२१औं शताब्दीलाई ‘सूचना र ज्ञानको युग’ मानिन्छ र जुन मुलुकहरूले ज्ञान, नवप्रवर्तन र प्रविधिलाई आप्mनो आर्थिक विकासको मूल आधार बनाएका छन् तिनले नै विकासको ढोकालाई फराकिलो बनाउँदै समृद्ध पनि भएका देखिन्छन् । यसबाट परम्परागत कृषि वा श्रममा आधारित अर्थतन्त्रले मात्र दिगो समृद्धि सम्भव नहुने र त्यसका लागि वैज्ञानिक अनुसन्धान, नयाँनयाँ प्रविधिको विकास र नव प्रवर्तन अपरिहार्य भएको जनाउँछ । अहिलेको प्रतिस्पर्धात्मक विश्व व्यापारको सन्दर्भमा अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न नसके पनि नेपाल जस्तो विकासशील मुलुकहरूले पनि ज्ञानको क्षेत्रमा विकास गरेर त्यसलाई समृद्ध अर्थतन्त्र निर्माणमा उपयोग गर्नसक्ने सम्भावना छ र यो सम्भावनालाई नेपालले सुनौलो अवसरको रूपमा विकास गर्नु वाञ्छनीय देखिन्छ ।
ज्ञानमा आधारित अर्थतन्त्र के हो ?
ज्ञानमा आधारित अर्थतन्त्र भन्नाले यस्तो आर्थिक प्रणाली जनाउँछ, जसमा ज्ञान, शीप, अनुसन्धान, प्रविधि र नवप्रवर्तनलाई प्रमुख उत्पादनका साधन मानिन्छन् । सामान्य अर्थमा भन्ने हो भने ज्ञानमा आधारित अर्थतन्त्रले बौद्धिक पूँजीमा आधारित उत्पादन र उपभोगसम्बन्धी प्रणालीलाई जनाउँछ । अलि बृहत् रूपमा बुझ्ने हो भने कुनै शीप, कौशल, ज्ञान, वैज्ञानिक आविष्कार, अनुसन्धानबाट पत्ता लागेका नवीन विषय, एवं बौद्धिक उत्पादनलाई व्यावसायिक प्रयोगमा ल्याई अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण अवयव बनाउने कुरा ज्ञानमा आधारित अर्थतन्त्रले समेटेको हुन्छ । त्यसैले पनि ज्ञानमा आधारित अर्थतन्त्रको विकासको लागि निजी उद्यमी, प्राज्ञिक क्षेत्र एवं सरकारी निकायको समन्वयात्मक सहकार्य जरुरी हुन्छ ।
- ज्ञानमा आधारित अर्थतन्त्र भन्नाले यस्तो आर्थिक प्रणाली जनाउँछ, जसमा ज्ञान, शीप, अनुसन्धान, प्रविधि र नवप्रवर्तनलाई प्रमुख उत्पादनका साधन मानिन्छन् ।
- ज्ञानको अवस्थाको विश्वव्यापी सूचकांक अनुसार १४१ देशहरूमध्ये ६९ दशमलव १० प्रतिशतको नतिजासहित स्वीट्जरल्यान्ड पहिलो स्थानमा छ भने नेपाल ३७ दशमलव ७ प्रतिशतको नतिजासहित ११२औं स्थानमा रहेको छ ।
- बौद्धिक सम्पत्ति ज्ञानमा आधारित अर्थतन्त्रको महत्त्वपूर्ण अवयव भए पनि त्यसलाई कुनै पनि व्यावसायिक प्रतिष्ठानको वासलातमा नदेखाइने हुनाले यसको मौद्रिक मापन दुरुह छ ।
- युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा, प्राविधिक दक्षता र उद्यमशीलताको अवसर प्रदान गर्न सकियो भने मात्र पनि तिनले देशलाई ज्ञानमा आधारित अर्थतन्त्रको समृद्धिको लागि यथेष्ट योगदान दिन सक्छन् ।
- गतवर्ष केवल १ प्रतिशतको हाराहारीमा अनुसन्धान र विकासमा बजेट विनियोजन हुनुले नेपालले ज्ञानमा आधारित अर्थतन्त्रलाई प्रोत्साहन गरेको देखिँदैन ।
आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तरराष्ट्रिय संगठन (ओईसीडी)ले उच्च शिक्षा तथा प्राविधिक तालिम, सञ्चार तथा सामूहिक सहकार्यलाई ज्ञानमा आधारित अर्थतन्त्रका लागि अनिवार्य तत्त्व मानेको छ । उसका अनुसार यी तत्त्व विना कुनै व्यक्ति विशेषले उत्पादन गरेको अन्वेषण तथा उसले विकास गरेको ज्ञान एक्लैले कुनै पनि मुलुकको अर्थतन्त्रको विकासका लागि उल्लेख्य योगदान दिन सक्दैन ।
ज्ञानमा आधारित अर्थतन्त्रमा सूचना प्रवाह, डिजिटल पहुँच, शिक्षाको गुणस्तर तथा बौद्धिक सम्पत्तिको व्यवस्थापनजस्ता विषयहरूले निर्णायक भूमिका खेल्छन् । यिनै विषयहरू समेटेर विश्व बैंकले पनि ज्ञानमा आधारित अर्थतन्त्रका महत्त्वपूर्ण खम्बाका रूपमा चारओटा खम्बालाई विशेष रूपमा चर्चा गरेको छ । ती चारओटा खम्बाहरूमा शिक्षित एवं दक्ष मानव संसाधन, प्रभावकारी नवप्रवर्तन प्रणाली, पर्याप्त सूचनासम्बन्धी पूर्वाधार र ज्ञानको उपयोग गर्न अनुकूल आर्थिक एवं संस्थागत संरचनाको उपस्थिति रहेका छन् ।
अर्थतन्त्रको आकार र सूचकांक
माथि नै उल्लेख भएझैं बौद्धिक सम्पत्ति ज्ञानमा आधारित अर्थतन्त्रको एक महत्त्वपूर्ण अवयव भएकाले ज्ञानमा आधारित अर्थतन्त्रको आकार मापनको लागि यसलाई पनि एउटा सूचकको रूपमा लिइन्छ । अमेरिकी चेम्बर अफ कमर्सका अनुसार सन् २०२३ मा अमेरिकाको बौद्धिक सम्पत्तिको मौद्रिक मूल्य करीब ६२ अर्ब डलर रहेको थियो । नेपालमा यसको आकलन गर्ने अवस्था नभए तापनि अहिले नयाँ खुलेका सूचना प्रविधिसम्बन्धी संस्था, परामर्शकेन्द्र, परामर्शदाता, प्रशिक्षक, बौद्धिक जमात, प्राध्यापक, डाक्टर, इन्जिनीयर जस्ता ज्ञानमा आधारित अर्थतन्त्रका विभिन्न सञ्चालकहरूले नेपालको बौद्धिक सम्पत्तिको अवस्थालाई पनि उल्लेख्य मात्रामा समृद्ध बनाइरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको सन् २०२३ को ज्ञानको अवस्थाको विश्वव्यापी सूचकांकअनुसार सूचीबद्ध गरिएका १४१ देशहरू मध्ये ६९ दशमलव १० प्रतिशतको नतिजासहित स्वीट्जरल्यान्ड पहिलो स्थानमा रहेको थियो भने त्यसपछि ६८ प्रतिशत रहेको स्वीडेन तथा ६६ दशमलव ९० प्रतिशत रहेको अमेरिका रहेका थिए । तर, गतवर्ष (२०२४) को सूचीअनुसार स्वीडेन र फिनल्यान्डले स्वीट्जरल्यान्डलाई उछिनेका छन् भने डेनमार्क, नेदरल्यान्ड र लक्जेम्बर्गभन्दा पनि पछि परेर अमेरिका भने सातौं स्थानमा रहेको देखिन्छ । अहिले यो सूचीमा स्वीडेन ६८ दशमलव ३ प्रतिशतसहित सबैभन्दा अगाडि रहेको छ भने गतवर्ष सबैभन्दा अगाडि रहेको स्वीट्जरल्यान्डको प्रतिशत ६७ दशमलव ९० रहेको छ र यो तेस्रो स्थानमा छ ।
नेपाल भने १४१ देशहरूमा ३७ दशमलव ७ प्रतिशतको नतिजासहित ११२औं स्थानमा रहेको देखिन्छ । एशियाका बंगलादेश (११३), पाकिस्तान (१२०) र म्यानमार (१२३) नेपालभन्दा पनि पछाडिको सूचीमा रहेका छन् ।
