स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सञ्चालक समितिले हालै गोरख शमशेर राणा लाई पुस १७ अर्थात् जनवरी १, २०२५ देखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्यो । उनी यो बैंकको सीईओ हुने पहिलो नेपाली नागरिक हुन् । करीब तीन दशकदेखि उक्त बैंकमा कार्यरत राणा यसअघि सोही बैंकका डेपुटी सीईओ थिए । देशको एक मात्र अन्तरराष्ट्रिय बैंकको नेतृत्व गर्ने अवसर पाएका राणासँग आर्थिक अभियान ले कुनै नेपालीले अन्तरराष्ट्रिय बैंकको नेतृत्व गर्नु पाउनुको अर्थ, देशको आर्थिक तथा वित्तीय अवस्था र बैंकिङ क्षेत्रमा देखिएको चुनौतीका सम्बन्धमा गरिएको कुराकानी ।
- धितो लिलामी र गैरबैंकिङ सम्पत्तिकोे वृद्धिले अर्थतन्त्र मा कर्जाको मागको कमी झल्काउँछ । तर यसले सक्रिय व्यवस्थापनको महत्त्व पनि दर्शाउँछ ।
- न्यून कार्बन उत्सर्जन हुने अर्थतन्त्रतर्फको रूपान्तरणमा नेतृत्व गर्नु हाम्रो लक्ष्य रहेको छ ।
- नेपालमा एक मात्र अन्तरराष्ट्रिय बैंकको रूपमा हामी नेपाल र विश्व बजारबीच महत्त्वपूर्ण सेतुका रूपमा काम गर्छौं ।
तपाईं स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त हुनुभएको छ । व्यक्तिगत रूपमा कस्तो महसूस भएको छ ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको पहिलो नेपाली सीईओ नियुक्त हुनु मेरो लागि ठूलो सम्मान हो । यस क्रममा मलाई समर्थन गर्ने सबै सरोकारवालाहरू, ग्राहक, नियामक निकाय, शेयरधनी, मिडियामा रहेका साथीहरू र मेरा गुरु (मेन्टर)हरूप्रति म आभारी छु । यस परिवर्तनले नेपाली कर्मचारीहरूले अन्तरराष्ट्रिय कम्पनीहरूको समग्र व्यवसाय र सञ्चालनमा ल्याउन सक्ने मूल्य अभिवृद्धि, स्थानीय नेतृत्वमाथिको विश्वास र नेपालको बैंकिङ क्षेत्रको विकासमा रहेको प्रतिबद्धता उजागर गरेको छ । म बैंकिङ क्षेत्रको विकासलाई निरन्तरता दिन, हाम्रा ग्राहक, सरोकारवाला र समुदायको लागि अर्थपूर्ण प्रगति गर्नेगरी बैंकको विरासतलाई अघि बढाउनेछु । यो निर्णयले नेपालको नेतृत्व र प्रतिभा विकासमा उत्कृष्ट अवसर प्रदान गर्छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट आफ्नो करीअर शुरू गरेका धेरै जना तपाईंका सहकर्मी अन्य वाणिज्य बैंकमा सीईओ भए । तपाईंलाई अन्य बैंकहरूको नेतृत्व गर्ने अवसर थियो होला । तर किन तपाईंले यही बैंकमा आबद्ध रहिरहने निर्णय लिनुभयो ?
