवाको विस्तार गर्नु पनि आवश्यक देखिन्छ । यी वस्तु यस भूखण्डमा निर्यात गर्ने रणनीति अंगीकार गरिरहँदा सहलाभको सिद्धान्तलाई अंगीकार गर्दै कपास, गहुँ, तोरी, रासायनिक मल, कृषि औजारजस्ता वस्तु यस भूखण्डबाट आयात गर्दै देशको आयातलाई पनि विविधीकरण गर्नु आवश्यक छ । यस्तै आफ्नै खालको विशिष्ट शिक्षापद्धति भएको यस भूखण्डमा विशेष गरी अन्तरिक्ष विज्ञानजस्ता विषयमा शिक्षासेवाको आयात गर्ने नेपाली पर्यटकलाई यस भूखण्डमा समेत भ्रमण गर्न उत्प्रेरित गर्ने गरी पर्यटन सेवाको आयात गर्ने रणनीति पनि अंगीकार गर्नु आवश्यक देखिन्छ ।
(ख) चिनियाँ सभ्यताको भूखण्ड
चिनियाँ सभ्यताको परिवृत्तभित्र चीन, मंगोलिया, कोरिया प्रायद्वीप, जापान र आर्यावर्तीय, चिनियाँ र अरबी सभ्यताको प्रभाव रहे तापनि आर्थिक रूपमा चिनियाँ परिवृत्तमा आबद्ध चीनसँग सीमा जोडिएका दक्षिणपूर्वी एशियाका देशहरूदेखि मलेशिया, सिंगापुर इन्डोनेशिया ब्रुनाइजस्ता देश पर्छन् । यी मुलुकमा नेपालबाट जडीबुटी, कफी, मूर्तिजस्ता उत्पादन निर्यात गर्ने रणनीति तर्जुमा हुन आवश्यक छ । सेवा व्यापारतर्फ पर्यटन सेवालाई यो भूखण्डमा निर्यात गर्ने रणनीति बनाउन पनि जरुरी छ । यस भूखण्डबाट नेपालले मेशिनरी, विद्युतीय उपकरण, अर्धप्रशोधित र अर्धनिर्मित कच्चापदार्थ र मोटर आयात गर्ने रणनीति तर्जुमा गर्न आवश्यक देखिन्छ । सेवा व्यापारको आयाततर्फ शिक्षा र पर्यटन सेवालाई दृष्टिगत गरी यो भूखण्डको सेवा व्यापार आयातको रणनीति अंगीकार गर्नु पनि त्यत्तिकै जरुरी छ ।
(ग) दक्षिण एशियाली भूखण्ड
दक्षिण एशिया जहाँ नेपाल पनि पर्छ निर्याततर्फ धेरै वस्तु समान प्रकृतिका भएकाले प्रतिस्पर्धी क्षमता तुलनात्मक रूपमा कमजोर भएका वस्तु रहेका छन् । समान जलवायु र उपभोक्ता संस्कृति भएका कारण नेपालका कृषिजन्य वस्तुलगायत अन्य वस्तुको दक्षिण एशियामा दीर्घकालीन स्थायित्व दिने र बढी लाभ दिने वस्तुको सूची तुलनात्मक रूपमा छोटो रहेको छ । विगतको व्यापारको प्रवृत्ति हेर्दा यस भूखण्डमा वस्तुतर्फ सम्बद्ध देशको मूल्य शृंखलामा आबद्ध हुने खालका औद्योगिक कच्चापदार्थ र तिनका अर्धप्रशोधित कच्चा पदार्थ (उदाहरणका लागि मसलाका कच्चापदार्थ, कत्था, खोटो) जस्ता वस्तुको निर्यात रणनीति अंगीकार गरिनु आवश्यक छ । यसैगरी यस क्षेत्रमा सेवा व्यापारको निर्यात गर्दा पर्यटन, सभासम्मेलन, जुवा (क्यासिनो) र व्यक्तिगत सुरक्षा सेवाको निर्यातलाई मुख्य आधार मानी सेवा व्यापार प्रवर्द्धनको रणनीति बनाउन पनि आवश्यक छ । यस्तै यस भूखण्डबाट आयात गर्दा पनि नेपाली उद्योगका लागि आवश्यक पर्ने औद्योगिक कच्चापदार्थ र तिनका अर्धप्रशोधित कच्चा पदार्थ, बस ट्रक तथा समुद्रतटीय कृषिजन्य उत्पादनहरू एवम् मेशिनरी तथा टुल्सको आयातलाई प्राथमिकता दिनु आवश्यक हुन्छ । सेवा व्यापारको आयातमा मर्मतसम्भार र शिक्षासेवाको आयातलाई नेपालले प्राथमिकतामा राख्नुपर्छ ।
(घ) मध्यपूर्वीय भूखण्ड
मध्यपूर्वमा आप्रवासी श्रमिक र स्थानीय अरबजातिहरू स्पष्ट रूपमा दुईथरी वर्गको बजार रहेको छ । यी दुई वर्गलाई लक्षित गरी मध्यपूर्वको निर्यात प्रवर्द्धन रणनीति तर्जुमा गर्नु आवश्यक छ । मध्यपूर्वको बजारको उपर्युक्त विशेषतालाई दृष्टिगत गरी यस भूखण्डका सम्भ्रान्त वर्ग लक्षित बहुमूल्य वस्तुहरू मसला र सम्भ्रान्त वर्गलक्षित बहुमूल्य वस्तुहरू मसला, प्रशोधित पानी, जडीबुटी, कार्पेटलगायत वस्तु निर्यात गर्ने रणनीति अंगीकार गरिनु आवश्यक रहेको छ । हिमालयको जलवायुमा उत्पादित तयारी खाद्य उत्पादन, फलफूल, तरकारीलगायत वस्तु पनि मध्यपूर्वको भूखण्डलक्षित निर्यात रणनीतिभित्र समावेश गरिनु आवश्यक देखिन्छ । मध्यपूर्वका देशहरू आफ्ना देशलाई सिंगापुर वा हङकङजस्तो पोर्ट सिटीका रूपमा विकास गर्दै अन्तरराष्ट्रिय व्यापारको मियोका रूपमा रूपान्तरण गर्दै छन् । यस अवस्थामा प्राचीन समयमा झैं दक्षिण एशियाका सामान अरब देश हुँदै यूरोप जाने अभ्यासको पुनरावृत्ति हुने स्पष्ट संकेतहरू देखिन थालेका छन् । यस परिवेशलाई समेत दृष्टिगत गरी मध्यपूर्वका यी अभ्यासको पृष्ठपोषण हुने गरी नेपालको निर्यात रणनीति अंगीकार गरिनु आवश्यक छ । विशेषगरी गुणस्तर प्रमाणीकरणमा देशभित्र व्याप्त आलस्य र लबिइङमा कमी रहेको परिपे्रक्ष्यमा नेपाली कृषिजन्य उत्पादन मध्यपूर्वमा एक चरण प्रशोधन वा ब्रान्डेड भई यूरोप र अमेरिकी गोलाद्र्धमा निर्यात हुने नयाँ शृंखलाको विकास हुने वाणिज्य नीतितर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ । यस्तै यस भूखण्डमा पर्यटन, व्यक्तिगत सुरक्षा सेवा, सभासम्मलेन, आईटी बीपीओ, व्यवस्थापन र एरोनोटिक्स सेवाको नेपालबाट निर्यात गर्नेतर्फ हाम्रो विशेष ध्यान जानु आवश्यक देखिन्छ । यसै गरी सहलाभको सिद्धान्तमा आधारित रही यस भूखण्डबाट नेपालले सन् १९९० अघिको अभ्यासलाई निरन्तरता दिँदै पेट्रालियम पदार्थ तथा तिनका सहउत्पादनहरूको आयात प्रवर्द्धन गर्न रणनीति अंगीकार गरिन आवश्यक छ । यस्तै नेपाली पर्यटकलाई मध्यपूर्व भ्रमण गर्न प्रोत्साहित गर्ने गरी नेपालको पर्यटन सेवाको आयातको रणनीति पनि समानान्तर रूपमा तर्जुमा हुन जरुरी देखिन्छ ।