यसरी ज्ञानमा आधारित अर्थतन्त्रको आकारको सूचकांक सार्वजनिक गर्दा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ज्ञानमा आधारित अर्थतन्त्रका अवयवहरूको मापन गर्ने प्रयोजनका लागि कार्यक्रमले शिक्षाको स्तर, प्राविधिक एवं व्यावसायिक तालिम, अन्वेषण/नव प्रवर्तन तथा सञ्चार प्रविधिलाई आधार मान्ने गरेको छ । विकास कार्यक्रमले यो स्तर निर्धारण गर्न विश्वविद्यालयभन्दा अगाडिको शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम, उच्च शिक्षा, अनुसन्धान विकास एवं नवप्रवर्तन, सूचना तथा सञ्चार प्रविधि, अर्थतन्त्र तथा ज्ञानमा आधारित उद्यमलाई उत्प्रेरित गर्ने वातावरण जस्ता सूचकहरूको आधारमा अर्थतन्त्रको आकार मापन गरेको उल्लेख गरेको छ । यस्तो सूचकांक सन् २०१२ सम्म विश्व बैंकले सार्वजनिक गर्ने गरेको भए पनि त्यसपछि भने यसले संयुक्त अरब इमिरेट्सका पूर्वप्रधानमन्त्रीले सन् २००७ मा स्थापना गरेको मोहम्मद बिन अल माक्तोम नलेज फाउन्डेशनसँगको सहकार्यमा यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।
यसरी विभिन्न परिसूचकको आधारमा ज्ञानमा आधारित अर्थतन्त्रको आकार मापन गरी सूचकांक सार्वजनिक गरिने भए तापनि ज्ञानमा आधारित अर्थतन्त्रको मापन त्यति सजिलो भने छैन । माथि नै भनिएझैं बौद्धिक सम्पत्ति ज्ञानमा आधारित अर्थतन्त्रको महत्त्वपूर्ण अवयव भए पनि त्यसलाई कुनै पनि व्यावसायिक प्रतिष्ठानको वासलातमा नदेखाइने हुनाले यसको मौद्रिक मापन दुरुह छ ।
नेपालको सन्दर्भ
नेपालको अर्थतन्त्र अझै पनि प्रमुख रूपमा कृषिमा नै आधारित रहेको त्यो पनि व्यावसायिक नभएर जीवन निर्वाहमुखी मात्र भएको देखिए तापनि पछिल्ला वर्षहरूमा सूचनाप्रविधिको विकास, युवामाझ उद्यमशीलताको वृद्धि, नवप्रवर्तन संस्कृतिको उदय, र शिक्षामा भएको सुधारजस्ता केही सकारात्मक संकेतहरूले नेपाललाई पनि विस्तारै ज्ञानमा आधारित अर्थतन्त्रको मार्गतर्फ अगाडि बढाइरहेको मान्न सकिन्छ ।
तर, यति हुँदाहुँदै पनि नेपालमा ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा अनगिन्ती चुनौती रहेका छन् । खास गरी सरकारी तहबाट अनुसन्धान विकास एवं प्रविधिप्रति हुने लगानी न्यून हुनु, देशमा भएका प्रतिभाहरू विदेशमा पलायन हुनु, सरकारको नवप्रवर्तन–मैत्री नीतिको अभाव हुनु तथा त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका रूपमा रहने संरचनाको समेत अभाव हुनु, डिजिटल प्रणालीको सुरक्षामा कमजोरी रहनु तथा डिजिटल क्षेत्रलाई चुस्त ढंगले नियमन गर्ने वातावरण नहुनुका साथै पारदर्शिता, सुशासन एवं स्थिर राजनीतिक वातावरणको समेत अभाव जस्ता कारणले नेपालमा ज्ञानमा आधारित अर्थतन्त्रको विकासका लागि गम्भीर चुनौती थपिएको छ । यति मात्र होइन, पर्याप्त तथ्यांकको अभाव हुनुका साथै डिजिटल साक्षरताको अभावजस्ता कारणले पनि ज्ञानमा आधारित अर्थतन्त्रलाई अपेक्षाअनुरूप विकास गर्न व्यवधान भइरहेको देखिन्छ ।
