हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता निकै सफल रहेको धेरैको बुझाइ छ । यो प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघका सचिव पारस खड्काको नेतृत्वदायी भूमिका रहेको थियो । एनपिएल दर्शकको अपार साथले मात्र होइन, टिम मालिकहरूले गरेको ठूलो लगानीका कारण पनि चर्चामा आयो । एनपिएलको सफलता र अबको नेपाली क्रिकेटको बाटोका सन्दर्भमा आर्थिक अभियान दैनिकका कार्यकारी सम्पादक पृथ्वीमान श्रेष्ठले नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका खड्कासँग हालै गरेको कुराकानीको सार :
हालै आयोजना गरिएको एनपिएल प्रतियोगिता निकै सफल रह्यो । यसको आयोजना गर्ने क्यानको एक मुख्य नेतृत्वकर्ताको रूपमा तपाईंको पनि प्रशंसा भइरहेको छ । यति ठूलो प्रतियोगिता सफल हुँदा व्यक्तिगत रूपमा कस्तो महसुस गर्नुभएको छ ?
नेपाल क्रिकेटलाई मायासँगै लगानी पनि जोडियोस् भन्ने चाहना एक पूर्वक्रिकेट खेलाडीको नाताले सधैं थियो । एनपिएल गराउने भनेर गठन भएको गभर्निङ काउन्सिलले दिएको मापदण्ड अनुसारका काम क्यानको सचिवको रूपमा गर्ने मौका पाइयो । अझ नेपाल क्रिकेटमा नयाँ कार्यसमिति आएदेखि नै एनपिएलभन्दा अघि पनि हामीले जति पनि अन्तरराष्ट्रिय प्रतियोगिता आयोजनाहरू गर्यौं, त्यहीँबाट नै हामीले एउटा नयाँ दिशातिर अघि बढ्ने बाटो खोलेका थियौं । एनपिएल गर्नुपर्छ वा हुनुपर्छ भन्ने त म आफै क्रिकेट खेल्दादेखिकै सोच थियो । तर त्यसबेला किन भएन भन्ने जवाफ चाहिँ मसँग छैन । क्यानको नयाँ कार्यसमितिमा आइसकेपछि क्रिकेट संघले दिएको जिम्मेवारीलाई पूरा गर्ने क्रममा टिमवर्कले नै काम गरिरहेका छौं ।
क्यानमा मैले पाएको जिम्मेवारी अनुसार यस प्रतियोगितालाई अर्को स्थानसम्म लैजान लागिपरेको छु । क्यान, जिल्ला तथा प्रदेशका संघहरू र टिमको स्वामित्व लिने व्यक्तिहरूका कारण प्रतियोगिता सफल भयो । व्यक्तिगत रूपमा धेरैले मलाई जश दिनुभएको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिन्छु । तर यो एउटा व्यक्तिगत प्रयास नभईकन सबैको साथले भएको हो ।
भर्खरै पहिलो संस्करण सकिएको छ । यसबाट सबैजना खुशी र उत्साहित पनि हुनुहुन्छ । तर आगामी दिनमा हामीले गर्नुपर्ने काम र चुनौतीहरू पनि धेरै छन् । यद्यपि पहिलो वर्ष नै हामीले सोचेकोभन्दा धेरै राम्रो प्रतिक्रिया पाएका छौं । त्यसका लागि हामी सबैप्रति कृतज्ञ छौं । भनेको क्यानको बोली हो । त्यसैले मैले यहाँ भनेका कुरा क्यानले आगामी दिनमा पनि गर्ने नै छ ।
प्रतियोगिता सकिएको पनि दुई महीना भयो । यसमा कुल खर्च कति भयो र आय कति भयो ?
