नेपालमा प्रमुख उत्पादन हुने अन्नबालीमा कोदो पनि पर्ने गरेको छ । धान, मकै, गहुँ र अन्य अन्नबाली भनेर कतिपय रेकर्डमा यस बालीबारेमा विस्तृत तथ्याङ्क पाउन पनि समस्या देखिन्छ । पहाडी तथा हिमाली क्षेत्रहरूमा कोदो महत्त्वपूर्ण बाली रहँदै आएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्रत्येक दश वर्षमा गरिने राष्ट्रिय कृषि गणनाबाट प्राप्त नतिजाहरू अनुसार नेपालमा कोदो खेती गरिने जमिन विसं २०५८ को तुलनामा विसं २०६८ मा १९ प्रतिशतले घटेको थियो । विसं २०६८ को गणनाबाट प्राप्त विवरणअनुसार कोदो खेतीको लागि प्रयोग गरिएको क्षेत्रफल २००,९४९ हेक्टर थियो । पछिल्लो गणना २०७८ ले देखाएअनुसार यो घटेर १२२,११३ हेक्टरमा सीमित हुन पुगेको छ । अर्थात् कोदो खेती गरिने जमिन पछिल्लो दशवर्षे गणनामा ३९ प्रतिशतले कमी आएको देखिन्छ । कोदो खेतीको लागि प्रयोग गरिने बालीको क्षेत्रफल क्रमशः घट्दै गएको छ । पछिल्लो गणना २०२१/२२ ले देखाएअनुसार कुल अन्नबाली लगाएको क्षेत्रफलमा कोदो ४ दशमलव ७ प्रतिशतमा सीमित छ जबकि यस अघिको गणनाले देखाएअनुसार यो ६ दशमलव ४ प्रतिशत थियो ।
कोदोलाई परम्परागत खाद्य बालीको रूपमा प्रयोग गरिँदै आएको छ । यो अन्न फाइदाजनक रहेको भन्ने उपभोक्ताबाट एक पछि अर्को अनुभवहरू प्रकाशमा आएपछि यसको विभिन्न अनुसन्धान गर्न थालिएको छ । यसलाई सुपरफुडको उपमा समेत दिन थालिएको छ । यसमा क्याल्सियम, आइरन, फाइबर र मेथियोनाइन र लाइसिनजस्ता शरीरका लागि आवश्यक एमिनो एसिडहरू उच्च मात्रामा पाइन्छ । वनस्पतिबाट प्राप्त हुने क्याल्सियमको उत्कृष्ट स्रोत भएकाले हड्डीको स्वास्थ्यका लागि फाइदाजनक छ, दाँत, स्नायु र मांसपेशीहरूको कार्यलाई समर्थन गर्न मद्दत गर्छ । बालबालिकामा हड्डीको विकास र वृद्धवृद्धाहरूमा अस्टियोपोरोसिस रोक्नका लागि विशेष गरी लाभदायक छ । अध्ययनहरूले देखाएका छन् कि भारतमा स्थानीय रूपमा चिनिने रागी (कोदो) ले हड्डीको घनत्व र समग्र कंकालको शक्तिलाई समर्थन गर्दछ । मधुमेहको समस्यामा कोदोको परिकार सेवन विकल्प हो । यसमा भएको उच्च फाइबरले आन्द्राको स्वास्थ्यलाई राम्रो गराउने र कब्जियत हटाई पाचनमा मद्दत गर्छ । अघुलनशील फाइबरले लाभदायक आन्द्रामा ब्याक्टेरियालाई समर्थन गर्दै प्रोबायोटिकको रूपमा काम गर्छ । यसमा एन्टिअक्सिडेन्टहरू पाइने हुँदा प्रतिरक्षा प्रणालीलाई मद्दत गर्छ । उच्च फाइबर र प्रोटीनले लामो समयसम्म पेट भरिएको भान हुने हुँदा तौल घटाउन मद्दत गर्दछ । आइरन प्रशस्त पाइने हुँदा आइरनको कमीबाट हुने एनिमिया रोग रोकथामका लागि मद्दत गर्छ । भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्त्वहरूले कोर्टिसोल स्तर र अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्दछ । कोदोको परिकार सेवनबाट प्रत्यक्ष फाइदा लिनेहरूको संख्या बढिरहेको र खास गरी शहरी जनसंख्यामा यसको माग दिनानुदिन बढिरहेको छ । तर, विडम्बना जब कोदो र यसका उत्पादनको माग बढ्न लागेको छ यही बेला यसको उत्पादन क्रमशः घट्दो क्रममा छ ।
