अनौपचारिक स्रोतबाट कर्जा लिने प्रचलनलाई विस्थापित गर्दै औपचारिक स्रोतबाट कर्जा लिने प्रचलनको व्यापक प्रयोग भएको छ । यसरी औपचारिक स्रोतबाट कर्जा लिने संस्कृतिको विकासले अनौपचारिक स्रोतबाट हुने ठगी, बेइमानी, उच्च ब्याज आदिबाट ऋणीले छुटकारा पाउने र न्यायोचित ब्याज, सेवाशुल्क तथा शर्तहरूमा कर्जा उपलब्ध हुने भएकाले यस क्षेत्रमा असल अभ्यासको प्रयोग भएको पाइन्छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोगले परम्परागत बैंकिङ प्रणालीमा थप विकास भई वित्तीय साक्षरता, वित्तीय पहुँच र कम लागतमा वित्तीय सेवा उपलब्ध भएकाले वित्तीय समावेशीकरणको अवस्था सुदृढ भएको छ ।
सामान्यतया दैनिक जीविकोपार्जन, औषधोपचार, अध्ययन, आयमूलक व्यवसायलगायत विविध कार्यका लागि कर्जा लिने गरिन्छ । यस्तो कर्जा सहकारी संस्था र बैंक/वित्तीय संस्थाले आफ्ना सेवाग्राहीलाई प्रदान गर्दै आएका छन् । सेवाग्राहीको आवश्यकता, क्षमता र कर्जाको प्रकृतिअनुसार यी संस्थाले धितो र विनाधितो कर्जा प्रदान गर्ने गर्छन् । उल्लिखित जुनसुकै कर्जा लिए पनि सदुपयोग गर्न नसक्ने गरी आवश्यकता र क्षमताभन्दा बढी लिएको कर्जाले आर्थिक उन्नति हुनुको साटो ऋणीलाई ऋणग्रस्तताको अवस्थामा पुर्याउँछ ।
यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न सेवाप्रदायक संस्थाले कर्जा सूचना लिई सोही सूचनाको आधारमा सेवाग्राहीलाई कर्जा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा रहेको छ । त्यसैअनुरूप कर्जा सूचना केन्द्रको सदस्य बन्नुपर्ने अनिवार्य व्यवस्थाबमोजिम लघुवित्त वित्तीय संस्थासहित सबै बैंक/वित्तीय संस्थाहरू केन्द्रको सञ्जालमा आबद्ध भएका छन् भने वित्तीय सहकारी संस्थाको संख्या नगण्य रहेको छ । यस आलेखमा लघुवित्त वित्तीय संस्थाको कर्जा सूचना केन्द्रसँगको आबद्धता र त्यसको प्रभावकारी कार्यान्वयनको बारेमा चर्चा गरौं ।
कर्जा सूचनासम्बन्धी अनिवार्य व्यवस्थाले कर्जा प्रवाहको स्वस्थ्य अभ्यास भएको र कर्जा दुरुपयोगको नियन्त्रण भए पनि व्यवहारमा भने कर्जा सूचनासम्बन्धी विभिन्न समस्या विद्यमान रहेको पाइन्छ ।
एकभन्दा बढी संस्थाबाट प्रवाह हुने अधिक कर्जाकै कारण ऋणीसदस्य ऋणग्रस्त बन्न नपरोस् भन्ने उद्देश्यले आव २०७५/७६ देखि राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा अनिवार्य रूपले आबद्ध हुनुपर्ने व्यवस्था गरेको हो । उक्त व्यवस्थाअनुसार नयाँ कर्जा प्रदान गर्न, थप कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, कर्जाको पुन:संरचना वा पुनर्तालिकीकरण गर्नुअघि कर्जा माग गर्ने सदस्यको कर्जा सूचना अनिवार्य रूपले लिनुपर्ने व्यवस्था रहेको छ । यसरी लघुवित्त वित्तीय संस्थाबाट कर्जा सूचना लिएवापत रू. ५६.५० र क, ख र ग वर्गका बैंक/वित्तीय संस्थाबाट लिएवापत रू. २२.६० गरी एउटा ऋणीसदस्यले एकपटकमा रू. ७९.१० (भ्याटसहित) शुल्क केन्द्रलाई तिर्नुपर्ने व्यवस्था रहेको छ । यसरी लिइने कर्जा सूचना एउटै ऋणीसदस्यले कर्जासम्बन्धी कार्य गर्दा पटकपटक तिर्नुपर्ने हुन्छ । ऋणीसदस्यले लिएको कर्जासम्बन्धी विवरण कर्जा स्वीकृत भएको ७ दिनभित्र र ९० दिनभन्दा बढी भाखा नाघेको सम्पूर्ण कर्जाको विवरण आगामी महीनाको १५ गतेभित्र लघुवित्त वित्तीय संस्थाले कर्जा सूचना केन्द्रलाई विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था रहेको छ ।