कतिपयले अब सामाजिक सञ्जालमा एक सय करोडको ब्राण्ड बन्यो, टिमहरूले यति लगानी गरे, उति लगानी गरे भनिरहेका छन् । तर, सबै कुरालाई आर्थिक हिसाबले हेर्दा पहिलो वर्ष नै यति करोडको ब्रान्ड भयो भन्नु ठीक होइन जस्तो लाग्छ । जब हामीले एनपिएल गर्ने भनेर सार्वजनिक रूपमा आशयपत्र (आरएफपी)को फर्म निकाल्यौं, टिम मालिकले फर्म भरेर १६ जनाबाट छानिएर ८ जना छनोट हुनुभयो । त्यसमा पनि उहाँहरू आफैले चाहेको फ्रेन्चाइजमा मूल्य तोकेर बढी मूल्य तिर्नेले टिम पाउनुभएको थियो ।
त्यसपछि क्यानले कमर्सियल अधिकारका लागि पनि आरएफपी निकालेपछि एजेन्सीहरूले आफ्नो फर्म भरेर कमर्सियल राइट्स पनि पाउनुभयो । साथै क्यानले पनि यस पालि मार्की खेलाडीहरूलाई कसरी विभाजन गर्ने भन्नेमा पनि फ्रेन्चाइजकै मालिकहरूलाई बोलाएर गोलाप्रथामार्फत बाँडेको थियो । शुरुआतदेखि नै हामीले सबै कुरा पारदर्शी हिसाबले नै गरेका थियौं ।
एनपिएलमा लगानी गर्न प्रायोजकहरूलाई जोड्नुपर्छ भन्ने कुरामा चाहिँ हामीले पहिलेदेखि नै उनीहरूलाई तपाईंहरूले आफ्नो व्यापारको पृष्ठभूमि र क्षमता अनुसार निश्चित रकम खर्च गर्नुपर्छ र त्यो खर्च गर्न कम्तीमा पनि ३ देखि ४ वर्षका लागि तयार रहनुपर्छ भनेर पहिले नै प्रस्ट जानकारी गराएका थियौं । त्यसका लागि हामीले टिम मालिकहरूलाई पनि नेपाल क्रिकेटको विगत ३० वर्षदेखिको योगदान पहिचान गरेर खेल क्षेत्रमा लगानीका लागि आग्रह गरेका थियौं । यसको व्यापारिक पाटो पनि छ, जसले हामीलाई भविष्यमा नाफा पनि दिन्छ भन्ने खालको विश्वास दिलाएका थियौं । त्यसकारण टिम मालिकहरू ३ देखि ४ वर्षसम्मका लागि निर्धक्कसँग लगानी गर्ने सोचमा पुगे । एउटा टिमको खर्च ५ देखि ७ करोडसम्म भएको टिम मालिकहरूले क्यानलाई जानकारी गराएका छन् ।
यी सबै कुरा जोडेर हेर्दा नेपाली क्रिकेट, जसले दुईपटक विश्वकप खेलिसक्यो । पुरुष र महिला एशिया कपका साथै महिला यु १९ विश्वकप पनि खेल्यो । २०२७ मा महिला यु १९ को विश्वकपको आयोजनाका लागि सहआयोजक छौं, ओडिआई मान्यता पनि जोगाएका छौं । यस्तो खालको खेलमा यति ठूलो लगानी भएको छ । त्यसकारण एनपिएलले कति पैसा कमायो भन्दा पनि नेपाल क्रिकेटले विश्वस्तरमा नेपाललाई चिनाउन सक्यो । यसमा आज लगानीकर्ताहरू जुन हिसाबले आउनुभएको छ, त्यसका लागि हामी निकै आभारी पनि छौं । यसपालि जति आम्दानी भयो, त्यसलाई बचाएर राख्नेभन्दा पनि पुनः क्रिकेटकै लागि खर्च गर्ने योजनामा छौं ।
नेपालको खेल क्षेत्रमा अहिलेसम्मकै ठूलो खर्च हुनु महत्त्वपूर्ण हो । क्यानको आफ्नो खर्च १५ देखि २० करोड भएको हो । आगामी दिनमा यो प्रतियोगितालाई कसरी निरन्तरता दिने भन्नेमा हामी केन्द्रित छौं ।
एनपिएल एक अर्ब रुपैयाँको ब्रान्ड भन्ने चर्चा छ । यो चित्रण ठीक हो ? यो ब्रान्ड भ्यालु कुन हदसम्म बढ्ला ?