स्ट्यान्डर्ड चार्टर्डले नेपालको वित्तीय क्षेत्रको विकासको अतिरिक्त मलाई मेरो व्यावसायिक वृत्ति विकासमा सहयोग पुर्याएको छ । बैंकको अन्तरराष्ट्रिय पहुँच, दिगो बैंकिङप्रतिको प्रतिबद्धता र बलियो मूल्यमान्यता मेरा आफ्ना मान्यतासँग मेल खान्छन् । स्ट्यान्डर्ड चार्टर्डमारहँदा मलाई सकारात्मक प्रभाव पार्न अवसर दिएको छ र लामो समयदेखि मप्रति दर्शाइएको विश्वासप्रति म आभारी छु ।
त्यसबाहेक, मेरिटोक्रेसी (योग्यता), अनुसन्धान र आचरणमा जोड दिने स्ट्यान्डर्ड चार्टर्डको संस्कृति मेरो व्यक्तिगत विश्वाससँग मेल खान्छ । विश्वस्तरमा फैलिएको तथा नेपालप्रति प्रतिबद्ध संस्थामा काम गर्न पाउनुले मलाई सन्तोषको अनुभूति दिलाएको छ र यसले मलाई देशका रूपान्तरणकारी पहलहरूमा सहभागी हुने मञ्च प्रदान गरेको छ ।
अन्तरराष्ट्रिय व्यापार र भुक्तानी प्रणालीमा नेपालको प्रतिष्ठा बढाउन स्ट्यान्डर्ड चार्टर्ड बैंकको नेपालमा भएको उपस्थिति कत्तिको महत्त्वपूर्ण छ ? नेपाली बैंकिङ क्षेत्रमा यो बैंकको के विशिष्ट योगदान रहेको छ ?
नेपालमा एक मात्र अन्तरराष्ट्रिय बैंकको रूपमा हामी नेपाल र विश्व बजारबीच महत्त्वपूर्ण सेतुका रूपमा काम गर्छौं । व्यापार वित्त (ट्रेड फाइनान्स) र सीमापार भुक्तानीमा हाम्रो विशेषज्ञताले नेपाली व्यवसायलाई अन्तरराष्ट्रिय साझेदारहरूसँग खासगरी व्यापार र भुक्तानीमा सहज रूपमा कारोबार गर्न सक्षम बनाएको छ । नेपाली बजारमा व्यापार र भुक्तानीको क्षेत्रमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले महत्त्वपूर्ण बजार हिस्सा ओगटेको छ । साथै, यी क्षेत्रमा हाम्रो बैंकको दक्षता तथा हाम्रो सञ्चालनको व्यापकताका कारण नेपालमा हाम्रो उपस्थितिले यी सेवाहरू कम लागतमा उपलब्ध गराउन मद्दत गरेको छ ।
जहाँसम्म नेतृत्व र राष्ट्रिय एजेन्डामा योगदान पुर्याउने विषय छ, देशका लागि एकदमै महत्त्वपूर्ण विषयमा हामी आफ्नो अन्तरराष्ट्रिय विशेषज्ञता प्रयोग गरी योगदान गर्दै आएका छौं । उदाहरणका लागि हालै भएको नेपालको सार्वभौम शाख मूल्यांकनमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले सल्लाहकारको भूमिका निर्वाह गरेकोलाई लिन सकिन्छ ।
विगत तीन दशकमा धेरै विदेशी बैंकहरू नेपालबाट बाहिरिएका छन् भने अन्य विदेशी बैंकहरू नेपाल प्रवेश गर्न इच्छा देखाएको देखिँदैन । तपाईंको विचारमा नेपाली बजार विदेशी बैंकहरूका लागि कम आकर्षक भएको हो ?
द्रुत गतिमा तीव्र विस्तार भइरहेका दुई ठूला अर्थतन्त्रहरू भारत र चीनको बीचमा रहेको र बीबी माइनस सार्वभौम शाख मूल्यांकन रहेको भौगोलिक स्थानका कारण नेपाल पनि उल्लेख्य सम्भावना भएको बजार हो । चुनौतीहरू विद्यमान भए पनि विकास र नवप्रवर्तनका लागि असंख्य अवसर पनि छन् । मलाई विश्वास छ कि अर्थतन्त्र बढ्दै जाँदा नेपाल विश्वभरिका लगानीकर्ताका लागि बढ्दो आकर्षक गन्तव्य बन्नेछ ।
सन् २०२२ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक सातओटा देशबाट बाहिरियो । तर पनि नेपालमा भने सञ्चालनको निरन्तरता कायम राखेको छ । स्ट्यान्डर्ड चार्टर्डको नेपालमा रहिरहने निर्णयका कारण के हुन् ?