(ङ) पश्चिमी यूरोपेली भूखण्ड
पश्चिमी यूरोप नेपालको परम्परात निर्यात गन्तव्यका रूपमा रहेको छ । यस भूखण्डमा हुने नेपालको वैदेशिक व्यापारको आकार त्यत्ति विशाल नभए तापनि व्यापार सन्तुलनका दृष्टिबाट यो भूखण्ड नेपालका लागि लाभदायक क्षेत्रमा रूपमा रहिआएको छ । नेपालले अंगीकार गरेको देशगत विविधीकरणको नीतिमा यस भूखण्डलाई श्रमप्रधान हस्तनिर्मित वस्तु तथा र नगदेबालीका उत्पादनहरूको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । आज पनि यस परिदृश्य यथावत् रहेको छ । नेपालले यस भूखण्डको निर्यात रणनीति बनाउँदा यस पक्षलाई विशेष टिपोटमा राख्नु आवश्यक छ । यस्तै यस भूखण्डमा नेपालको सेवा व्यापार निर्यातमा पर्यटनलाई प्रमुख स्रोत र आईटी सेवालाई दोस्रो स्रोतका रूपमा राखी निर्यात रणनीति बनाउन वाञ्छनीय देखिन्छ । यस्तै सहलाभको सिद्धान्तबमोजिम यस भूखण्डबाट नेपालले वस्तुतर्फ मेशिनरी, घडी, मदिरा, अत्तर, हवाई जहाज, खोप, पर्यटनलक्षित खाद्य परिकार, चिकित्सीय उपकरण तथा सेवा व्यापारतर्फ शिक्षा व्यापारको आयातलाई प्रोत्साहित हुने नीति अंगीकार गरिनु आवश्यक छ ।
(च) उत्तरी अमेरिका भूखण्ड
नेपालको परम्परात निर्यात गन्तव्यका रूपमा रहेको छ । यस उत्तर अमेरिकी भूखण्डमा हुने नेपालको वैदेशिक व्यापारको आकार त्यत्ति विशाल नभए तापनि व्यापार सन्तुलनका दृष्टिबाट यो भूखण्ड नेपालका लागि लाभदायक क्षेत्रमा रूपमा रहिआएको छ । नेपालले अंगीकार गरेको देशगत विविधीकरणको नीतिमा यस भूखण्डलाई श्रम प्रधान हस्तनिर्मित वस्तु तथा र नगदेबालीका उत्पादनहरूको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । आज पनि यो परिदृश्य यथावत् रहेको छ । नेपालले यस भूखण्डको निर्यात रणनीति बनाउँदा यस पक्षलाई विशेष टिपोटमा राख्नु आवश्यक छ । यस्तै यस भूखण्डमा नेपालको सेवा व्यापार निर्यातमा पर्यटनलाई प्रमुख स्रोत र आईटी सेवालाई दोस्रो स्रोतका रूपमा राखी निर्यात रणनीति बनाउन वाञ्छनीय देखिन्छ । यस्तै सहलाभको सिद्धान्तबमोजिम यस भूखण्डबाट नेपालले वस्तुतर्फ खाद्य नट्स, भटमास, खोप, चिकित्सा सामग्री, हवाईजहाज, कोइला तथा सेवा व्यापारतर्फ शिक्षा व्यापारको आयातलाई प्रोत्साहित हुने नीति अंगीकार गरिनु आवश्यक छ ।
(छ) अफ्रिकाको दक्षिणी भूखण्ड