लघुवित्त वित्तीय संस्थाले सदस्यलाई प्रदान गर्ने कर्जाको सीमा निर्धारण गरिएको भए पनि विगतमा संस्थाहरूबीच बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाले एउटै सदस्यलाई धेरै लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने र विनाधितो सहज कर्जा पाइने अवसरको फाइदा उठाएर ऋणीसदस्यले आवश्यकता र क्षमताभन्दा बढी कर्जा लिई सदुपयोग नगर्ने प्रवृत्ति बढ्दै गएको थियो । यसरी उल्लेख्य संख्यामा भएको बहुबैंकिङ कारोबार र ऋणग्रस्तताको अवस्थालाई नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कर्जा सूचनाको सञ्जालमा आबद्ध गरेको देखिन्छ । यसैबीच राष्ट्र बैंकले एउटा सदस्यले एउटा लघुवित्त वित्तीय संस्थाबाट मात्र सीमासम्मको कर्जा लिन पाउने, क, ख र ग वर्गका बैंक/वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीसदस्य लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने, कर्जाको सीमा १५ लाखबाट ७ लाख कायम गर्नेलगायत निर्देशनहरू जारी गरेपश्चात् बहुबैंकिङ कारोबारमा नियन्त्रण भएको देखिन्छ ।
राष्ट्र बैंकको हालैको निर्देशनले कर्जा लिन पाउने संस्थाको संख्यालाई परिमार्जन गर्दै एउटा ऋणीसदस्यलाई बढीमा दुईओटा लघुवित्त वित्तीय संस्थाले सीमासम्मको कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । कर्जा सूचनासम्बन्धी अनिवार्य व्यवस्था लागू नहुँदासम्म एउटै ऋणी सदस्यले धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई अन्य लघुवित्त वित्तीय संस्थाको कर्जा तिर्न उक्त कर्जा प्रयोग गर्दै आएकाले ऋणीसदस्यको ऋणग्रस्तताको अवस्था बाहिरिएको थिएन । तर, कर्जा सूचनामा भएको कडाइले थप कर्जा पाउन नसकेपछि अन्य संस्थाबाट लिएको कर्जा तिर्न नसकेकाले ऋणीसदस्यको ऋणग्रस्तताको अवस्था बाहिरिएको देखिन्छ ।
कर्जा सूचनासम्बन्धी अनिवार्य व्यवस्थाले कर्जा प्रवाहको स्वस्थ अभ्यास भएको र कर्जा दुरुपयोगको नियन्त्रण भए पनि व्यवहारमा भने कर्जा सूचनासम्बन्धी विभिन्न समस्याहरू विद्यमान रहेको पाइन्छ । कर्जा स्वीकृत भएको ७ दिनभित्र त्यसको जानकारी कर्जा सूचना केन्द्रलाई पठाउनुपर्ने व्यवस्थाले त्यो बीचको अवधिमा ऋणीसदस्यले अन्य संस्थाबाट पनि कर्जा लिन सक्ने सम्भावना रहने भएकाले कर्जा लिएको जानकारी वास्तविक समयमा नै संस्थाको कोरबैंकिङ प्रणालीमार्फत कर्जा सूचना केन्द्रको सञ्जालमा अद्यावधिक हुने व्यवस्थालाई अनिवार्य गर्नुपर्ने देखिन्छ । यसो गर्न सकेमा ऋणीसदस्यको केवाईसीमा भएको विवरण नै केन्द्रको सञ्जालमा वास्तविक समयमा नै अद्यावधिक हुने भएकाले हाल उल्लेख्य संख्यामा देखिँदै आएको म्याचिङ त्रुटिमा समेत नियन्त्रण हुने देखिन्छ ।
ऋणीसदस्यले आफूले लिएको कर्जा चुक्ता गरिसकेपश्चात् पनि कर्जा सूचना केन्द्रको सञ्जालमा कर्जाको विवरण यथावत् देखिने गरेकाले उनीहरूले पुन: कर्जा लिन र अन्य व्यक्तिगत कार्य गर्नसमेत कठिनाइ हुने गरेको गुनासाहरू विगतदेखि नै सार्वजनिक हुँदै आएका छन् ।