एशियाका भारत (कर्नाटक, तमिलनाडु, आन्ध्र प्रदेश, उत्तराखण्ड), नेपाल, श्रीलंका र चीनमा बढी मात्रामा खेती गरिन्छ भने बाँकी अन्य क्षेत्रहरूमा दक्षिण अमेरिका र हिमालयका केही भागहरूमा सानो स्तरमा खेती गर्ने गरिन्छ । कोदो खेती सुक्खा र अर्धसुक्खा क्षेत्रहरूमा फस्टाउँछ, जसले गर्दा यो खडेरीग्रस्त क्षेत्रहरूको लागि एक लचिलो बालीका रूपमा लिने गरिन्छ । विगत ५ वर्षमा भएको कोदोको आयात तथ्याङ्क हेर्दा आव २०७६/७७ देखि हालसम्म केही उतारचढावकासाथ वृद्धि हुँदै गएको देखिन्छ । आव २०७६/७७ मा १४ हजार ६ सय ६१ मेट्रिक टन आयात भएकोमा आव २०७७/७८ मा २१ हजार ४ सय ८२ मेट्रिक टन आयात भएको थियो । आव २०८०/८१ मा आइपुग्दा १५ हजार २ सय ९३ मेट्रिक टन आयात भएको छ । चालू आवको प्रथम दश महिनामा १२ हजार ८ सय ५६ मेट्रिक टन आयात भइसकेको छ । आयात मूल्यका हिसाबले आव २०७६/७७ मा रू. ४७ करोड ६४ लाख मूल्यको आयात भएकोमा आव २०८०/८१ मा आइपुग्दा रू. ७५ करोड ४२ लाख मूल्यको आयात भएको छ । चालू आवको प्रथम दश महिनामा रू. ६४ करोड ३३ लाख मूल्यको आयात भइसकेको छ । आयात भएको कोदोको प्रतिकेजी आयात मूल्य आव २०७६/७७ मा रू. ३२ देखि चालू आवसम्म आइपुग्दा रू. ५० सम्म पुगेको देखिन्छ । कोदो आयातबाट आव २०७६/७७ मा रू. २ करोड ३९ लाख राजस्व प्राप्त भएकोमा आव २०८०/८१ मा आइपुग्दा ५ करोड ४२ लाख रुपैयाँ प्राप्त भएको छ । चालू आवको प्रथम दश महिनामा रू. ४ करोड ८३ लाख राजस्व प्राप्त भइसकेको छ । यसमा बिउ कोदो समावेश गरिएको छैन । बिउ कोदो आव २०७६/७७ मा करिब ७ करोडको आयात भएकोमा त्यसपछिका वर्षहरूमा घट्दै गएको छ ।
सबैजसो कोदो भारतबाट आयात हुने गरेको छ, नगण्य मात्रामा चीनबाट पनि आयात भएको देखिन्छ । बिउ कोदोको रूपमा नेपालबाट द. कोरिया जापान हङकङजस्ता पूर्वी एशियाका देशहरूमा थोरै मात्रामा निर्यात भएको देखिन्छ भने केही नगण्य रूपमा यूरोपतर्फ पनि कोदो निर्यात भएको देखिन्छ ।
स्वस्थकर खाद्य पदार्थ र ग्लुटेन–मुक्त उत्पादनहरूमा बढ्दो विश्वव्यापी उपभोक्ताको चासोसँगै कोदोले बिस्तारै अन्तरराष्ट्रिय बजारमा आफ्नो स्थान बनाउँदै छ । यसको उच्च पोषणमूल्य, कम उत्पादन लागत, खेती प्रणालीहरूमा अनुकूलन क्षमताको विकास गरी यसलाई निर्यात–उन्मुख कृषिका लागि आकर्षक विकल्प बनाउन सकिन्छ । यसको पौष्टिक गुणहरू हुँदाहुँदै पनि चामल र गहुँ जस्ता मूलधारका अन्नहरूको तुलनामा विश्व बजारमा कोदोलाई प्रायः कम मूल्याङ्कन गर्ने गरिन्छ । नेपालमा यसको प्रशोधनको परम्परागत प्रविधि छ जुन श्रमलाग्ने खालको र उपकरणको कम प्रयोग हुने खालको छ यसले गर्दा उत्पादन लागत बढ्ने र विश्वव्यापी स्तरमा यसको प्रतिस्पर्धात्मकतालाई सीमित गरिरहेको पनि छ । त्यसकारण प्रशोधन प्रविधिहरूलाई आधुनिकीकरण गरी बालीको पूर्ण आर्थिक क्षमतालाई साकार पार्न जोड दिइनुपर्छ । मौसमी अवस्था चुनौतीपूर्ण बन्दै गएको नेपालमा धेरै निर्वाहमुखी किसानहरूका लागि कोदोले भरपर्दो र दिगो बालीको रूपमा विकल्प दिन सक्छ । जलवायु परिवर्तनका कारण परम्परागत अन्न उत्पादनमा गिरावट आउँदा पनि कोदो खेतीको सजिलो र लचिलोपनले खाद्य असुरक्षाविरुद्ध मध्यवर्ती भूमिका निर्वाह गर्दछ र व्यावसायीकरणमार्फत ग्रामीण समुदायहरूका लागि आयको स्रोत प्रदान गर्छ । आधुनिक खाद्य प्रशोधनले कोदोबाट विविध मूल्य अभिवृद्धि उत्पादनहरू सृजना गर्न सक्दछ । जस्तो कि खानका लागि तयार खाजा, ग्लुटेनमुक्त बेकरी वस्तुहरू र स्वास्थ्य–सचेत उपभोक्तालाई पूरा गर्ने पोषण पूरकहरू समावेश हुन सक्छन् । कोदोको खेतीमा क्रमिक कमी आउन नदिनका लागि यसको प्रवद्र्धनका लागि हस्तक्षेपकारी नीति र कार्यक्रमहरू आवश्यक पर्छ किनकि यो धेरै आधुनिक रोगहरूको लागि पौष्टिक र लाभदायक खाना मानिन्छ जुनबाट युवाहरू पनि पीडित छन् ।
लेखक तथ्याङ्कशास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।