यी चुनौतीहरूको समाधान नगरी ज्ञानमा आधारित अर्थतन्त्रको दिगो विकास सम्भव हुने देखिँदैन । तर पनि विद्यमान चुनौती रहँदारहँदै पनि नेपालसँग ज्ञानमा आधारित अर्थतन्त्रतर्फको विकासको दिशामा भएका पर्याप्त सम्भावनाहरूलाई भने नकार्न सकिँदैन । खास गरी युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा, प्राविधिक दक्षता र उद्यमशीलताको अवसर प्रदान गर्न सकियो भने मात्र पनि तिनले देशलाई ज्ञानमा आधारित अर्थतन्त्रको समृद्धिका लागि यथेष्ट योगदान दिन सक्छन् ।
यसका साथै विश्वभर छरिएर रहेका दक्ष र शिक्षित प्रवासी नेपालीको शीप, अनुभव र लगानीलाई देश विकासमा उपयोग गर्नसक्ने नीति अवलम्बन गर्ने हो भने पनि त्यसले ज्ञानमा आधारित अर्थतन्त्रलाई टेवा नै पुर्याउँछ ।
कृषि, पर्यटन, जलस्रोत, कला आदि क्षेत्रहरूमा प्रविधिको प्रयोग गर्दै तिनको मूल्य अभिवृद्धि गर्न सकिन्छ । हाम्रा परम्परागत गृह निर्माणका प्रविधिदेखि लिएर हस्तकला, मूर्तिकला र वास्तुकलालाई थप विकास गरेर नेपालले ज्ञानमा आधारित अर्थतन्त्रलाई थप बलियो बनाउन सक्छ । चाहे भक्तपुरको माटोका भाडा बनाउने परम्परागत शीप होस् चाहे पाटनको धातु मूर्तिकला– यस्तो अमूल्य ज्ञान र कौशलको भण्डार शायद नेपालमा जति अन्यत्र कतै पाइँदैन । तर, यस्तो ज्ञान र कौशललाई अर्थतन्त्रको अंग बनाउन आवश्यक पूर्वाधारहरूको समुचित विकास हुनु भने जरुरी हुन्छ । यस्ता पूर्वाधारहरूमा अध्ययन केन्द्रहरूको विकास, पर्याप्त अनलाइन र भौतिक पुस्तकालयहरूको सञ्चालन, सरकारी प्रोत्साहन, ज्ञानका सर्जकहरूलाई विद्वत्वृत्ति प्रदान तथा प्रोत्साहन, सार्वजनिक सकारात्मक बहसहरूको सञ्चालन, प्रज्ञा प्रतिष्ठानहरूको प्रभावकारी सञ्चालन, रोनास्टजस्ता संस्थाहरूको थप विकास, सिनास, सेडा रिकास्टजस्ता अनुसन्धान संस्थाहरूको प्रभावकारितामा अभिवृद्धिजस्ता विषय समावेश हुन्छन् । साथै दूरशिक्षा, खुला विश्वविद्यालय, अभौतिक तालिम तथा अध्ययन, सेमिनार तथा वेबिनार आदि समेतले ज्ञानमा आधारित अर्थतन्त्रको पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छन् । साथै सरकारी बजेट र खर्चले पनि पूर्वाधार विकासको गति र आकारलाई निर्धारण गरेको हुन्छ । गतवर्ष केवल १ प्रतिशतको हाराहारीमा अनुसन्धान र विकासमा बजेट विनियोजन हुनुले नेपालले ज्ञानमा आधारित अर्थतन्त्रलाई प्रोत्साहन गरेको देखिँदैन । आगामी दिनहरूमा थप बजेट विनियोजन गरी यस्तो अर्थतन्त्रलाई टेवा दिने पूर्वाधारहरूको विकासमा पर्याप्त प्राथमिकता दिनुपर्ने देखिन्छ ।
समग्रमा भन्नुपर्दा नेपालमा ज्ञानमा आधारित अर्थतन्त्रको बीउ रोपिएको छ र अब यसलाई उचित मलजल, नीति, लगानी र दूरदृष्टिद्वारा हुर्काउनुका साथै हामीसँग भएका युवाशक्ति, प्रविधि, र सम्भावनाहरूलाई समुचित ढंगले परिचालन गरियो भने नेपालले आर्थिक समृद्धिको नयाँ अध्याय कोर्नसक्ने सम्भावना देखिन्छ ।
लेखक सम्पत्ति शुद्धीकरणमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।