काठमाडौं । नेपालमा वैदेशिक लगानी बढाउने उद्देश्यसहित मंगलवारबाट काठमाडौंमा ‘नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५’ हुने भएको छ ।
इम्प्याक्ट र क्लाइमेट इन्भेस्टमेन्ट गर्ने एक दर्जनभन्दा बढी अन्तरराष्ट्रिय साझेदार संस्थाको सहभागिता रहने कार्यक्रम इम्प्याक्ट, क्लाइमेट क्षेत्रमा लगानी गरिरहेका बैंक, वित्तीय संस्था र लगानी कोषहरूका लागि महत्त्वपूर्ण अवसर हुने आयोजकले बताएको छ ।
कार्यक्रममा १४ ओटा डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युट (डीएफआई) हरू सहभागी हुन लागेका छन् । तीमध्ये यस वर्ष ६ ओटा नयाँ यस्ता संस्था थपिएको आयोजक संस्था इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) का प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले जानकारी दिए ।
यसैगरी आईआईएनका आयोजना निर्देशक बुद्धिका समरासिंगेले नेपाल सरकारले हालै लगानी नीति संशोधन गरी नेपाल विदेशी लगानी भित्र्याउन तयारी अवस्थामा रहेको सन्देश दिएको भन्दै कार्यक्रमले विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने बताए । ‘यो फोरममा आउने डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युटहरूको लगानी उद्देश्य नाफा कमाउने मात्रै हुँदैन,’ उनले भने‚ ‘उनीहरू संस्थागत सुशासन, सामाजिक प्रभाव, पर्यावरणमैत्री लगानीहरूमा बढी जोड दिन्छन्, नेपाली कम्पनीका लागि यो महत्त्वपूर्ण अवसर बन्न सक्छ ।’
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा हाल वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण विदेशी लगानीप्रति रुचि नभए पनि दीर्घकालीन रूपमा यसको महत्त्व रहेको बताउँछन् । हाल वाणिज्य बैंकहरूमार्फत ७ खर्ब ४८ अर्ब रुपैयाँ बराबर भित्रिएको उनले जानकारी दिए । सम्मेलनले विश्वभरका डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन, इम्प्याक्ट इन्भेस्टरलाई नेपाल भित्र्याएर प्रत्यक्ष अवलोकन गराउने र लगानीकर्तासँग छलफल गर्ने वातावरण बनाउने आयोजकले बताएको छ ।
सम्मेलनको पहिलो दिन बिहीवारका प्राविधिक सत्रमा वैदेशिक लगानी कसरी बढाउने, वित्तीय संस्थाका लागि जलवायु अनुकूलन लगानी योजनाको तयारी, निजी इक्विटी तथा भेन्चर क्यापिटल विकासलगायत विषयमा छलफल हुनेछ । दोस्रो दिन सरकारी निकाय र विकास साझेदारहरूसँग दीर्घकालीन सहकार्य र लगानी प्रवर्द्धनका लागि रणनीतिक छलफल गर्ने कार्यक्रम छ । कार्यक्रमको अन्तिम दिन सहभागी प्रतिनिधिहरूका लागि स्थल अवलोकन कार्यक्रम राखिएको छ ।