काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने यस वर्षको बडादशैं आजदेखि शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
घटस्थापनाको साइत ९:१६ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो । दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ ।
यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ ।
यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।
विजयादशमीको साइत असोज २६ गते ११ः३६ बजे
नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।
असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दशैं घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैंघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गादेवीको पूजाआराधना शुरू हुन्छ ।
आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए । दशैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा बलिसमेत दिने गरिन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दशैंका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादशैंलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैंका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव
पोखरा र आसपासका शक्तिपीठमा नवदुर्गा महोत्सव शुरू भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो । नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् ।
परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ । विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ । फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ ।
फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ । अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ । यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्दीका ढाल, तरबार र तोप प्रदर्शन गरिन्छ । विन्ध्यावासिनी मन्दिरमा पनि महोत्सव शुरू भएको छ ।विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०६४ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवभर देवीभागवत ज्ञान महायज्ञ पनि हुँदैछ ।
मिथिलामा ‘दशहरा’ पर्व शुरू, आज घटस्थापना गरिँदै
प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व शुरू भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैं पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दशैं पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ ।
देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् । मिथिलाका देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले आज धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् । महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित राजदेवीस्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ ।
रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्डसहितका सरोवरबाट नयाँ घडामा जल भर्न बिहानैदेखि झाँकी र बाजागाजासहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ । कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ । घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ ।
बर्दिबासको हटियाचोक, जलेश्वरको महेन्द्रचोक र हाटेचौर, भङ्गाहाको सीतापुरबजार, गौशालाबजार, लोहारपट्टीसहितका जिल्लाका ३० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ । नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् । दशहरा पर्व शुरू भएसँगै मिथिलामा मङ्गल धुन गुञ्जिएको । बस्तीबस्तीमा देवी भजन भइरहेको छ । दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
गोरखा, १७ असोज : गोरखा दरबारको दशैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दशैंघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उहाँले बताए । “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”
यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा शुरू भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ । बडादशैंमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।
बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो
दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दशैं र चैतेदशैंमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । “मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन प-यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ,” पोखराबाट आउनुभएका पोषण शर्माले भन्नुभयो, “बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।”
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दशैंमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ ।
चैतेदशैंमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किम्वदन्ती छ ।
सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर
जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादशैंका १० दिन मात्र खोल्ने प्रचलन छ । मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दशैंमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी, दरभङ्गा र मुज्जफरपुरबाट पनि दर्शनार्थी आउने गरेका छन् । त्रिशूली मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।
राष्ट्रपति भवनमा घटस्थापना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राख्नुभएको हो ।
आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ । रासस