मेलम्ची खानेपानी आयोजनाले आर्थिक वर्ष २०६८/६९ मा विनियोजित रकमको ५२ प्रतिशतमात्रै खर्च गरेको छ । सरकारले गत आवमा उक्त आयोजनाका लागि रू. १ अर्ब ४३ करोड ६७ लाख विनियोजन गरेकोमा रू. ७५ करोड ५२ लाख ६३ हजारमात्रै खर्च गर्न सकेको हो । आव २०५५/५६ देखि आव २०६५/६६ सम्म उक्त आयोजनाले रू. ६ अर्ब ७७ करोड खर्च गरेको थियो ।
सन् २००० मा प्रारम्भ भएको आयोजनाको हालसम्म ५० प्रतिशतमात्र काम सकिएको आयोजनाका उपकार्यकारी निर्देशक घनश्याम भट्टराई बताउँछन् । ‘आयोजनाका सहायक कामहरू सम्पन्न भए पनि मुख्य तीनओटा काममा भने खासै प्रगति हुन सकेको छैन,’ उनले भने । २७ किलोमिटर टनेल निर्माण गर्नुपर्नेमा हालसम्म ६ किमीमात्र खनिएको छ । त्यसैगरी पानी प्रशोधन केन्द्र निर्माणको काम अझैसम्म शुरू हुन सकेको छैन ।
तोकिएको समयमा काम सक्न चिनियाँ निर्माण कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि गत जुलाई ८ र ९ गते काठमाडौंमा दुई देशबीच उच्चस्तरीय छलफल भएको थियो । उक्त छलफलमा निर्माण कम्पनीले आगामी दिनमा काममा सुधार ल्याउने वाचा गरेको थियो ।
आयोजनाको खानेपानीका लागि सुरूङ निर्माण गर्ने जिम्मा लिएको कम्पनी चीनको प्रसिद्ध सरकारी कम्पनी हो । गत असोजमा चीन भ्रमणमा गएको सचिवस्तरीय टोलीले समेत त्यहाँको सरकारलाई यस विषयमा जानकारी गराएको थियो ।
वर्ष ७, अंक ३३५, शुक्रवार १ भदौ, २०६९