नेपालको तराईलगायत सीमावर्ती भारतीय ग्रामीण बजारमा अहिले भैंसीको मूल्य दूधका आधारमा नभएर मासुबाट निर्धारण हुन्छ । जसको मुख्य कारण हुन्, चिनियाँ लगानीमा तराईमा खुलेका मासु उद्योग । एक दशकयता यस्ता उद्योग सञ्चालनमा छन् । भारतबाट अवैध रूपमा भित्त्याइएका भैंसी र राँगाको ‘मासु र छाला’ कागजी जालझेल गरेर चीन निर्यात गर्नु हो ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपालबाट भैंसीको तयारी मासु निर्यात गर्ने प्रोटोकल (कार्यविधि) मा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यातको सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । यसले राँगाभैंसीको मासुको विश्वकै सर्वाधिक ठूलो बजार चीनमा नेपालका लागि निर्यातको ढोका खुल्ने सरकारको बुझाइ छ ।
सरकारले निर्यात गर्ने सम्झौता गरिरहँदा भने नेपालमा राँगाभैंसी पाल्नेको संख्या दिनहुँ घटिरहेको देखिन्छ । भैंसीको भाउ आकाशिँदै गएपछि दूधमा आधारित यो व्यवसायमा कमी आएको हो । राष्ट्रिय कृषि गणना २०७८ अनुसार पछिल्लो १० वर्षमा मुलुकभरि राँगाभैंसी पाल्ने किसान परिवार संख्या १६ लाख ६९ हजारबाट १४ लाख १७ हजारमा झरेको छ । यस्तै राँगाभैंसीको कुल संख्यामा पनि कमी आएको छ । २०६८ सालको गणनामा देशभरि ३१ लाख ७४ हजार राँगाभैंसी थिए । २०७८ सालमा यो संख्या २९ लाख २३ हजारमा झरेको छ ।
नेपालमा वार्षिक १ लाख १६ हजार ५ सय ३ टन राँगाभैंसीको मासु उत्पादन हुँदै आएको छ । यसमध्ये करिब ९० प्रतिशत यहीँ खपत हुन्छ । सरकारले यही उत्पादनको दर बढाएर निर्यात गर्नुपर्ने अवस्था छ । कहिल्यै विचार गर्नुभएको छ, चीनबाट १ सय रुपैयाँको आयात हुँदा नेपालले कति रुपैयाँको सामान त्यसतर्फ निर्यात गरिरहेको होला ?
चीन संसारकै राँगाभैंसीको मासुको सबैभन्दा ठूलो आयातकर्ता हो । सन् २०२३ मा मात्र चीनले २ करोड ७८ लाख मेट्रिक टन मासु आयात गरेको थियो । यो अन्तरराष्ट्रिय व्यापारको आकारमा लगभग १४ दशमलव ४ अर्ब डलर पुगेको बताइन्छ । अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, ब्राजिल र आर्जेन्टिनासहितका देशहरू भैंसीराँगाका मासु र मासुजन्य उत्पादन चीनमा सर्वाधिक परिमाणमा निकासी गर्ने देशमा पर्छन् । अमेरिकी एक प्रतिवेदन अनुसार चीनमा यो दशकको अन्त्यसम्ममा राँगाभैंसीको मासुको आयात ३ करोड ५० लाख मेट्रिक टनसम्म पुग्नसक्ने आकलन गरिएको छ ।
यस अवस्थामा नेपाली बजार निर्याततर्फ अगाडि बढ्ने अवस्था छ कि छैन ? नेपालबाट चिनियाँ बजारमा राँगाभैंसीको मासुको व्यापारमा खुला भएपछि मासुको भाउ आकाशिने स्वाभाविक कुरा हो ? एकातर्फ उत्पादन न्यून छ । अर्कातिर निर्यात असीमित भएपछि नेपाली बजारको अवस्था अनियन्त्रित हुन्छ ।
अघिल्लो आर्थिक वर्षको एउटा आँकडाले नेपालमा राँगा र भैंसीको संख्यामा उल्लेख्य कमी आएको र राँगाभैंसीको मासुको उत्पादन पनि घटेको देखाएको थियो । नेपाल भारतको सीमावर्ती क्षेत्रबाट भैंसीराँगाको तस्करी दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल भारत सीमानामा खटिने सुरक्षाकर्मीहरूको लागि भारतबाट भैंसीराँगा तस्करी ठुलो चुनौती हो । यो इमानदार सुरक्षाकर्मीलाई सास्ती र बेइमानलाई मस्ती (आर्थिक लाभ) बन्दै गएको छ । अहिले पनि चीनमा मासु निर्यातमा कानुनी अवरोध भए पनि भियतनाम हुँदै भैंसीराँगाको काँचो छाला र मासु निर्यात हुने गरेको छ ।
सम्झौता प्रोटोकलले सुरक्षित र गुणस्तरीय मासुको निर्यात खोल्ने कुरामा जोड दिएको भनिए पनि मुख्य रूपमा तराईमा बनाइएका स्लटर हाउशहरूको निर्यातलाई सहजता प्रदान गर्ने निश्चित छ । तराईमा आधा दर्जनभन्दा बढी छाला उद्योगहरू पनि चिनियाँ लगानीमा चलिरहेका छन् । यी उद्योगले पनि चीनमा निकासी गरेका छन् ।
चिनियाँहरूमा राँगाभैंसीको मासु उच्च वर्ग र उच्च मध्यम वर्गले खाने हुँदा नेपालबाट हुने निकासीको बहानामा भारतीय बजारबाट लाभ लिन खोजिएको स्पष्ट छ । जुन नेपाल र भारतबीचको सीमावर्ती क्षेत्रका लागि ठूलो समस्या हुने निश्चित छ । तर, नेपालमा व्यावसायिक राँगाभैंसी फार्म खोल्न सरकारले लगानी गरे अहिलेको सम्झौता कोसेढुंगा सावित हुने एकथरीको तर्क पनि छ । निजीक्षेत्रले ठूलो लगानी गर्न तयारी गरेको र त्यसमा चिनियाँ लगानीसमेत आउने बताइएको छ । यसो हो भने यो निकै सकारात्मक हुन्छ ।
चीनको सहयोगमा व्यावसायिक भैंसीपालनमा निजीक्षेत्र र कृषकहरूलाई आकर्षित गर्नुपर्ने एकथरिको तर्क छ । तर, त्यो व्यापार कसका लागि फाइदाजनक हुने हो ? आउने समयले तय गर्नेछ । यसबाट नेपालका लागि भन्दा पनि उद्योग सञ्चालकहरूलाई फाइदा हुने स्थिति छ । यसले चीनसँग साँध जोडिएको नेपाललाई आउने समयमा चुनौती थपिने निश्चित छ । नेपालीको उपभोग्य अवस्था चिनियाँ नागरिकसँग प्रतिस्पर्धा गर्न सक्दैन । भैंसीराँगाको मासु उपभोग गर्ने नेपालीहरूको आर्थिक अवस्था चिनियाँ बजारसँग प्रतिस्पर्धामा गएपछि तुलनात्मक रूपमा नेपाली बजार महँगिनेछ । यद्यपि निर्यातका लागि विशेष किसिमले पालिएका र परीक्षण गरिएको राँगाभैंसीको मासु निर्यात हुने भनिन्छ । चीनमा नेपालका उत्पादन पठाउन निकै परीक्षणपछि मात्रै सम्भव हुन्छ । निर्यात हुन थालेपछि मात्रै यसको बारेमा सही निष्कर्ष निकाल्न सकिन्छ ।
लेखक मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष हुन् ।