काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ हुनुपर्ने बताएका छन् ।
च्याउ उत्पादक किसान संघले काठमाडौंको भृकुटीमण्डपमा सोमवार (आज) आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवमा मन्त्री अधिकारीले नेपालीहरूमा च्याउ खाने बानी बढेसँगै च्याउको बजार पनि बढ्दै गएको बताए । उनले हाल देखिएका चुनौतीको समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री अधिकारीले नेपाल च्याउमा आत्मनिर्भरतातर्फ उन्मुख रहेकाले बिस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘यसका लागि सरकार, निजी क्षेत्र र किसानहरूको संयुक्त प्रयास आवश्यक देखिन्छ,’ उनले भने ।
च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले यस आर्थिक वर्षभित्र च्याउ खेतीका लागि सिफारिस जातहरू पञ्जीकरण गर्ने बताए । उनले गुच्छी च्याउ, धमिरे च्याउ, लेटिपोरस, जस्ता बहुमूल्य र पौष्टिक जातहरूको पनि अनुसन्धान शुरुआत गरेको र ती जातहरूको बिजन उत्पादनमा सफलता हात परेको जानकारी दिए ।
खेती प्रविधि विकासका लागि काम भइरहेको जानकारी दिँदै उनले यसको अनुसन्धानपश्चात प्रसार कार्य गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उनले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधीकरणतर्फ जानु जरुरी रहेकोमा जोड दिए ।