नयाँ कर्जा, थप कर्जा, कर्जा नवीकरण, कर्जा पुन:संरचना वा पुनर्तालिकीकरणलगायत कर्जासम्बन्धी प्रत्येक कारोबारमा कर्जा सूचना अनिवार्य लिनुपर्ने व्यवस्थाले एउटै ऋणी सदस्यले कर्जा सूचनाबापतको शुल्क पटकपटक तिर्नुपर्ने हुन्छ । यसरी लघुवित्त वित्तीय संस्थाले सानो आकारका धेरै कर्जा प्रदान गर्ने भएकाले लघुवित्त वित्तीय संस्था र बैंक/वित्तीय संस्थाबाट लिने कर्जा सूचनाको लागि ऋणीसदस्यले केन्द्रलाई उल्लेख्य रकम तिरिरहेका छन् । २०८१ असार मसान्तमा ५२ ओटै लघुवित्त वित्तीय संस्थाका २६ दशमलव ६४ लाख ऋणीसदस्यले पटकपटक कर्जासूचना लिएबापत केन्द्रलाई ठूलो रकम भुक्तानी गरेका हुनाले विपन्न र न्यून आय भएको वर्गबाट लिने उक्त शुल्कलाई न्यायोचित हुने गरी पुनरवलोकन गर्नुपर्ने देखिन्छ ।
मुलुकभर सञ्चालनमा रहेका ३१ हजारभन्दा बढी सहकारीमध्ये वित्तीय सहकारीको संख्या करीब ४० प्रतिशत रहेको र तीमध्ये पाँचओटा मात्र कर्जा सूचना केन्द्रको सञ्जालमा आबद्ध भएका छन् । वित्तीय सहकारी र लघुवित्त वित्तीय संस्था दुवै समुदायमा वित्तीय कारोबार गर्ने संस्था भएकाले यी दुवै संस्थामा दोहोरो कर्जा कारोबार गर्ने सदस्यको संख्या उल्लेख रहेको अनुमान गर्न सकिन्छ ।
सामान्यतया सहकारीबाट प्रदान गरिने कर्जाको सीमा लघुवित्तको जस्तो सानो आकारको नहुने, ऋणीको कर्जा सूचनासम्बन्धी व्यवस्था अनिवार्य नभएको र ऋणीले वित्तीय सहकारी संस्थाबाट लिएको कर्जाको विवरण केन्द्रको सञ्जालमा उपलब्ध नहुने भएकाले ऋणीसदस्यलाई प्रदान गरिएको कर्जाको मात्रा मापन कार्य कठिन हुने गर्छ । त्यसैले ऋणीसदस्यको कर्जा कारोबारलाई पारदर्शी बनाउन वित्तीय सहकारी र सबै बैंक/वित्तीय संस्थासहितको एकीकृत कर्जा सूचना प्रणालीको विकास गर्नुपर्ने देखिन्छ । त्यसैगरी ऋणीसदस्यले आफूले लिएको कर्जा चुक्ता गरिसकेपश्चात् पनि कर्जा सूचना केन्द्रको सञ्जालमा कर्जाको विवरण यथावत् देखिने गरेकाले उनीहरूले पुन: कर्जा लिन र अन्य व्यक्तिगत कार्य गर्नसमेत कठिनाइ हुने गरेको गुनासाहरू विगतदेखि नै सार्वजनिक हुँदै आएका छन् । त्यसैले केन्द्रले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आफ्नो सञ्जाललाई समयमा नै अद्यावधिक गर्नुपर्ने देखिन्छ ।
प्रविधिको प्रयोगले लघुवित्तीय कारोबारलाई व्यवस्थित बनाउँदै लगेको छ । निरन्तरको सुधारले सेवाप्रदायक संस्थाले प्रदान गर्ने सेवा छिटोछरितो र गुणस्तरीय भई सेवाग्राहीलाई सहज र झन्झटमुक्त बनाउँदै ल्याएको छ । यसरी लघुवित्तीय सेवामा प्रक्रियागत सुधार हुँदै आएकाले भविष्यमा थप सहजताको अपेक्षा गर्न सकिन्छ । तर, कर्जा सूचनासम्बन्धी हालको व्यवस्थाले यस क्षेत्रमा भएका सबै समस्याको पूर्ण समाधान हुन नसकेकाले अझै अपेक्षित सहजता कायम हुन सकेको छैन । त्यसैले पछिल्लो समय कर्जा सूचनाको क्षेत्रमा देखिएका माथि उल्लिखित समस्याको समाधान गर्न कर्जा सूचना केन्द्रको स्तरोन्नति गर्न विलम्ब गर्नु हुँदैन । यसका लागि लघुवित्त वित्तीय संस्था, नेपाल लघुवित्त बैंकर्स संघ, कर्जा सूचना केन्द्र, राष्ट्र बैंक र नेपाल सरकारले समयमा नै आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।
लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।