अफ्रिकाको दक्षिणी भूखण्ड नेपालको वैदेशिक व्यापारमा मूलप्रवाहीकरण हुन नसकेको खण्डका रूपमा रहेको पाइन्छ । दक्षिण अफ्रिकाबाहेक यस भूखण्डका अन्य मुलुकसँग नेपालको वैदेशिक व्यापार नगण्य मात्रामा रहेको रहेको छ परन्तु सम्भावनाहरू भने नगण्य छैनन् । उपर्युक्त पृष्ठभूमिमा यस भूखण्डलाई पनि नेपालको वैदेशिक व्यापारको मूलप्रवाहसँग जोड्न यस क्षेत्रमा खोप (पशु) र औषधि निर्यातमा नेपालको ध्यान जानु आवश्यक छ । यसैगरी आयाततर्फ यस भूखण्डबाट सुन, हीरालगायत अन्य बहुमूल्य पत्थर आयात गर्नु नेपालका लागि लाभदायक देखिन्छ । सेवा व्यापारतर्फ यस क्षेत्रमा निर्माण सेवाको निर्यात र खेलकुद प्रशिक्षण सेवाको आयातमा विशेष ध्यान दिनु आवश्यक छ ।
(ज) दक्षिण अमेरिका
दक्षिण अमेरिकी भूखण्ड पनि नेपालको निर्यात व्यापारको मूलप्रवाहीकरणमा नपरेको क्षेत्रका रूपमा चिनिन्छ । नेपालमा कुखुरा उद्योगको विकास तथा खाद्य तेलको निकासीको नयाँ आयामहरू विकास हुँदै गर्दा कृषिजन्य भटमास, मकैजस्ता कृषिजन्य वस्तुहरू आयात हुँदै गर्दा यस क्षेत्रमा निर्यातको आँकडा भने अन्यन्त सानो छ । यस परिस्थितिमा यस भूखण्डमा वस्तु निर्याततर्फ प्रशोधित दुग्ध पदार्थ, शृंगारका सामग्री तथा सेवा निर्याततर्फ आईटी बीपीओ पर्यटन र वस्तु आयाततर्फ औद्योगिक प्रयोजनका मकैभटमास लगायतका वस्तुहरू सेवा आयातमा फुटबल खेलकुद प्रशिक्षण सेवालाई प्राथमिकतामा राखी यस भूखण्डलाई पनि नेपालको व्यापारको मूल प्रवाहमा ल्याउनु जरुरी छ ।
(झ) अस्ट्रेलियाली भूखण्ड
प्रशान्त महासागरको उदीयमान आर्थिक शक्तिको महत्त्वपूर्ण यस भूखण्डको नेपालको निर्यात रणनीतिमा वस्तुतर्फ हस्तनिर्मित श्रमप्रधान हस्तनिर्मित उत्पादनहरू तथा सेवातर्फ पर्यटन तथा निर्माण सेवाको व्यापार प्रवर्द्धन रणनीति अंगीकार गर्न आवश्यक हुन्छ । यस्तै सहलाभमा आधारित रही यस भूखण्डबाट आयाततर्फ दलहन, कोइला र सेवा व्यापारतर्फ शिक्षासेवाको आयातमा हाम्रो विशेष पहल हुन आवश्यक देखिन्छ ।
(ञ) नेपाली र दक्षिण एशियाली बासिन्दाको बसोवास खण्ड
उपर्युक्त सातैओटा भूखण्डमा नेपाली मूल र दक्षिण एशियाली मूलका जनताको ठूलो उपस्थिति रहेको छ । यी दुईथरी वर्गको चाहनाबमोजिम उनीहरूको परम्परागत स्वाद र रुचिलाई सम्बोधन हुने खालका वस्तु निर्यात गर्ने छुट्टै स्कीम सञ्चालन गर्न पनि त्यत्तिकै जरुरी छ ।
सार
यसरी उपर्युक्त बेहोराअनुसार नेपालको वैदेशिक व्यापारको भूखण्डगत र भूखण्डभित्रको देशगत रणनीति तर्जुमा गरी अघि बढ्ने हो भने नेपालको आर्थिक अवस्थामा चामत्कारिक रूपान्तरणसहितको स्तरोन्नति हुने निश्चित छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।