काठमाडौं । विश्व बैंकले आगामी सात वर्षमा नेपालमा २.७ अर्ब डलर थप लगानी गर्ने भएको छ ।
सात वर्षे नयाँ कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सीपीएफ) अन्तर्गत विश्व बैंकले रोजगारी सिर्जना र प्राकृतिक प्रकोप, विशेषगरी जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरूबाट बच्नको लागि आवश्यक क्षमता विकास गर्ने कार्यको लागि उक्त रकम उपलब्ध गराउन लागेको हो ।
यस विषयमा गत बिहीवार सञ्चालक समितिको बैठकमा छलफल भएको विश्व बैंक एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ । सीपीएफ कार्यक्रम २०२५ देखि २०३१ सम्म लागू हुनेछ ।
'रोजगारी सिर्जना मात्र हाम्रो मुख्य उद्देश्य होइन, यो नेपालको दिगो र लचिलो विकासको मेरुदण्ड हो,' विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका डिभिजन निर्देशक डेविड सिसलेनले भने ।
उनका अनुसार सीपीएफले ६० वर्षभन्दा बढी समयदेखिको नेपाल-विश्व बैंक साझेदारीलाई थप सशक्त बनाएको छ भने निजी क्षेत्र र विकास साझेदारहरूको सहकार्यमार्फत आर्थिक वृद्धि र लगानी प्रवर्द्धन गर्नेछ।
सीपीएफअन्तर्गत नीति सुधार, पर्यटन, डिजिटल पूर्वाधार र एकीकृत शहरी विकास प्राथमिकतामा राखिएका छन् । यसले निजी क्षेत्रमैत्री वातावरण निर्माण, डिजिटल सेवा पहुँच विस्तार तथा काठमाडौं उपत्यका र अन्य सहरहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)का दक्षिण एशियाली क्षेत्रीय निर्देशक इमाद एन. फाखौरीका अनुसार सीपीएफले नेपालमा निजी क्षेत्रको लगानी बढाउन, सार्वजनिक-निजी साझेदारीलाई प्रवर्द्धन गर्न र संस्थागत क्षमतामा सुधार ल्याउन योगदान दिनेछ।
'हामी नीति सुधारमार्फत व्यवसायिक वातावरणलाई बलियो बनाउँदै नेपाली जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने प्रयासमा लागेका छौं,' उनले भने।
त्यस्तै, बहुपक्षीय लगानी ग्यारेन्टी निकाय (एमआईजीए)ले समेत निजी क्षेत्रको लगानीलाई सुरक्षा प्रदान गर्दै नेपालमा रोजगारी र आर्थिक लचीलोपना प्रवर्द्धन गर्न ग्यारेन्टी सेवामार्फत सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
'लगानी जोखिम न्यूनीकरण गर्दै नेपाललाई दिगो विकासको दिशामा अघि बढाउने हाम्रो लक्ष्य छ,' एमआईजीएकी निर्देशक सेबनेम एरोल मदानले भनिन् ।
नयाँ साझेदारी रूपरेखा नेपाल सरकारको १६औं योजना, देशभरका सरोकारवालासँगको परामर्श, तथा गहिरो विश्लेषण र मूल्याङ्कनमा आधारित छ। यसले सार्वजनिक संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्दै, सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।