२०१४ मा नेपाल विश्वकप पुग्नुको मूल्य कति हो भनेर मेरो पनि प्रश्न छ सबैलाई । अनि २०२४ मा नेपालले अमेरिकाको डालसमा ८ हजार नेपाली समर्थकका बीचमा क्रिकेट खेल्नुको मूल्य कति त ? कीर्तिपुरको रंगशालामा दिनभर समर्थकले क्रिकेट हेर्नुको मूल्य कति ? मान्छेले यसलाई आ–आफ्नो हिसाबले टीकाटिप्पणी गरेका छन् । यद्यपि एनपिएलले खेलकुद क्षेत्रमा पनि लगानी गर्नुपर्छ भन्ने देखाएको छ । हामी पहिलो प्रयासमा सबैको ध्यानाकर्षण गर्न सफल भएका छौं ।
तर, त्यो ध्यानाकर्षणसँगै यसको निरन्तरतामा पनि हामी केन्द्रित हुनु जरुरी छ । कुनै पनि कुरा शुरुआत गर्न सजिलो छ, तर निरन्तरता दिइरहन गाह्रो छ । त्यसकारण नेपाल क्रिकेटको ब्राण्ड भ्यालु कति हो भन्ने यकिन अंक मसँग छैन । तर, हाम्रा खेलाडी, प्रशिक्षक र सम्पूर्ण सरोकारवालाको विगत तीस वर्षको योगदान हेर्ने हो भने यसमा हजारौं करोडको लगानी भइसकेको छ ।
टिमहरूले पनि यसमा दिल खोलेर लगानी गरेका छन् । अब चाहिँ अन्तरराष्ट्रिय ब्राण्डले पनि यसमा लगानी गर्ने इच्छा देखाएका छन् वा के छ अवस्था ?
उहाँहरूको इच्छा त ठूलो छ । हामीले पनि अर्को संस्करण कसरी गर्ने भन्ने सन्दर्भमा सरोकारवालासँग समन्वय शुरू गरिसकेका छौं । भोलिका दिनमा हामीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डहरू एनपिएलमा ल्याउन सक्यौं भने, आर्थिक रूपमा क्यान सक्षम भएमा, कमाएको जति पनि पैसा छ, त्यसलाई सबै जिल्ला र प्रदेशमा बाँडफाँड गरेर जिल्ला स्तरबाटै क्रिकेटलाई व्यावसायिक बनाएर अगाडि बढ्ने योजना छ । आगामी दिनमा पूर्वाधारहरूमा पनि केन्द्रित हुने छौं ।
अहिले एनपिएलमा आठओटा टिम छन् । यसमा थप हुने सम्भावना कति छ ?
अहिले टिमको स्वामित्व लिन धेरैको ध्यान छ । टिम थपिन्छ वा थपिँदैन भन्नेतर्फ पनि धेरैको चासो छ । तर, टिम थप्न अझै ४ देखि ५ वर्ष लाग्न सक्छ ।
नेपालको क्रिकेट अब आन्तरिक स्रोतबाट चल्न सक्ने धारणा राख्नुभएको छ । अब आइसीसीले रकम नदिए पनि नेपाल क्रिकेट चल्न सक्ने अवस्थामा पुगेको हो ?
जति धेरै स्रोत भयो, त्यति धेरै काम हुने हो । तर, आइसीसीले दिने स्रोतको कुरामा हामीले अन्तरराष्ट्रियस्तरमा जति राम्रो गर्न सक्यौं, त्यो ग्रेडिङको हिसाबले थपिने हो । आइसीसीको अनुदान एक ठाउँमा छँदै छ, हामी आत्मनिर्भर भएर अघि बढ्ने सपना देखेका छौं । भविष्यमा नेपाल आइसीसीको पूर्ण सदस्य बन्ने वा टेस्ट खेल पनि खेल्ने राष्ट्रको रूपमा पुगोस् भन्ने सपना छ ।
नेपाली क्रिकेट त्यो दिन बलियो हुन्छ, जुन दिन जिल्ला र प्रदेशबाट खेल्ने खेलाडीलाई समेत आत्मनिर्भर बनाउन सक्छौं । आशा गरौं, भोलिका दिनमा हामी क्रिकेट पर्यटन पनि विकास गर्न सक्छौं ।
भुइँ तहबाटै क्रिकेटको विकास गर्नुपर्छ भन्नुभयो । एनपिएलमा पनि भुइँ तहबाटै खोजेर ल्याइएका केही खेलाडीले राम्रो प्रदर्शन पनि गरे । अबका दिनमा ‘ग्रासरुट’ क्रिकेटको विकास गर्न टिमहरूसँग कसरी पार्टनरसिप भइरहेको छ ?
