काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणले पुस १२ गते नयाँ बोनसदर स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो ।
कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने जनाएको छ ।
यस योजनामा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, लघु सावधिक, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना समावेश छन् ।
त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यही प्रकारले जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसको व्यवस्था गरिएको छ ।
सुनौलो भविष्य जीवन बीमा योजनामा विकल्प १ र २ का लागि ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ । यस्तै सुनौलो भविष्य जीवन बीमाको एकल बीमाशुल्क योजनामा बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्नेछन् ।
सावधिक जीवन बीमालेखकै केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा बीमितले ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र जीवन साहारा र अनमोल जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिइने कम्पनीले जनाएको छ ।
अग्रिम भुक्तानी योजनाहरूमा पनि बोनस दर घोषणा गरिएको छ । यस बीमालेख अन्तर्गतका सबै बीमा योजनाहरूमा समान ५६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी अन्य योजनाहरू जस्तै जीवन सारथी योजनामा बीमितहरूले ६२ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको समीक्षा र बीमाङ्कीय प्रतिवेदनको आधारमा यो नयाँ बोनसदर तय गरेको हो । आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि यही अन्तरिम बोनसदर यही लागू हुने कम्पनीले जनाएको छ ।