सामूहिक लगानीकोष योजना (म्युचुअल फण्ड) व्यवस्थापनमा एक दशकको अनुभव बटुलिसकेको एनएमबि क्यापिटल लिमिटेडले थप एक योजना सञ्चालनको तयारी गरिरहेको छ । यसअघि खुला र बन्दमुखी प्रकृतिका योजना सञ्चालन गरिसकेको क्यापिटलले बन्दमुखी प्रकृतिको अर्को योजना सञ्चालनको तयारी गरेको हो । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यले सञ्चालनमा आउन लागेको नयाँ योजनाको सन्दर्भमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्य सँग आर्थिक अभियानकी प्रजिता बुढाथोकी ले गरेको कुराकानीको सार :
एनएमबि हाईब्रिड फण्ड एल–२ कस्तो योजना हो ?
एनएमबि हार्ईब्रिड फण्ड एल–२ एनएमबि क्यापिटलको छैटौं योजना हो । एनएमबि हार्ईब्रिड फण्ड एल–२ एक अर्ब २० करोडको आकार भएको बन्दमुखी प्रकृतिको दशवर्षेे योजना हो । हार्ईब्रिड फण्ड यस्तो योजना हो, जसले इक्विटी र स्थिर आय उपकरणमा निर्धारित अनुपातमा लगानी गर्दछ । यसरी गरिएको लगानीमा पोर्टफोलियो विविधीकरण हुन्छ । एकातर्फ इक्विटीमा गरिएको लगानीले पूँजीगत लाभ प्रदान गर्दछ भने अर्कोतर्फ स्थिर आय उपकरणमा गरिएको लगानीले निरन्तर आम्दानी प्रदान गर्दछ, जसअनुसार योजनाको नाम अनुरूप नै पोर्टफोलियोलाई सन्तुलनमा राखेर शेयर बजारको उतारचढाव हुँदा पनि हाईब्रिड योजनाले राम्रै प्रदर्शन गर्दछ ।
यो योजनाले खुद सम्पत्तिको न्यूनतम ३० प्रतिशतदेखि ६५ प्रतिशतसम्म इक्विटीमा लगानी गर्नेछ भने खुद सम्पत्तिको न्यूनतम २० प्रतिशतदेखि ६५ प्रतिशतसम्म स्थिर आम्दानी हुने उपकरणहरू, जस्तै– मुद्दती निक्षेप, ऋणपत्र, बण्ड, ट्रेजरी बिल आदिमा लगानी गर्नेछ । यो योजना नेपालको म्युचुअल फण्डको इतिहासकै दोस्रो हार्ईब्रिड फण्ड हो । पहिलो, एनएमबि हार्ईब्रिड फण्ड एल–१ थियो, जुन २०७३ देखि २०८० कात्तिकसम्म सञ्चालनमा रह्यो । ७ वर्ष सञ्चालनमा रहेको उक्त योजना लगानीकर्तालाई समग्र बजारको भन्दा बढी प्रतिफल दिन सफल भयो । माघ २४ गतेदेखि निष्कासन हुने योजना एनएमबि हार्ईब्रिड फण्ड एल–१ कै दोस्रो संस्करणको रूपमा ल्याइएको हो ।
एनएमबि हार्ईब्रिड फण्ड एल–२ योजनामा किन लगानी गर्ने ? यसबाट लगानीकर्ताले पाउने प्रतिफलको प्रक्षेपण कस्तो छ ?