टिम मालिकहरूलाई हामीले भविष्यमा उहाँहरूले आफ्नै एउटा क्रिकेट एकेडेमी स्थापना गर्नुपर्छ भन्ने शर्त राखेका छौं । यसमा फ्रेन्चाइजहरूले जिल्ला, प्रदेशहरूलाई पनि समन्वय गरेर काम गर्नुपर्नेछ । क्यानको सबैभन्दा बलियो पक्ष के हो भने हामी जिल्ला, प्रदेश हुँदै संघीय तहमा केन्द्रित छौं । त्यसकारण फ्रेन्चाइजहरूले तीनओटै तहमा समन्वय गरेर ती स्थानमा ससाना भाइबहिनीलाई क्रिकेट सिकाउने र राष्ट्रिय स्तरसम्म आउने वातावरण बनाउनुपर्छ ।
अहिले एनपिएलमा ठूलो लगानी भएको छ । तर, यसलाई दीर्घकालीन रूपमा लैजान निरन्तर लगानी आवश्यक छ । त्यसका लागि आधारहरू के के छन् ?
खेलकुद क्षेत्रमा यति धेरै लगानी कसरी भयो भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ । तर यस क्षेत्रमा किन लगानी गर्नुपर्छ भने हामीले विश्व इतिहासको कुरा गर्यौं भने आर्थिक समृद्धि हासिल गरेका राज्यहरूले खेल संस्कृतिमा व्यापक लगानी गरेको देखिन्छ । किनभने यसले सबैलाई समेट्छ । खेलको कुनै भाषा, रङ वा रूप पनि हुँदैन । अमेरिका, युरोप, पाकिस्तान, भारत लगायतका देशलाई हामी उदाहरणका रूपमा लिन सक्छौं । भारतकै कुरा गर्दा पनि भारतले खेल क्षेत्रमा ठूलो लगानी गरेको छ । त्यसकारण अहिले नेपाल क्रिकेटमा भएका लगानीको समर्थन गर्नुपर्छ । आजको दिनमा पनि राज्यको तर्फबाट त्यति धेरै लगानी छैन, त्यसकारण सरकारले त्यसतर्फ ध्यान दिनु जरुरी छ ।
एनपिएल स्टार स्पोर्ट्सबाट प्रसारण हुँदा त्यसको प्रभाव अन्तरराष्ट्रिय बजारमा कस्तो भएको पाउनुभएको छ ?
हामीले विश्वकप र एशिया कप खेल्दा वा थोरैपटक मात्र त्यो प्लेटफर्ममा आफ्नो खेल देखाएका थियौं । तर, अहिले हाम्रो आफ्नै आन्तरिक खेल पनि उक्त च्यानलमार्फत देखाउन पायौं । त्यसले नेपाली क्रिकेट विश्वसामु चिनिन पायो । स्टार स्पोर्ट्सले पनि नेपालमा क्रिकेटको क्रेज कति रहेछ भनेर लाइभ देखाउन हामीलाई साथ दियो ।
पूर्वाधार विकासका लागि के कस्तो तयारी भइरहेको छ ?
