चितवन । चितवनमा चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पाँच महीनामा संघीय बजेटबाट २२ दशमलव १७ प्रतिशत पूँजीगत खर्च भएको छ । यस अवधिमा चालू खर्च ३९ दशमलव ६ प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, चितवनका अनुसार चालू आवमा जिल्लाका विभिन्न संघीय कार्यालयले चालूतर्फ १२ अर्ब ५३ करोड ७७ लाख १८ हजार रुपैयाँ र पूँजीगततर्फ आठ अर्ब ८८ करोड ५२ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।
मङ्सिर मसान्तसम्ममा चालूतर्फ चार अर्ब ९७ करोड ७१ लाख ५८ हजार र पूँजीगततर्फ एक अर्ब ९६ करोड ९८ लाख ७५ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, चितवनका सूचना अधिकारी पूर्णबहादुर पौडेलले जानकारी दिए ।
नारायणी नदी व्यवस्थापन आयोजनाले एक अर्ब चार लाख ७२ हजार, सडक डिभिजन, भरतपुरले २६ करोड २५ लाख १८ हजार, नारायणघाट–मुग्लिन सडक आयोजना, भरतपुरले २३ करोड ७२ लाख ७६ हजार, सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले १९ करोड ८१ लाख ६६ हजार र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ११ करोड सात लाख ४३ हजार रुपैयाँ पूँजीगत खर्च गरेका छन् ।
जिल्लाका प्रदेश कार्यालयले चालू आवको पाँच महीनामा पूँजीगततर्फ ८ दशमलव ५ प्रतिशत र चालूतर्फ ३० प्रतिशत खर्च गरेका छन् । प्रदेश लेखा इकाइ भरतपुरका अनुसार पाँच महीनामा १६ करोड ८६ लाख ४३ हजार रुपैयाँ पूँजीगत र ४७ करोड २५ लाख ३८ हजार रुपैयाँ चालू खर्च भएको कार्यालयले जनाएको छ ।