काठमाडौं । सिटि होटल हायातले ब्राण्ड परिवर्तन गरेको छ । यसअघि हायात प्लेस होटलको ब्राण्डअन्तर्गत सञ्चालन भएको होटल गत बुधवारबाट हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन भएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो होटल ५ करोड ६२ लाख रुपैयाँ खुद घाटामा छ । चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिशेयर नोक्सानी ३.३६ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ ९४.४९ रुपैयाँ छ ।
सिटी होटल लिमिटेडले यही पुस २६ गते काठमाडौंस्थित कालिमाटी ब्यांक्वेटमा बिहान ११ साधारण सभा गर्दैछ । सभाले हाल कायम चुक्तापूँजीबाट १ः०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । होटलले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।