हाल सञ्चालित ४४ सामूहिक लगानी याजनामध्ये ४३ ओटा इक्विटी फण्ड हुन् भने एउटा डेब्ट फण्ड रहेको छ, जसले गर्दा एनएमबि हार्ईब्रिड फण्ड एल–२ एक मात्र हार्ईब्रिड फण्ड हुनेछ । मुद्दती निक्षेपमा भन्दा बढी प्रतिफल चाहने, तर इक्विटी फण्डसँग जोडिएको सम्पूर्ण जोखिम लिन नचाहने लगानीकर्ताका लागि उपयुक्त विकल्प हुन्छ । इक्विटी फण्डले अधिकांश लगानी इक्विटीमा गर्ने भएकाले उच्च प्रतिफलको सम्भावना बोकेको भए तापनि बजार अस्थिरताको समयमा नकारात्मक पक्षको जोखिम पनि तुलनात्मक रूपमा बढी हुने गर्छ । अर्कोतर्फ, डेब्ट फण्डले स्थिर आय उपकरणहरू मुख्यत: मुद्दती निक्षेप, ऋणपत्रहरूमा लगानी गर्ने भएकाले प्रतिफल कम रहने गर्दछ । यद्यपि बजारको उतारचढावका नकारात्मक पक्षको जोखिम पनि कम रहने गर्दछ । त्यसैले, हाईब्रिड फण्डले इक्विटी र स्थिर आय उपकरणमा लगभग सामान अनुपातमा लगानी गर्ने भएकाले इक्विटी फण्ड र डेब्ट फण्डले बोक्ने नकारात्मक पक्षको जोखिमलाई सन्तुलित गरी सोही अनुरूप प्रतिफल प्रदान गर्दछ । त्यसैले तुलनात्मक रूपमा कम जोखिम लिन खोज्ने, स्थिर प्रतिफल र पूँजी वृद्धि चाहने लगानीकर्ताका लागि यो उपयुक्त लगानी हुन सक्छ ।
त्यसैगरी एनएमबि क्यापिटल जस्तो दक्ष र अनुभवी योजना व्यवस्थापकद्वारा व्यवस्थापन हुने हुँदा योजनाको उद्देश्य अनुसार लगानी हुनेमा लगानीकर्ता ढुक्क हुन सक्नुहुन्छ । एनएमबि क्यापिटलसँग म्युचुअल फण्डको सफल व्यवस्थापनको १० वर्षभन्दा बढीको अनुभव छ । त्यसैगरी हालसम्म पाँचओटा म्युचुअल फण्ड सञ्चालन गरेको र रू. ५ अर्बभन्दा बढीको लगानी व्यवस्थापन गरिरहेको अनुभव छ । एनएमबि क्यापिटल लिमिटेडले इक्रा नेपालको मूल्यांकनपश्चात् ‘इक्राएनपी एएमसीक्वालिटी २’ को उच्च रेटिङ प्राप्त गरेको छ, जसले ‘हाई अस्योरेन्स अन द म्यानेजमेन्ट क्वालिटी’ जनाउँदछ । यो रेटिङ नेपाली योजना व्यवस्थापकहरूले प्राप्त गरेका रेटिङहरूमध्ये उत्कृष्ट हो, जुन एनएमबि क्यापिटलले विगत तीन वर्षदेखि प्राप्त गरेको छ ।
एनएमबि क्यापिटलले विगतमा सञ्चालन गरेका योजनाहरूले उत्कृष्ट प्रतिफल दिएका छन् । एनएमबि क्यापिटल लिमिटेडले सञ्चालन गरेको दुईओटा योजनाहरू एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबि हार्ईब्रिड फण्ड एल–१ क्रमश: सन् २०१९ र २०२३ मा परिपक्व भयो । यी योजनाहरूले उत्कृष्ट प्रदर्शन गरी समग्र बजारभन्दा बढी प्रतिफल दिएको थियो । हाल एनएमबि क्यापिटल लिमिटेडद्वारा सञ्चालनमा रहेका तीन सामूहिक लगानी कोषले पनि निरन्तर रूपमा राम्रो प्रतिफल दिएका छन् ।
बजारमा उपलब्ध लगानीका विकल्पहरूभन्दा फरक भएकाले यस योजनाको ‘रिस्क/रिटर्न प्रोफाइल’ पनि फरक हुँदा यस योजनामा लगानी गरी आफ्नो समग्र पोर्टफोलियोको विविधीकरण गरी समग्र पोर्टफोलियोको जोखिम कम गर्न सकिन्छ ।
