काठमाडौं । यहाँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ ।
बजार मूल्य रु ४७ करोड ७५ लाख भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई रु १८ करोड ९४ लाख १८ हजार चार सय ४८ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी रु कुल २३ करोड २२ लाख २७ हजार मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा रु दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रकम जम्मा गरेको पाइएको छ । यस्तै, रु ६ करोड ८२ लाख बराबरको जग्गा र वैवाहिक भोज गर्दा रु २४ लाख ७२ हजार छ सय ३७ बराबरको रकम समेत पद्या कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
आयोगले रु नौ करोड २२ लाख ४६ हजार ३२ बराबरको बिगो दाबी गर्दै नगरप्रमुख बस्नेत, निजको श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेलविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, निजको श्रीमती उर्मिला र पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध रु १३ करोड १२ लाख ७३ हजार बराबरको बिगो दाबी गर्दै आइतवारै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस