काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयर मूल्य पछिल्लो कारोबार दिन बिहीवार प्रतिकित्ता रू. ६ हजार ५७० कायम भएको छ । केही दिनदेखि सकारात्मक सर्किट लाग्दै उक्त मूल्यमा पुगेको हो ।
लगानीकर्ताको रोजाईमा परेको यस कम्पनीको वित्तीय अवस्था कस्तो छ त । पछिल्लो चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी रू. ४३ लाख ५३ हजार घाटामा रहेको छ । गत आवको पहिलो त्रैमासमाभने कम्पनीले रू. ५२ लाख ८३ हजार नाफा कमाएको थियो ।
पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको निष्क्रिय कर्जा १३ दशमलव २२ प्रतिशत रहेको छ । गत आवको पहिलो त्रैमासमा भने यस्तो कर्जा ८ दशमलव ५३ प्रतिशत थियो । यस आधारमा कम्पनीको निष्क्रिय कर्जा गत वर्ष भन्दा यस वर्ष बढेको छ ।
चुक्ता पूँजी रू. ६ करोड ८५ लाख रहेको कम्पनीले जगेडामा रू. २० करोड ५ लाख सञ्चिती गरेको छ । तर कम्पनीको शेयर मूल्य भने निरन्तर उकालो लागेको छ । यस्तो अवस्थामा गरिएको लगानीमा जोखिम हुन सक्ने देखिन्छ । यद्धपि पहिलो त्रैमासमा मात्रै घाटामा देखिएको हो । गत आवमा भने नाफा थियो । घाटामा रहेको कम्पनीको शेयर मूल्य अस्वभाविक बढ्दा जोखिम बढी हुने शेयर जानकार बताउँछन् ।
यस कम्पनीको शेयर सख्या न्यून रहेकाले आपूर्ति कम हुने भएकाले माग बढी हुने भएकाले शेयर मूल्य बढेको ब्रोकर बताउँछन् । यस कम्पनीको कुल ७ लाख ८३ हजार ४३३ कित्ता शेयर सूचीकृत रहेको छ । कुल कित्तामध्ये संस्थापकको ६७ दशमलव ३७ प्रतिशत अर्थात ५ लाख २७ हजार ८३५ कित्ता र सर्वसाधारणको ३२ दशमलव ६३ प्रतिशत अर्थात २ लाख ५५ हजार ५९८ कित्ता रहेको छ । जसका कारण पनि पछिल्लो समय कम शेयर सख्या हुने कम्पनीको शेयर मूल्य कारोबारीहरुले उचालिरहेको देखिन्छ ।
यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।