काठमाडौं । परियोजना विकास र इक्विटी लगानीमा केन्द्रित एबी होल्डिङ्सले ५ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा काठमाडौं र उपत्यकाबाहिर गरेर दुईओटा चेन होटेल सञ्चालनमा ल्याउने भएको छ ।
नेपालमा पहिलोपटक फ्रान्सको चर्चित आतिथ्य सेवा प्रदान गर्ने बहुराष्ट्रिय एकोर हस्पिटालिटी कम्पनीको ब्रान्ड ‘मक्र्योर’ भित्र्याउँदै उक्त कम्पनीले होटेल क्षेत्रमा लगानी बढाएको हो । नेपालमा भारतीयदेखि अमेरिकन, थाइल्यान्ड, कम्बोडियालगायत देशका बहुराष्ट्रिय आतिथ्य कम्पनीका चेन ब्रान्ड भित्रिएका बेला उक्त कम्पनीले यूरोपेली देश फ्रान्सको उक्त ब्रान्ड भित्र्याएर काठमाडौंमा होटेल सञ्चालनमा ल्याउन लागेको हो ।
एबी होल्डिङ्सले द मेट्रोपोलिटियन होटेलमा मक्र्योर ब्रान्ड भित्र्याएको हो । काठमाडौंस्थित सुकेधारामा ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा ‘मक्र्याेर काठमाडौं होटेल’ खुल्न लागेको छ । त्यसैगरी, अमेरिकी बहुराष्ट्रिय होटेल चेन ‘वाइन्डहाम होटेल्स एन्ड रिसोर्ट’को चेन ‘रमाडा’ पनि एबी होल्डिङ्सले भित्र्याएको छ । कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हाल निर्माणको अन्तिम चरणमा रहेको ग्रान्ड सेन्ट्रल होटेलमा ‘रमाडा’ चेन भित्र्याउने लागिएको कम्पनीका अध्यक्ष देशबन्धु बस्नेतले जानकारी दिए ।
अमेरिकी चेन ब्रान्ड रमाडा भित्र्याएसँगै २०८२ वैशाख १ गते इटहरीको उक्त होटेल पूर्णरूपमा सञ्चालनमा आउने बस्नेतले बताए । ‘अहिले एबी होल्डिङ्सले दुईओटा होटेल सञ्चालनमा ल्याउन लागेको हो,’ बस्नेतले भने, ‘यसका लागि आवश्यक तयारी पूरा हुने क्रममा छन्, जसअनुसार काठमाडौंको मक्र्याेर होटेल माघ २ गते (जनवरी १५) र इटहरीको रमाडा वैशाख १ गते पूर्णरूपमा सञ्चालनमा आउनेछन् ।’ इटहरीको होटेलमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने उनको भनाइ छ ।
- काठमाडौंमा फ्रान्सको ‘मक्र्योर’पछि इटहरीमा अमेरिकी चेन ‘रमाडा’
- मर्क्योर माघ २ र रमाडा वैशाखदेखि सञ्चालनमा आउने
- दुईओटा होटेलमा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी
मक्र्योर र रमाडा चेन भित्र्याएर सञ्चालनमा आउन लागेका यी दुई होटेलको लगानी ५ अर्ब रुपैयाँभन्दा बढी हुने उनको भनाइ छ । एकोर नेपालमा पहिलोपटक भित्रिएको दाबी गर्दै उनले एकोरको ब्रान्ड मक्र्याेर भित्र्याउनेमा नेपाल १११औं देशमा परेको उनी बताउँछन् । ‘यो लगानीले नेपालको पूर्वाधार र आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वास छ,’ उनले भने । नेपाललाई विश्वव्यापी आतिथ्य गन्तव्यका रूपमा उभ्याउने लक्ष्य राखिएको भन्दै उनले मक्र्याेर काठमाडौंले प्रत्यक्ष र अप्रत्यक्ष गरेर २२० जनासम्मलाई रोजगारी सृजना गर्ने जानकारी दिए ।
फ्रान्सको उक्त होटेल चेनसँग ४५ ओटा विभिन्न ब्रान्ड छन् भने विश्वका ११० ओठा देशमा उपस्थित जनाइसकेको उक्त समूहले ५ हजार ७०० होटेल व्यवस्थापन गर्दै आएको छ । मक्र्याेर काठमाडौं ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटेलमा १०४ ओटा कोठा छन् । आतिथ्य र पर्यटन, कृषि, स्वास्थ्य सेवा, उत्पादन, ऊर्जा, प्रविधि, र शिक्षाजस्ता क्षेत्र लगानीको प्राथमिकतामा राखेको उक्त कम्पनीले लगानी गरेको इटहरीको उक्त होटेल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
इटहरीको रमाडा होटेल पनि पाँचतारे स्तरकै हुने भन्दै बस्तेतले पाँचतारे स्तरको स्वीकृति लिन प्रक्रिया अघि बढाएको जानकारी दिए । उनका अनुसार वाइन्डहामको उक्त ब्रान्ड लिनका लागि सम्झौता भइसकेको छ । ८० ओटा उच्चस्तरका कोठाको सुविधा हुने रमाडामा सम्मेलन तथा मिटिङ हल, बैंकेट हलका, रेस्टुराँ र पब, स्विमिङ पुलका साथै जिम र वेलनेसका सुविधा पनि हुने बताइएको छ । अमेरिकाको ठूलोमध्येमा पर्ने वाइन्डहामले विभिन्न ९५ देशमा ९ हजार १०० होटेलको व्यवस्थापन गर्दै आएको छ ।