नेपालको बैंकिङ सफ्टवेयर कत्तिको सुरक्षित छन् भन्ने विषयमा बेलाबेलामा बहस हुने गरे पनि त्यसलाई बलियो बनाउन पर्याप्त लगानी हुन सकेन । त्यही भएर पटकपटक ह्याकिङ गरेर बैंकबाट रकम चोरी हुने गरेको घटना सार्वजनिक भइरहेको पाइन्छ । पछिल्लोपटक भने सिस्टममै छिरेर पैसा चोरी भएको छ जुन यसअघिको चोरी भन्दा गम्भीर रहेको देखिन्छ । बैंकहरूले डिजिटल सुरक्षाका लागि थप लगानी गर्नुपर्ने आवश्यकता एकातिर देखिएको छ भने अर्कातिर ग्राहकलाई सचेत पार्न पनि उत्तिकै जरुरी देखिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलमा रहेको एफवान सफ्ट कम्पनीको खाताबाट रकम चोरी गर्न ५०० भन्दा बढी बैंक तथा वालेट खाता प्रयोग भएको भेटिएको छ । प्रहरीले १ महीना लगाएर गरेको अनुसन्धानबाट अन्तरराष्ट्रिय ह्याकरले सिस्टम ह्याक गरी रकम चोर्न विभिन्न व्यक्तिका बैंक तथा मोबाइल वालेट खाताहरू प्रयोग गरेको पाइएको छ । त्यसरी चोरीको रकम खातामा ल्याउन दिएर केही रकम लिई पैसा हस्तान्तरण गर्न सहयोगी गर्ने नेपालीहरू पक्राउ परेका छन् । ती रकम विदेश पठाउन माध्यम मात्र भएकाले वास्तविक ह्याकर पक्राउ पर्ने सम्भावना कम देखिन्छ । कुन देशका ह्याकर हुन् र तिनीहरू कसरी सिस्टमभित्र छिरे भन्ने कुरा प्राविधिक हो र त्यो पत्ता लगाउन आवश्यक देखिन्छ । प्रहरीसँगको बयानमा प्रतिवादीहरूले पैसा र जागीरको प्रलोभनमा बैंक खाता खोलेर प्रयोग गर्न दिएको बताएका छन् । ह्याकरहरूले घरमै बसेर पैसा कमाउने भन्दै अनलाइन जब अफर गर्ने र खाता खोल्न लगाएर कारोबारको आधारमा कमिशन दिने प्रलोभन देखाएर उनीहरूले प्रयोग गरेको देखिन्छ । तर, उनीहरूसम्म ह्याकरको सम्पर्क कसरी स्थापित भयो भन्ने कुरा खोज्दा ह्याकरको नजिक पुग्न सकिन्छ ।
नेपालमा यसअघि एनआईसी एशिया बैंकको स्वीस कोड प्रयोग गरी पैसा चोरी भएको थियो । त्यो चाहिँ स्वीस कोड दुरुपयोगसँग सम्बद्ध अपराध थियो जसमा बैंककै कर्मचारीको गल्ती थियो । नेपालमा डिजिटल वित्तीय अपराधको संख्याको बढिरहेको छ । त्यतिमात्र होइन, साइबर अपराध पनि बढिरहेको छ । अपराधको आँकडा जसरी उकालो लागिरहेको छ त्यसअनुसार अनुसन्धानका लागि आवश्यक जनशक्ति र प्रविधिको व्यवस्था हुन सकेको छैन । त्यसले गर्दा अपराधीको मनोबल बढिरहेको छ । नेपालमा डिजिटल वित्तीय अपराध गर्न सहज छ भन्ने सन्देश जान सक्छ ।
विश्वभरि नै डिजिटल वित्तीय अपराधका घटना बढिरहेका छन् । ती विभिन्न प्रकारका हुन्छन् । नेपालमा भने डिजिटल कारोबारबारे पूर्ण र सही जानकारी नभएर पनि यस्ता ठगहरूको जालोमा सर्वसाधारण परिरहेका छन् । पासवर्ड, पिन नम्बर जस्ता संवेदनशील सूचना पनि फोनबाट सोधेकै भरमा अरूलाई भनिदिने व्यक्तिसम्म छन् । सिस्टम ह्याक गर्नुभन्दा मानिसको दिमाग भुटेर पैसा ठग्ने गिरोह बढी सक्रिय देखिन्छन् । यो प्रक्रिया उनीहरूका लागि बढी सुरक्षित पनि देखिएको छ । त्यही भएर इमेल, एसएमएस, मेसेन्जर, ह्वाट्सएप जस्ता माध्यमबाट व्यक्तिसँग सम्पर्क राख्ने र विभिन्न प्रलोभन देखाएर बैंक एकाउन्टको जानकारी लिई पैसा चोरी गर्ने गरेको पाइएको छ । यस्ता कुराविरुद्ध सचेतना बढाउन आवश्यक देखिन्छ ।
केवाईसी अद्यावधिक गर्दा बायोमेट्रिक पहिचान अनिवार्य गर्दा केही मात्रामा कारोबार सुरक्षित हुन्छ । मोबाइल/इन्टरनेट बैंकिङ र वालेट खातामा पहुँच प्राप्त गर्न प्रयोग गरिएको मोबाइल नम्बर ग्राहकको आफ्नै नाममा हुनुपर्ने व्यवस्था कडाइका साथ लागू हुनुपर्छ । ग्राहकहरूको प्रमाणीकरण गर्न र निश्चित रकमभन्दा बढी वित्तीय लेनदेन गर्न बहुप्रमाणीकरण विधिको प्रयोग गर्नु उपयुक्त हुन्छ । पहिलो पटक सेवा प्रयोग गर्दा लेनदेनको संख्या र कारोबार रकमको सीमा, डिभाइसको संख्या आदिमा केही सीमा तोक्नु उपयुक्त हुन्छ । वास्तविक समयको लेनदेन निगरानी प्रणाली लागू हुनुपर्छ । संख्या र रकम, लगइन समय, लेनदेनको ढाँचा, उपकरणको प्रयोग, जियोलोकेशन आदि सुनिश्चित गर्न सके यस्तो अपराधमा अनुसन्धान सहज हुन्छ ।