यस योजना दोस्रो बजारमा सूचीकरण हुने भएकाले यसमा गरिएको लगानीलाई जुनसुकै बेला दोस्रो बजारमा कायम रहेको मूल्यमा कारोबार गरी सजिलै नगदमा परिणत गर्न सकिन्छ । यी कारणले कम जोखिममा लगानी खोज्ने लगानीकर्ताका लागि एनएमबि हार्ईब्रिड फण्ड एल–२ उत्कृष्ट लगानी हुन सक्छ ।
एनएमबि हार्ईब्रिड फण्ड एल–२ को पहिलो वर्ष लगानी वर्षको रूपमा प्रक्षेपण गरिएको छ । यस अवधिमा योजनाको रकम लगानी गरिनेछ । त्यसपछि निरन्तर रूपमा आठ वर्षमा कुल ११० प्रतिशत नगद लाभांश दिन सकिने र अन्तिम वर्षमा ७७ दशमलव ४ प्रतिशत पूँजीगत लाभसहित प्रतिइकार्ई रू १७.७४ फिर्ता गर्न सकिने प्रक्षेपण गरिएको छ । समग्रमा यो योजनाले औसतमा १४ दशमलव ६ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ । यद्यपि भविष्यमा दिने यस्तो लाभांश र प्रतिफल बजारको परिस्थितिले प्रक्षेपितभन्दा फरक हुन सक्छ ।
यसअघि एनएमबि क्यापिटल अन्तर्गत कतिओटा म्युचुअल फण्ड सञ्चालनमा छन् ? ती फण्डहरूको अवस्था कस्तो छ ?
एनएमबि म्युचुअल फण्ड हाल तीन योजना सञ्चालनमा छन् । हाम्रो सबै योजनाहरू भिन्न बजार परिस्थितिमा योजनाबद्ध रूपले कार्यान्वयन गर्न ल्याइएका योजना हुन् । एनएमबि फिफ्टी– एनएमबि म्युचुअल फण्ड अन्तर्गतको तेस्रो म्युचुअल फण्ड योजना हो । यस योजनाको नामअनुरूप नै यस योजनाले नेपाल स्टक एक्सचेञ्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वा सोभन्दा कम शेयरहरू आफ्नो पोर्टफोलियोमा समावेश गर्दछ । यस योजना एउटा ‘ग्रोथ स्किम– फोकस्ड इन मेक्सिमाइजिङ इक्विटी रिटर्न’ प्रकारको योजना रहेकाले योजनाको प्राथमिक उद्देश्य बजारमा अवमूल्यन भएका र पूँजी लाभको सम्भावना प्रदर्शित गर्ने कम्पनीहरूमा लगानी गरी उच्चतम प्रतिफल हासिल गर्नेे रहेको छ । २०८१ पुस १९ गते योजनाको खुद सम्पत्ति मूल्य (एनएभि) ११ रुपैयाँ २१ पैसा कायम छ । योजनाको इकाई बाँडफाँट हुँदा ११९६ विन्दु रहेको नेप्से सूचकांकमा ११६ प्रतिशत वृद्धि भई २०८१ पुस १९ गते २५८६ विन्दु कायम भएको छ भने सोही अवधिमा योजनाको खुद सम्पत्ति मूल्य (लाभांश समायोजन सहित)मा १०३ प्रतिशतले बढेको छ । विगतका वर्षहरू आव २०७६/७७, आव २०७७/७८, आव २०७८/७९, आव २०७९/८०, आव २०८०/८१ मा क्रमश: ५ प्रतिशत, ३० प्रतिशत, २१ प्रतिशत, १५ प्रतिशत र १५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत चौथो म्युचुअल फण्ड योजना र प्रथम खुलामुखी योजना– एनएमबि सरल बचत फण्ड–ई रहेको छ । यस योजना पनि ग्रोथ स्किम प्रकारको योजना रहेकाले मुख्यत: लगानी इक्विटीमा छ । यस योजनाको प्राथमिक उद्देश्य बजारमा अवमूल्यन भएका शेयरहरूमा लगानी गरी सो शेयरहरूको मूल्यमा भ्यालू प्रदर्शित नभएसम्म होल्ड गरी उच्चतम प्रतिफल हासिल गर्नेे रहेको छ । यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहने र बजारमा रहने अस्थायी अस्थिरताको प्रभाव हटाई दीर्घकालीन प्रतिबद्धतामा फोकस गर्ने रहेको छ । यस योजनाको २०८१ पुस १९ गते खुद सम्पत्ति मूल्य (एनएभि) १० रुपैयाँ ३३ पैसा कायम छ । योजनाको इकाई बाँडफाँट हुँदा २७१२.