काठमाडौं। धरानका निरज तामाङले कुलस्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । उनले १७ अन्डर १९३ को स्कोरसहित करियरको दोस्रो उपाधि जितेका छन् । उपाधिसँगै निरजले १ लाख ५० हजार प्राप्त गरेका छन् । पार ७० को धरान गल्फ क्लबमा ७ अन्डर २०३ स्कोरसहित विष्णुप्रसाद शर्मा दोस्रो भए । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा धरानका बलभद्र राईले ३ अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
भुवन नगरकोटी र रवि खड्का २ अन्डर २०८ सहित चौथो स्थानमा रहे । उनीहरूले जनही ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै धनबहादुर थापा र भुवनकुमार रोक्का छैटौं हुँदै जनही ४४ हजार रुपैयाँ प्राप्त गरेका छन् । समग्रमा १ ओभर २११ स्कोर बनाएका रामे मगर आठौं भई ३८ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा टंकबहादुर कार्की र सञ्जय लामा नवौं स्थानमा रही जनही ३३ हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरेका थिए । ५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार रुपैयाँ नगद पुरस्कार राशी रहेको थियो ।