हामी नेपाललाई अन्तरराष्ट्रिय वित्त बजारसँग जोड्न अन्तरराष्ट्रिय सीमापार बैंकको रूपमा योगदान गर्न प्रतिबद्ध छौं ।
नेपालको पहिलो सार्वभौम क्रेडिट रेटिङमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो प्रक्रियामा बैंकको कस्तो खालको सहभागिता थियो ? नेपालले बीबी माइनस रेटिङले पाउनुको अर्थ के हो ?
नेपालको पहिलो सार्वभौम क्रेडिट रेटिङका लागि एकमात्र रेटिङ सल्लाहकारको रूपमा सेवा गर्ने अवसर पाउनु हाम्रो लागि गर्वको कुरा हो । यसले नेपाल आफ्नो बलियो वित्तीय प्रतिष्ठा बढाउन कटिबद्ध रहेको प्रष्ट पार्छ । बीबी माइनस रेटिङले नेपालको स्थिरताका साथै नेपाललाई विदेशी लगानी आकर्षित गर्न र आर्थिक वृद्धिमा योगदान गर्न महत्त्वपूर्ण सम्भावना भएको एक उदीयमान बजारको रूपमा पहिचान दिलाएको छ ।
स्ट्यान्डर्ड चार्टर्डलाई अझै पनि मुख्यत: सम्पन्न व्यक्तिहरू र ठूला कम्पनीलाई सेवा दिने बैंकको रूपमा हेरिन्छ । साना र मध्यम आकारका व्यवसायसँग जोडिन र सो क्षेत्रमा ग्राहक संख्या बढाउन बैंकले के कदम चालिरहेको छ ?
साना र मझौला उद्यमहरू (एसएमइज्) नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हुन् । तिनलाई वित्तीय सेवा प्रदान गर्नु हाम्रो रणनीतिको केन्द्रमै छ । यस्ता व्यवसायका लागि उपयुक्त हुने बैंकिङ ‘प्रडक्ट’ ल्याएर र क्षमता अभिवृद्धि तालीम दिएर हामी उनीहरूलाई व्यावसायिक लक्ष्य हासिल गर्न सघाउँछौं । यसका लागि हाम्रो वेल्थ एण्ड रिटेल बैंकिङ शाखा नै छ । कर्पोरेट र सम्पन्न ग्राहकसँगै हामी साना व्यवसायीको मूल्य सृजना गर्न प्रतिबद्ध छौं ।
नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपिएल)को हिस्सा बढ्दै गएको छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बैंकहरूले प्रकाशित गरेको निष्क्रिय कर्जाको विश्वसनीयताबारे प्रश्न गरिरहेको छ र ठूला बैंकहरूको कर्जाको लेखापरीक्षण गर्न सुझाव दिएको छ । बैंकिङ क्षेत्रको निष्क्रिय कर्जाको अवस्था निकै चिन्ताजनक अवस्थामा पुगेको हो ? यो समस्या कत्तिको गम्भीर छ ?
खराब कर्जामा भएको वृद्धि चुनौतीपूर्ण छ । तरपनि नेपालमा ५ प्रतिशतभन्दा कम छ । यो भनेको दक्षिण एसियाली मुलुकका बैंकहरू वा अन्य उदीयमान बजारहरूको तुलनामा उल्लेख्य रूपमा कम हो । यसले जोखिम व्यवस्थापन र सञ्चालनको लचिलोपन सुदृढ पार्न अवसर पनि प्रदान गर्दछ । कर्जाकोे अनुगमन र पोर्टफोलियो विविधीकरणलगायत सक्रिय उपायहरू पहिले अपनाउन थालिएको छ । एक्स्पेक्टेड क्रेडिट लस फ्रेमवर्क लागू गरेपछि वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउनेछ ।
नेपाली बैंकिङ प्रणालीमा तरलता अभाव र अधिक तरलताको समस्या एउटा चक्रको रूपमा चलिरहेको पाइन्छ, जसले गर्दा ब्याज दरहरूमा उतारचढाव आइरहेको छ र व्यवसायलाई प्रभावित पारिरहेको छ । यो दोहोरिने समस्यालाई कसरी हेर्नुहुन्छ ? यसलाई दिगो रूपमा समाधान गर्न कुनै उपाय छन् ?