०७ विन्दु रहेको नेप्से सूचांकमा ५ प्रतिशत प्रतिशतको कमी आई २०८१ पुस १९ गते २५८६.२३ विन्दु कायम भएको छ भने सोही अवधिमा योजनाको खुद सम्पत्ति मूल्य (एनएभि) मा ३ प्रतिशतले वृद्धि भएको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ एक इक्विटीमा लगानी गर्ने फण्ड हो, जसले सूचीकृत कम्पनीहरूमध्ये अध्ययनबाट देखिएको उत्कृष्ट प्रतिफल दिने कम्पनीहरूमा उचित मूल्यमा लगानी गर्छ । आर्जित प्रतिफलबाट यस कोषको लगानीकर्तालाई क्रमिक लाभांश प्रदान गर्ने तथा बाँकी प्रतिफललाई पुन: लगानी गरी योजना परिपक्व हुने समयमा आकर्षक प्र्रतिफल सहित एकमुष्ट रकम फिर्ता गर्ने उद्देश्य लिएको छ । २०८१ पुस १९ गते योजनाको खुद सम्पत्ति मूल्य (एनएभि) १२ रुपैयाँ ०७ पैसा कायम रहेको छ । योजनाको इकाई बाँडफाँट हुँदा १९९५.३४ विन्दु रहेको नेप्से सूचकांकमा ३० प्रतिशतको वृद्धि भई २०८१ पुस १९ गते २५८६.२३ विन्दु कायम भएको छ भने सोही अवधिमा योजनाको खुद सम्पत्ति मूल्य (लाभांश समायोजनसहित)मा ३१ प्रतिशतले वृद्धि भएको छ । योजनाले आव २०८०/८१ मा १० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
यस १० वर्षको म्युचुअल फण्ड सञ्चालनको अवधिमा एनएमबि म्युचुअल फण्डले वार्षिक प्रतिफल १४ दशमलव ५ प्रतिशत हासिल गर्न सफल भएको छ भने सोही अवधिमा पूँजी बजार र समग्र म्युचुअल फण्डहरूले क्रमश: १० दशमलव ६ प्रतिशत र औसत १२ दशमलव ६ प्रतिशत प्रतिफल हासिल गरेको छ ।
एनएमबि क्यापिटलले यसअघि पनि बन्दमुखी र खुलामुखी प्रकृतिका योजना सञ्चालन गरिरहँदा थप योजना किन आवश्यक ठान्यो ?
एनएमबि क्यापिटलले हाल तीन योजना सञ्चालन गरिरहेको छ । एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबि सरल बचत फण्ड–ई तीनओटै इक्विटी फण्ड हुन्, जसले आफ्नो अधिकांश लगानी इक्विटीमा गर्ने उद्देश्य रहेको हुन्छ । हाल बजारमा सञ्चालनमा रहेका ४४ मध्ये ४३ ओटा इक्विटी फण्ड नै हुन् । निष्कासन हुने एनएमबि हार्ईब्रिड फण्ड एल–२ एक फरकखाले योजना हो, जसले फरक खाले लगानीकर्ताहरूलाई आकर्षित गर्दछ । सामान्यतया इक्विटी फण्डमा तुलनात्मक रूपमा प्रतिफल तथा जोखिम पनि बढी हुने भएकाले सो अनुसार जोखिम लिन नचाहने लगानीकर्तालाई इक्विटी फण्ड उचित नहुन सक्छ । यस्ता लगानीकर्तालाई लक्षित गरी एनएमबि हार्ईब्रिड फण्ड एल–२ माघ २४ गतेदेखि निष्कासन गर्न लागेका हौं ।
यसैगरी एनएमबि क्यापिटलले व्यवस्थापन गरेको पहिलो हार्ईब्रिड फण्ड एनएमबि हार्ईब्रिड फण्ड एल–१२०८० कात्तिकमा परिपक्व भयो । ७ वर्ष सञ्चालनमा उक्त योजनाले आफ्ना लगानीकर्तालाई समग्र बजारभन्दा बढी प्रतिफल दिन सफल भयो । उक्त योजनाको सफलताले एनएमबि हार्ईब्रिड फण्ड एल–१ कै दोस्रो संस्करणको रूपमा एनएमबि हार्ईब्रिड फण्ड एल–२ ल्याउन आवश्यक देख्यौं ।
योजना व्यवस्थापनलाई बलियो बनाउन क्यापिटलले कस्तो टिमको विकास गरेको छ ?
