नेपाल र अमेरिकाबीचको सम्बन्ध सन् १९४५ मा दोस्रो विश्वयुद्धको समाप्तिसँगै स्थापना भएको हो । सन् १९४७ अप्रिल २७ तारीखका दिन अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै अमेरिका नेपाल सम्बन्धले ७७ वर्ष पार गरेको छ । सन् १९५९ अगस्त ६ तारीखका दिन नेपालमा अमेरिकाले आफ्नो दूतावासको स्थापना गरेसँगै दुई देशबीचको सम्बन्धले औपचारिक रूपमा मान्यता पाएको हो । राणाकालमै स्थापना भएको यी दुवै मुलुकबीचको सम्बन्ध समयक्रमसँगै झाँंगिँदै गएको निर्विवाद तथ्य हो । यसबीच दक्षिण एशियामा अवस्थित नेपाल र उत्तर अमेरिकामा रहेको अमेरिकाबीच कुनै पनि प्रकारको असमझदारी, मनमुटाव तथा कटुता सृजना नहुनु नै दुई राष्ट्रबीचको उत्तम सम्बन्धको अनुपम उदाहरण हो ।
कूटनीतिक सम्बन्ध स्थापनाको पौने शताब्दीको यस अवधिमा विश्वको महाशक्ति अमेरिकासँग नेपालको सम्बन्ध सुमधुर मात्र छैन, यसका अनेक आयाम छन् । यो सम्बन्ध आपसी विश्वास तथा सहअस्तित्वको सिद्धान्तमा आधारित छ । आयामिक सम्बन्ध विस्तारसँगै अमेरिकाद्वारा नेपाललाई प्रारम्भदेखि नै विविध पक्षमा सहयोग, सद्भाव तथा समर्थन रहँदै आएको छ । नेपाल अमेरिकासँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एशियामा राष्ट्रहरूमा अग्रपङ्क्तिमा पर्छ । विश्व अर्थतन्त्रमा एक्लै प्रभाव पार्न सक्ने अमेरिका नेपालका लागि सबैभन्दा ठूलो दातृ राष्ट्र पनि हो ।
कूटनीतिमा ठूला राष्ट्रहरू एक्लै हिँडेका हुँदैनन् । उसका धेरै मित्र राष्ट्रहरू हुन्छन् र अन्तरराष्ट्रिय संस्था र संगठन तिनीहरूमार्फत पनि प्रभावित हुन्छन् । त्यसैले कूटनीतिलाई पार्टीको भ्रातृ संगठन चलाएजस्तो गर्ने राजनीतिक दलहरूको अपरिपक्व व्यवहारले नेपालको कूटनीतिक संरचना क्रमश: खराब सूचकांकमा परिणत हुँदै गएको छ । अमेरिका–नेपाल सम्बन्धको ७ दशकलाई केलाएर उसको निरन्तर प्राप्त सहयोगलाई कति सदुपयोग कति दुरुपयोग भयो या अबको दिनका कसरी सम्बन्धका नयाँ आयाम बनाउनेतर्फ ध्यान दिएर विगतका कमीकमजोरीलाई सुधार गर्दै लैजानुको कुनै विकल्प देखिँदैन ।
पहिलोपटक औपचारिक भ्रमणमा नेपाल आउने अमेरिकी अधिकारी जर्ज आर मेरेल हुन् । मेरेल सन् १९४५ नोभेम्बर १६–२२ मा नेपाल आएका थिए । उनले तत्कालीन प्रधानमन्त्री पद्मशमसेर जंगबहादुर राणासमक्ष दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट पुर्याएको योगदानको कदरस्वरूप अमेरिकी सेनाको ‘लेजन अफ मेरिट’ चढाएका थिए ।
नेपाल–अमेरिका सम्बन्धका सकारात्मक सम्भावनाहरू छँदै छन् । अमेरिकी परियोजनाहरूमार्फत नेपालमा नयाँ प्रविधि र ज्ञान हस्तान्तरण भएको छ । अमेरिकी सहयोगले नेपाली संस्थाहरूको क्षमता अभिवृद्धि गरेको छ । यसलाई निरन्तरता दिन आवश्यक छ ।
अमेरिकामा पहिलो नेपाली अधिकारीको भ्रमणचाहिँ सन् १९३९ को अन्त्यतिर भएको थियो । लन्डनस्थित नेपाली मन्त्री जनरल कृष्ण राणा घर फर्कने क्रममा अमेरिका हुँदै फर्किएका थिए । उनका उत्तराधिकारी जनरल सिंह राणा १९४५ को अन्त्यतिर अमेरिका पुगेका थिए । सन् १९४६ को गृष्म ऋतुमा कमान्डिङ जनरल बबर राणाको नेतृत्वमा अमेरिकी विदेश र सामरिक मन्त्रालयहरूको पाहुना भई गएको नेपाली मिसनले केही हप्ता अमेरिकामा बिताएको थियो ।
