राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पहिलो बृहत् एकीकृत राष्ट्रिय होटल तथा रेस्टुराँ सर्वेक्षण, २०८० को नतीजाअनुसार नेपालको होटल तथा रेस्टुराँ क्षेत्रले मुलुकको अर्थतन्त्रमा वार्षिक १ खर्ब नौ अर्ब २७ करोड एक लाख रूपैयाँ बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको देखिएको छ । होटल सञ्चालकहरू अझ धेरै भएको दाबी पनि गर्छन् । यस क्षेत्रले अर्थतन्त्रमा दिएको योगदानको स्पष्ट चित्र नआइरहेको सन्दर्भमा यस प्रतिवेदनले यस क्षेत्रको वास्तविकता देखाएको छ जुन नीति निर्माता र लगानीकर्ताका लागि निकै उपयोगी देखिन्छन् ।
आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करीब रू. २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करीब रू. ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करीब रू. १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ । सर्वेक्षणले देखाएअनुसार एकैपटकमा २२ लाखभन्दा बढीलाई सेवा दिन सक्ने सामथ्र्य यस क्षेत्रको रहेको छ । यसमा कुल लगानी ५ खर्ब देखिन्छ भने विदेशी लगानी १० अर्ब मात्रै छ । देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुराँमध्ये १ लाख ३७ हजार ७१६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ । यस क्षेत्रमा करीब ३ लाखले स्वरोजगारी पाएको देखिन्छ भने १ लाखभन्दा बढीलाई तलबी रोजगारी प्रदान गरेको छ ।
तथ्यांकअनुसार १० करोड रुपैयाँभन्दा बढी स्थायी सम्पत्ति भएका होटेल/रेस्टुराँको संख्या ४ सय ९३ छ । तीमध्ये बागमतीमा २१४ छन् । १ करोडदेखि १० करोड रुपैयाँसम्म सम्पत्ति भएका होटेल ८ हजार ७३२ छन् । २ लाखभन्दा कम लगानीमा खुलेका होटेल/रेस्टुराँ ६७ हजार ५२१ छन् । यसले पनि साना होटेलको संख्या बढी रहेको र ती कम्पनीका रूपमा नभई एकल व्यवसायका रूपमा रहेका छन् ।
पछिल्लो समय यस्तो होटेलमा लगानी बढ्दो छ र विदेशी चेनहोटेलको आगमन पनि बढिरहेको छ । यसमा थप विदेशी लगानीको आवश्यकता पनि देखिएको छ । गुणस्तरीय पर्यटकको आगमनका लागि ठूला तारेहोटेलहरूको संख्या बढ्नु आवश्यक छ । नेपालमा आतिथ्य सेवाक्षेत्रमा गुणस्तर ल्याउन ठूला लगानीका कम्पनी मोडलमा सञ्चालित होटेलहरूको आवश्यकता देखिन्छ । तर, साना तथा मझौला होटेलहरू धेरै संख्यामा छन् र तिनले धेरै स्वरोजगारी र रोजगारी सृजना गरेका छन् । त्यसैले यस्ता होटेलहरू नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण छन् । तर, तिनको सेवाको गुणस्तरमा स्तरोन्नति गर्नु भने जरुरी छ ।
होटेलमा रहेको कोठाको संख्या १ लाख १६ हजार १ सय रहेको छ । तर, तारेहोटेलमा भने ८ हजार ४९६ कोठा मात्रै देखिन्छन् । १०/१२ हजार गुणस्तरीय पर्यटक एकैपटक आए भने पनि सेवा दिन नसक्ने हाम्रो अवस्थालाई यसले देखाउँछ । गैरतारे होटेल तथा लजमा १ लाख ७५ कोठा छन् । यी प्राय: आन्तरिक पर्यटकका लागि लक्षित हुन् भन्न सकिन्छ । स्तरीय पर्यटकका लागि होटेलको संख्या पुग्ने वा नपुग्ने यकिन छैन । पछिल्लो समयमा विदेशी ब्रान्डका थप्रै होटेलहरू खुलेका कारण सेवाको गुणस्तर बढेकोे आकलन गर्न सकिन्छ ।
वायुसेवालगायत पर्यटनका अन्य क्षेत्रमा हुने खर्च विदेशमा जान्छ तर होटेल रेस्टुराँ क्षेत्रमा हुने खर्चको ठूलो अंश देशभित्रै बस्छ । त्यति मात्र होइन, स्थानीय जनताको जीविका र आयआर्जनमा समेत यही क्षेत्रको योगदान बढी देखिन्छ । किनभने देशकै कृषि उत्पादनहरू होटेलमा विक्री हुन्छन् र त्यसबाट किसानलाई फाइदा हुन्छ । होटेललाई चाहिने अधिकांश खाद्य वस्तुहरू देशभित्रैबाट खपत हुने हुँदा सम्बद्ध उद्योगहरूलाई पनि फाइदा हुन्छ । त्यसैले यो क्षेत्रमा लगानी बढाउनुका साथै स्तरीकरणको आवश्यकता देखिएको छ ।