एनएमबि क्यापिटलले शुरुआतदेखि नै बलियो टिम निर्माणलाई प्राथमिकतामा राखेको छ । हालमा यस क्षेत्र अझ बढी प्रतिस्पर्धात्मक बन्दै गएको र यसै क्षेत्रमा करियर बनाउन इच्छुक व्यक्तिको संख्या पनि तुलनात्मक रूपमा बढेकाले टिमको विकासका लागि कम्पनीले थप अवसर प्रदान गरिरहेको छ । प्रथमत: अनुशासित र विवेकपूर्ण लगानी नै उच्च प्रतिफलका लागि अपरिहार्य दुई पाटा हुन् भन्ने एनएमबि क्यापिटल लिमिटेडको विश्वास छ । टिमको अनुसन्धान र विश्लेषणात्मक शीपका साथै लगानी रणनीतिको विकासका लागि बैठक बसेर पूँजीबजारको विद्यमान अवस्था, यसको प्रवृत्ति र प्रकृति तथा बजार संरचनाको गहिरो अध्ययन, अनुसन्धान तथा विश्लेषण, आर्थिक सूचकहरूको अध्ययन, नीति नियममा परिवर्तन, अर्थव्यवस्थाबारे छलफल भइरहन्छ । यस कम्पनीले जोखिम मूल्यांकन गर्न सक्ने, डेटा विश्लेषण गर्न सक्ने, धितोपत्रहरूको गहिरो बुझाइ राखेर लगानी व्यवस्थापन गर्न सक्ने र कुशल लगानी निर्णय लिन सक्ने शीपहरू भएका व्यक्तिलाई आफ्नो टीममा समावेश गरेको छ । सो शीपहरूको थप विकासका लागि समय समयमा तालीम प्रदान गर्ने कार्यमा पनि जोड दिएको छ ।
लगानीलाई व्यवस्थापन गर्न जति विश्लेषणात्मक क्षमताको खाँचो हुन्छ, त्यति नै ‘बिहेभियरियल स्ट्रेन्थ’को पनि खाँचो हुन्छ । हल्लाको पछि नलाग्न, चाहिएको समयमा समग्र बजारको भन्दा फरक लगानीको रणनीति लिन, अरूको भन्दा फरक मत राख्न आफ्ना टीमलाई प्रोत्साहन गरिरहेका हुन्छौं । एनएमबि क्यापिटलले नयाँ कुरा सिक्ने र सिकाउने वातावरण सृजनामा सधैं ध्यान केन्द्रित गरेको छ, जहाँ जो कोहीले जो कोहीसँग आवश्यक कुरा सोध्न र सिक्न सक्छन् ।
आम सर्वसाधारणमा म्युचुअल फण्डका बारेमा अझै पनि कम बुझाइ छ । यस्ता फण्डको बारेमा जानकारी बढाउन एनएमबि क्यापिटल अन्तर्गत के कस्ता काम भइरहेका छन् ?
