काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले हालैका बाढीपहिरो र डुबान पीडितलाई पठाएको राहत सामग्री वितरण गरिएको छ ।
काठमाडौंको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा राखिएको कार्यक्रममा ६० परिवारलाई उक्त सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रम काठमाडौंस्थित चिनियाँ दूतावासका काउन्सिलर एवम् नियोग उपप्रमुख वाङ सिनको प्रमुख आतिथ्यमा भएको थियो ।
कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको समन्वयमा एक हजार २४२ प्याकेट राहत सामाग्री पठाइएको छ । उक्त प्याकेटमा दन्तमञ्जन, ब्रस, रुमाल, साबुन, स्यानिटरी प्याड, प्रेसर कुकुर, प्लास्टिकका साना थैला, ब्लांकेट, झुल, स्लिपिङ म्याट, पानीको भाँडो, मग, चामल, तेल, दाललगायत सामान राखिएको छ ।
गत शुक्रवारदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो आएको थियो भने कतिपय ठाउँमा डुबान भएकाे थियो ।