काठमाडौ । भक्तपुरको बालकोटमा ५ करोड रुपैयाँको लगानीमा डेरी उद्योग सञ्चालनमा आएको छ ।
नेपाल डेरी एसोसिएसनका उपाध्यक्षसमेत रहेका दीपप्रसाद धमला लगायतले सूर्यविनायक नगरपालिका–२ बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रालिको नामबाट उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् ।
भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले बिहीवार एक समारोहबीच उक्त डेरी उद्योगको उद्घाटन गरे ।
उद्योग सञ्चालक धमलाले उद्योगले खास गरी दुग्धजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने लक्ष्य लिएको बताए ।
उनका अनुसार उक्त उद्योगले दुध, दही, पनिर, बटर घिउका साथै खुवा, रसभरी, लालमोहन, आइसक्रिम, कुल्फी, खुवा, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीलगायका उत्पादन शुरु गरेको छ ।
उक्त उद्योगबाट दैनिक पाँच लाख लिटर दुध खपत हुने र १० देखि १५ जनासम्म प्रत्यक्षरूपमा रोजगारीे सिर्जना हुने सञ्चालकको भनाइ छ ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले डेरी उद्योग बजारमा स्थापित हुने बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई उद्योगबाट उत्पादित घ्यू, लालमोहन, पनिर लगायत दुग्ध पदार्थ उपहारस्वरूप बितरण गरिएको थियो ।