अन्तरराष्ट्रिय बजारको तुलनामा नेपालको म्युचुअल फण्डको इतिहास निकै कम हो । त्यसैले आम सर्वसाधारणमा म्युचुअल फण्डको बारेमा बुझाइ कम रहनु स्वाभाविक नै हो । यद्यपि विगत केही वर्षयता आम सर्वसाधारणमा म्युचुअल फण्डप्रतिको जिज्ञासा निकै बढेको पाउँछौं । खुलामूखी योजना र यस्ता योजनामा लगानी गर्ने एसआईपीको आगमनले पनि म्युचुअल फण्डप्रतिको जिज्ञासा बढाउन सहयोग पुर्याएको छ । ३–४ वर्ष अगाडि म्युचुअल फण्डको एनएफओमा पचास हजारभन्दा कमले आवेदन दिने गरेकोमा अहिले लगभग एक लाख आवेदन आएको पाउँछौं । त्यसैगरी एक लाखभन्दा बढी एसआईपी लगानीकर्ताले खुलामुखी योजनामार्फत म्युचुअल फण्डमा दैनिक रू. एक करोडभन्दा बढी लगानी गरिरहेका छन् । यसरी नै आम सर्वसाधारणमा म्युचुअल फण्डसम्बन्धी सचेतना गराउन एनएमबि क्यापिटलले विभिन्न तवरले योगदान गरिरहेको छ । उदाहरणका लागि प्रत्येक वर्ष वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । यस्तो कार्यक्रम गाउँ, शहर, विद्यालय, कलेज, सरकारी तथा गैरसरकारी संघसंस्थाहरूमा गर्ने गरेका छौं । केही समयदेखि फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गरी आम सर्वसाधारणमा म्युचुअल फण्डसँग सम्बन्धित विषयहरू, जस्तै– एसआईपी, विभिन्न म्युचुअल फण्डका विशेषता, म्युचुअल फण्ड लगानीमा हुन सक्ने जोखिमहरू, लगानी गर्दा ध्यान दिनुपर्ने विषयबारे सरल भाषामा बुझाउन जानकारीमूलक भिडियो सामग्री प्रकाशन गरेका छौं ।
नेपालमा खुला र बन्दमुखी गरी करीब तीन दर्जन म्युचुअल फण्ड सञ्चालनमा छन् । यी दुई योजनामा के फरक छ ?
मुख्यत: योजनाको अवधिको आधारमा योजनालाई खुलामुखी वा बन्दमुखी भनी विभाजन गरिन्छ । बन्दमुखी योजना केही निश्चित समयावधिका लागि सञ्चालन हुन्छ भने खुलामुखी योजना निरन्तर प्रकृतिको हुन्छ । यस्तो योजनाकोे कुनै परिपक्व हुने मिति हुँदैन । बन्दमुखी योजनाले सञ्चालन अवधि समाप्त भएपछि सम्पूर्ण लगानीलाई नगदमा परिणत गरी इकाईधनीलाई इकाईधनीले धारण गरेको इकाईको अनुपातमा सम्पूर्ण रकम फिर्ता गर्दछ । बन्दमुखी योजनाका इकाईहरू नेप्से जस्तो दोस्रो बजारमा सूचीकरण गरिएको हुन्छ । योजनाको अवधि सकिनु अगावै आफ्नो लगानी बेच्नुपरेमा दोस्रो बजारमार्फत बेच्न सकिन्छ । खुलामुखी योजनाका इकाईहरू कुनै दोस्रो बजारमा सूचीकरण गरिएको हुँदैन । खुलामुखी योजनाका इकाईहरू बेच्नुपरेमा योजना व्यवस्थापक वा तोकिएका वितरकहरूमार्फत स्वत: योजनालाई नै बेच्न सकिन्छ । योजनाले यस्तो इकाईहरू खारेज गरी इकाईधनीलाई सोबापत उक्त दिनका लागि कायम रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्यले हुने रकम फिर्ता गर्दछ । खुलामुखी योजनाको कारोबार प्रतिइकाई खुद सम्पत्ति मूल्यमा हुन्छ भने बन्दमुखी योजनाहरू दोस्रो बजारमा कायम रहेको मूल्यमा हुन्छ ।
बन्दमुखी योजनाले पहिलोपटक सार्वजनिक निष्कासनपश्चात् लगानीकर्ताबाट थप लगानी स्वीकार गर्दैनन् । त्यसैले सञ्चालन अवधिभर बन्दमुखी योजनाको आकार अथवा इकाई संख्या एउटै रहन्छ । तर खुलामुखी योजनाले भने पहिलोपटक सार्वजनिक निष्कासनपश्चात् पनि लगानीकर्ताबाट थप लगानी स्वीकार गर्न सक्दछ । यसरी थप लगानी स्वीकार गर्दा सोबापत योजनाले थप इकाई जारी गर्दछ । उदाहरणका लागि, एनएमबि सरल बचत फण्ड–ई ले पहिलोपटक सार्वजनिक निष्कासन २०७८ सालमा गरेको थियो र रू. ५५ करोड बाँडफाँड गरी योजना सञ्चालनमा आयो । उक्त योजनाले एनएफओपश्चात् पनि लगानीकर्ताबाट थप लगानी स्वीकार्दै पुस २०८१ सम्म आइपुग्दा योजनाको आकार बढेर रू. २ अर्ब ७० करोड पुगेको छ । खुलामुखी योजनामा एसआईपीमार्फत लगानी गर्न सकिन्छ ।
नजिकको देश भारतमा म्युचुअल फण्डमा सर्वसाधारणको आकर्षण बढी देखिन्छ । नेपालमा आईपीओकै रूपमा लिइएको म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण कम हुनुको कारण के हो ?