क्यान आफैले पूर्वाधार बनाउन सक्षम छैन । यसमा सिंगो सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् लाग्नुपर्छ । अहिले पनि मूलपानी, चितवनमा रंगशाला बन्दै छ, त्रिभुवन विश्वविद्यालयको पनि गर्ने कुरा छ । सम्बन्धित निकायमा हामीले पहल गरिरहेका छौं । अहिले सरकारको प्रमुख योजनामा क्रिकेट पूर्वाधार पनि छ । वर्तमान सरकारको पहिलो निर्णय नै ३ सय दिनमा त्रिभुवन विश्वविद्यालय परिसरको क्रिकेट मैदानको स्तरोन्नति गर्ने भन्ने थियो । गर्नुपर्ने काम धेरै छन् । त्यसकारण सबै मिलेर बनाउनुपर्छ ।
एनपिएलको क्रममा हाम्रा खेलाडीले राम्रो आम्दानी पनि गरे । अब नेपालमा क्रिकेट खेलेर पनि बाँच्न सकिन्छ भन्ने आधार तयार भएको हो वा अझै हुन बाँकी छ ?
राष्ट्रिय टिमका मुख्य खेलाडीलाई एउटा बलियो आधार बनेको छ । तर, कति पैसाले चाहिँ जीवन सुरक्षित हुन्छ भन्ने मूल्यांकन र कति पैसा हुँदा जीवन चल्छ भन्ने जवाफ त कसैसँग पनि छैन । यद्यपि खेलाडीहरूले गरेको योगदान र लगावका कारण केही राष्ट्रिय खेलाडीलाई हामीले राम्रै पैसा दिन सकेका छौं । साथै एनपिएलमा पनि २ देखि १५, २० लाखसम्म पाउन पनि हाम्रा खेलाडी सफल भएका छन् । भोलिका दिनमा क्यान बलियो भयो भने जिल्ला स्तरसम्मका खेलाडीको पनि भविष्य सुरक्षित हुन सक्ने बाटो खुला भएको छ ।
महिला क्रिकेटका लागि पनि एनपिएल जस्तै लिग गर्ने योजना छ ?
महिला क्रिकेटरलाई अहिले पनि बढीभन्दा बढी एक्सपोजरको खाँचो छ । हामीले त्यसको प्रयास गरिरहेका छौं । महिला यु १९ टिमले पनि हामीलाई धेरै आशा जगाएको छ । तर, अहिलेका लागि हामीले त्यस्तो लिगबारे सोचेका छैनौं ।
महिला र पुरुष क्रिकेटलाई एउटै हैसियतमा ल्याउनुपर्ने जरुरी पनि छ । किनभने भोलिको दिनमा आइसीसीको पूर्ण सदस्य बन्ने र टेस्ट राष्ट्र बन्ने हाम्रो जुन योजना छ, त्यसमा पुरुष क्रिकेटको मात्र नभई महिला क्रिकेटको पनि अवस्था हेरिन्छ ।
एनपिएल जुन रूपमा सफल भयो, यसले अरू खेललाई पनि पाठ हुन सक्छ ?
प्रतियोगिता गर्न सबैलाई अवसर छ । एनपिएलमा आठओटा टिम छन् । तर यसमा पूरै देश जोडिएको छ । खेल संस्कृतिको विकास गर्न हामी धेरै वर्षदेखि संघर्ष गरिरहेका छौं । म यस ठाउँमा जन्मिएँ, यो मेरो टिम हो र म कुनै प्रदेशमा नजन्मिए पनि मेरो कर्मभूमि चाहिँ त्यो ठाउँमा छ भन्ने खालको छ । कुनै टिम प्रदेशका नाममा र कुनै शहरका नाममा छन् । त्यसैले यो हाम्रो खेल संस्कृति विकास गर्ने एउटा प्रयास हो । आफ्नो टिमलाई समर्थन गरेर आफ्नो ठाउँको टिमलाई बलियो बनाउने आधारले भोलि खेल संस्कृतिको विकास हुन्छ, जुन सबैलाई एक ठाउँमा बाँध्ने सूत्र बन्न सक्छ । यसैगरी अन्य खेललाई पनि राज्यले साथ दिनुपर्छ । अन्य खेलले एनपिएलबाट वा क्रिकेटबाट सिक्नुपर्छ भन्दा पनि सबैले आआफ्नो क्षेत्रबाट काम गर्नुपर्यो । सबैले आफ्नो नियम, कानून र क्षमता अनुसार काम गर्नुपर्छ । म आफू क्रिकेट खेलेरै आएको हुनाले मेरो लक्ष्य नेपाल क्रिकेटलाई अघि बढाउनु हो ।