सन् १९४७ मार्च २२ तारीखमा अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि एक विशेष कूटनीतिक मिशन पठाउने घोषणा गरेको थियो । मिसनमा जोसेफ सी स्याटर्थवाइट, स्यामुएल एच डे (इकोनोमिक अफेयर्स काउन्सेलर, नयाँ दिल्ली), रेमण्ड ए. हेयर, विलियम सी. जोन्स्टन जुनियर (प्रमुख सार्वजनिक मामिला अधिकारी, नयाँ दिल्ली), लेफ्िटनेन्ट कर्नेल नथानियल आर हास्कट (सहायक सैनिक सहचारी, नयाँ दिल्ली), जे जेफर्सन जोन्स तृतीय (भाइस कन्सुल, बम्बई), र चाल्र्स डब्ल्यू बुथ (भाइस कन्सुल, कराँची) सम्मिलित थिए ।
स्याटर्थवाइट अमेरिकी राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधिका रूपमा मिनिस्टर स्तरीय हैसियतमा नेपाल मिसनमा आएका थिए । उनी अप्रिल १३ तारिखमा काठमाडौं आइपुगेका थिए र अप्रिल २१ मा उनले राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानको पत्र चढाएका थिए । यसरी अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो । सन् १९४७ अप्रिल २५ तारीखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खोलेको थियो ।
नेपाल अमेरिका सम्बन्धका प्रमुख आधार प्रशस्त छन् । दुवै देश लोकतान्त्रिक मूल्यमान्यतामा आधारित छन् । नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना र संस्थागत विकासमा अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको छ । अमेरिका नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनजस्ता क्षेत्रमा अमेरिकाले नेपाललाई ठूलो मात्रामा सहयोग गर्दै आएको छ । प्राकृतिक प्रकोप, महामारीजस्ता विपत्तिमा अमेरिकाले नेपाललाई मानवीय सहायता प्रदान गर्दै आएको छ । २०७२ को गोर्खा महाभूकम्पका बेला अमेरिकाद्वारा गरिएको सहयोग नेपाली जनताका लागि निकै महत्त्वपूर्ण थियो । त्यस क्रममा १९ करोड डलर बराबरको अमेरिकी उद्धार तथा पुनर्निर्माण सहयोगलाई उल्लेखनीय मान्न सकिन्छ ।
दुवै देशबीचको सांस्कृतिक आदानप्रदानले सम्बन्धलाई थप प्रगाढ बनाएको छ । नेपाली विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने गर्छन् भने अमेरिकी नागरिक पर्यटनका लागि नेपाल आउने गर्छन् । अमेरिकाले नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन विभिन्न प्रकारका आर्थिक सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय नेपाल–अमेरिका सम्बन्धमा केही उतारचढाव आएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताजस्ता विषयले दुई देशबीचको सम्बन्धमा विवाद सृजना गरेको थियो । तर, दुवै देशले यी चुनौतीहरूलाई पार लगाएर सम्बन्धलाई अझ बलियो बनाउने प्रयास गरिरहेका छन् । भविष्यमा नेपाल–अमेरिका सम्बन्ध अझै विस्तार हुने अपेक्षा गरिएको छ । जलवायु परिवर्तन, ऊर्जा, पूर्वाधार विकासजस्ता साझा चासोका विषयमा दुई देशबीचको सहकार्य बढ्ने सम्भावना छ ।