भारतको म्युचुअल फण्डको क्षेत्रमा सर्वसाधारणको उल्लेख्य सहभागिता देख्न सकिन्छ । सन् १९६४ मा स्थापना भएको म्युचुअल फण्ड सन् २०२४ नोभेम्बरसम्म आइपुग्दा सम्पत्ति व्यवस्थापन भारू ६८ दशमलव शून्य ८ ट्रिलियन पुगेको छ । यस क्षेत्रमा द्रुत वृद्घिको कारक हेर्ने हो भने मुख्यत: बजारको गतिशील प्रकृति र सर्वसाधारणको उल्लेख्य सहभागिता नै हो । खुद्रा लगानीकर्ताको रुचाइएको छनोट इक्विटी फण्ड र एसआईपी नै रहेको देखिन्छ । मासिक एसआईपी योगदान सन् २०२४ नोभेम्बरमा भारू. २५ हजार ३२० करोड पुगेको छ । त्यसमा पनि खुद्रा लगानीकर्ताले रुचाएको इक्विटी फण्डमा प्रवाह बढी रहेको छ । बेन्चमार्क सूचकांक, निफ्टी फिफ्टी र सेन्सेक्समा भएको वृद्घिले पनि म्युचुअल फण्ड अन्तर्गतको इक्विटीमा केन्द्रित फण्डमा आकर्षण बढ्न गएको देख्न सक्छौं । त्यसैले लगानीकर्तामा म्युचुअल फण्डप्रतिको बढ्दो सचेतना, नियमनकारी निकायबाट पारदर्शिता बढाउन र लगानीकर्ताको हित संरक्षणका लागि चालिएका निमायकीय सुधार, म्युचुअल फण्ड अन्तर्गत लगानीका विकल्प, लगानीकर्तासमक्ष पहुँच बढाउन प्रविधि, डिजिटल च्यानल/प्लेटफर्मको प्रयोगका साथै लगानीकर्तामा म्युचुअल फण्डबारे शिक्षा प्रवद्र्घन गर्न गरिएका पहलले भारतमा म्युचुअल फण्डप्रति आकर्षण बढाएको देखिन्छ ।
नेपालको परिवेशमा पनि म्युचुअल फण्डमा लगानीकर्तामा सचेतना बढ्दै गइरहेकाले सहभागिता पनि बढेको देखिन्छ । मुख्यत: खुलामुखी योजनाको प्रवेशसँगै एसआईपी अन्तर्गत इकार्ईधनीहरूको सहभागिता निरन्तर रूपमा बढ्दै गएको छ । सो इकाईधनीले निरन्तर रूपमा लगानी पनि गर्दै आएका छन् । यस क्षेत्रमा उल्लेख्य वृद्घिको सम्भावना छ । आगामी दिनमा नयाँ प्रकारका कोष पनि सञ्चालनमा आई यस व्यवसाय नयाँ उचाइमा पुर्याउने हाम्रो विश्वास छ । म्युचुअल फण्डहरूले लगानीकर्तामा सचेतना बढाउन र म्युचुअल फण्डबारे शिक्षा प्रवद्र्घन गर्न कार्यक्रम आयोजना गरिरहेकाले म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण क्रमिक रूपमा बढ्दै गएको छ ।
थप म्युचुलअ फण्डहरू सञ्चालनमा आउने तयारीमा छन् । विशेषगरी धितोपत्र बजारमा लगानी केन्द्रित हुने यस्ता योजनाको भविष्य कस्तो हुने देख्नुहुन्छ ?