परिवर्तनशील आर्थिक परिदृश्यका कारण तरलतामा हुने उतारचढाव धेरैजसो अर्थतन्त्रहरूमा भइरहने घटना हो । तर यसले वित्तीय प्रणालीमा सुधारका क्षेत्रहरू पनि देखाइदिन्छ । दीर्घकालीन बचतलाई प्रोत्साहन गर्नु, सरोकारवालाहरूबीच बढी समन्वय बढाउनु र सघन पूँजी बजारको विकास गर्नु प्रमुख समाधान हुन् । म आशावादी छु– यी उपायसँगै नेपालको वित्तीय क्षेत्र अझ स्थिर र लचिलो हुनेछ ।
बैंकहरूले हरित वित्तीय लगानी (ग्रीन फाइनान्सिङ) र दिगो बैंकिङ अभ्यास प्रवर्द्धन गर्न ध्यान दिइरहेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ग्रीन फाइनान्सिङको क्षेत्रमा के गरिरहेको छ ?
दिगोपना स्ट्यान्डर्ड चार्टर्डको सोचको केन्द्रविन्दु नै हो । नेपालमा हामी संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य अन्तर्गत नवीकरणीय ऊर्जा वरिपरिका परियोजना र वित्तीय संस्थालाई सहयोग गर्दै ग्रीन फाइनान्सिङका पहलमा सहयोग गरिरहेका छौं । हरित र दिगो भविष्यका लागि नेपालको आकांक्षासँग मिल्दोजुल्दो हुनेगरी न्यून कार्बन उत्सर्जन हुने अर्थतन्त्रतर्फको रूपान्तरणमा नेतृत्व गर्नु हाम्रो लक्ष्यरहेको छ ।
कर्जा ब्याजदरमा कमी आएको भए पनि कर्जा प्रवाह सुस्त देखिएको छ । तपाईंको विचारमा यो कर्जा वृद्धिमा सुस्ती आउनुका मुख्य कारण के–के हुन् ? कतिपय बैंकहरूको प्राथमिक कर्जा लिने ग्राहक अत्यधिक ऋणग्रस्त भएकाले नयाँ कर्जा दिन बैंकहरू असमर्थ भएका छन् । यसमा तपाईंको दृष्टिकोण के हो ?
कर्जा प्रवाहले गति लिन थालेको छ । तर अनुकूल आर्थिक सूचकांक हुँदाहुँदै यसको प्रभाव देखिन ढिलाइ भइरहेको छ । यसले कर्जा लिनेहरू कर्जा लिन बढी नै सतर्क रहेको देखाएको छ भने बैंकिङ क्षेत्रमा बलियो जोखिम व्यवस्थापनको बढ्दो आवश्यकता पनि देखाएको छ, जसले दीर्घकालीन रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पारोस् । ग्राहकलाई नयाँ नयाँ सेवामार्फत सहयोग गर्ने, कर्जा पहुँच सुधार गर्ने र सम्भाव्यता उच्च रहेका परियोजनामा लगानी प्रोत्साहित गर्ने यो अवसर हो ।
हालै बैंकहरूको धितो लिलामीको सूचनामा उल्लेख्य वृद्धि देखिएको छ । कर्जा असुली बैंकहरूका लागि ठूलो चुनौती बनेको हो ? बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत एक वर्षमा ७२ प्रतिशतले बढेको छ । गैर बैंकिङ सम्पत्ति बढ्नु बैंकहरूका लागि कति चिन्ताको विषय हो ?
धितो लिलामी र गैरबैंकिङ सम्पत्तिकोे वृद्धिले अर्थतन्त्रमा कर्जाको मागको कमी झल्काउँछ । तर यसले सक्रिय व्यवस्थापनको महत्त्व पनि दर्शाउँछ । यस्तो अवस्था आउनु समस्या भए पनि यसले कर्जा असुली प्रक्रियामा नवीनता ल्याउन र कर्जाको गुणस्तरलाई सबल बनाउन अवसर प्रदान गर्छ । जोखिम व्यवस्थापन सुढृढ गरेर र सहकार्यात्मक प्रयासबाट हामी यो चुनौतीलाई दीर्घकालीन स्थिरताको अवसरमा परिणत गर्न सकिन्छ ।