अमेरिकाले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया, मानवअधिकारको अवस्थालगायत विषयमा चासो राख्दै आएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । मानवीय सहायता, विपद् व्यवस्थापन, शान्ति स्थापना अभियानजस्ता क्षेत्रमा दुई देशबीच सहकार्य हुने गरेको छ । दुई देशबीच व्यापार र लगानीको सम्बन्ध विस्तार हुँदै गएको छ । अमेरिकाले नेपालमा लगानी बढाउन प्रोत्साहन गर्दै आएको छ भने नेपाली उत्पादनलाई अमेरिकी बजारमा पहुँच पुर्याउनका लागि पनि प्रयास भइरहेका छन् । नेपालको भूराजनीतिक अवस्थाले अमेरिकासँगको सम्बन्धलाई प्रभावित पार्ने गरेको छ । भारत र चीनबीचको प्रतिस्पर्धाका कारण नेपालमा पनि त्यसको असर पर्ने गरेको छ । एमसीसीमा देखिएको विवादको त्यसको उदाहरण हो । नेपालमा मानवअधिकारको अवस्था र लोकतन्त्रको सुदृढीकरणका विषयमा अमेरिकाले उठाउने गरेका मुद्दा पनि अहम् छन् । अमेरिकाले प्रदान गर्ने विकास सहयोगको प्रभावकारिताका विषयमा पनि प्रश्न उठ्ने गरेको छ । त्यसैले भूराजनीतिक प्रतिस्पर्धा, आन्तरिक राजनीतिक अस्थिरता र विकास सहयोगको प्रभावकारिता जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न सके मात्र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिनेछ ।
दुवै देशका आन्तरिक र बाय नीतिमा केही भिन्नता हुन सक्छ । विशेष गरी मानव अधिकार, लोकतन्त्र, र आर्थिक नीतिजस्ता विषयमा दुवै देशका दृष्टिकोणमा फरक हुन सक्छ । यसले गर्दा कुनै–कुनै मुद्दामा दुवै देशबीच मतभेद उत्पन्न हुन सक्छ । दुई देशबीचको भौगोलिक दूरीले गर्दा दुवै देशका जनता र सरकारबीच प्रत्यक्ष अन्तरक्रिया कम हुन सक्छ । यसले गर्दा दुवै देशका जनताबीचको समझदारी बढाउन चुनौती हुन सक्छ । विश्वमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका कारण नेपाल–अमेरिका सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ । यसको साथै अमेरिकी सरकारको नीतिमा परिवर्तन हुँदा नेपालसँगको सम्बन्धमा पनि परिवर्तन आउन सक्छ ।
यसका लागि दुवै देशका नीति निर्माताबीच नियमित संवाद गरी एकअर्काको चिन्ता र चासोलाई बुझ्ने प्रयास गर्नुपर्छ । दुवै देशका जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न सांस्कृतिक आदानप्रदान, शिक्षा, र व्यापारजस्ता क्षेत्रमा सहकार्य बढाउनुपर्छ । अमेरिकाले नेपाललाई प्रदान गर्ने विकास सहयोगलाई परिणाममुखी बनाउनुपर्छ भने लोकतन्त्रको सुदृढीकरणमा सहयोग गर्नुपर्छ । नेपालले अन्य शक्ति राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ । यसरी, दुवै देशले आपसी विश्वास र सहयोगलाई बढावा दिएर नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्छन् । साथै, नेपाल–अमेरिका सम्बन्धका सकारात्मक सम्भावनाहरू छँदै छन् । अमेरिकी परियोजनाहरूमार्फत नेपालमा नयाँ प्रविधि र ज्ञान हस्तान्तरण भएको छ । अमेरिकी सहयोगले नेपाली संस्थाहरूको क्षमता अभिवृद्धि गरेको छ । यसलाई निरन्तरता दिन आवश्यक छ ।
लेखक ढुंगाना हाल अमेरिकामा अध्ययनरत छन् ।