नेपालमा हालका अधिकांश म्युचुअल फण्ड इक्विटीमा केन्द्रित रहे तापनि डेब्ट फण्ड र हार्ईब्रिड फण्ड पनि छन् । आउँदो समयमा म्युचुअल फण्ड अन्तर्गत लगानीका विकल्प विस्तार हुँदै जानेमा विश्वस्त छौं । बुक बिल्डिङ विधिबाट कम्पनीहरू प्राथमिक शेयर निष्कासनमा आउने प्रक्रिया शुरू भइसकेकाले आगामी दिनहरूमा विभिन्न क्षेत्रका थप अरू निजी कम्पनीहरू पब्लिक कम्पनीमा रूपान्तरण भई प्राथमिक शेयर निष्कासनमा आउने देख्न सक्छौं । यसले धितोपत्र बजारमा लगानी केन्द्रित म्युचुलअ फण्डहरूलाई थप क्षेत्रीय विविधीकरण प्रदान गरी लगानीको दायरा फराकिलो बनाउँदै लैजानेछ । समग्रमा म्युचुअल फण्ड १२ वर्षको अवधिमा कुल प्रतिफल र कम्पाउन्डिङ प्रतिफल क्रमश: ५५१ प्रतिशत र १६ दशमलव ९ प्रतिशत दिन सफल भएको छ । सोेही समयावधिभित्र पूँजीबजारले क्रमश: ३९२ प्रतिशत र १४ दशमलव २ प्रतिशत दिन सफल भएको छ । सामूहिक लगानी कोष योजनाहरू बजारको उतारचढाव पार गर्दै उच्च प्रतिफल दिन सफल छन् । आगामी दिनमा यस क्षेत्रमा वृद्घिको सम्भावना उच्च रहेकाले सञ्चालित र सञ्चालनमा आउने योजनाको दायरा अझ फराकिलो हुनेछ ।
धितोपत्र बजारमा म्युचुअल फण्डलाई संस्थागत लगानीकर्ताको रूपमा पनि हेरिन्छ । संस्थागत लगानीकर्ताको रूपमा समेत चिनिने म्युचुअल फण्डका लागि नीतिगत सुधार आवश्यक छ कि ?
नेपालको पूँजी बजारको विकासमा म्युचुअल फण्डले संस्थागत लगानीकर्ताको सफल भूमिका निर्वाह गरिरहेको छ । भविष्यमा बृहत् पूँजी परिचालन गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा प्रत्यक्ष रूपले योगदान पुर्याउनेछ । नेपालको परिवेशमा खुलामुखी योजनाको स्कोप उल्लेख्य रहेको छ । हाल सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९ मा भएको व्यवस्था बमोजिम योजना व्यवस्थापकले योजनाको कुल रकमको कम्तीमा १५ प्रतिशत बीज पूँजी लगानी गर्नुपर्ने व्यवस्था छ । खुलामुखी योजनाको हकमा योजनाको आकार वृद्धिसँगै बीज पूँजी पनि सोही अनुरूप थप गर्दै जानुपर्ने व्यवस्थाले गाह्रो अवस्था सृजना गरेकाले सो व्यवस्था लचिलो भएमा वृद्घिका लागि सहज हुनेछ । साथै नेपालको पूँजी बजारमा लगानीको क्षेत्र र लगानी उपकरणहरू सीमित रहेकाले पूँजी बजारको विकासका लागि नयाँ क्षेत्रका कम्पनी र लगानीका नयाँ उपकरण ल्याउन पनि आवश्यक देखिन्छ ।