काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आयोजनामा ८ औं संस्करणको अन्तरराष्ट्रिय महिला उद्यमी तथा व्यापार मेला–२०८१ चैत १४ गतेदेखि शुरू हुने भएको छ ।
महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले महासंघले चैत १४ देखि १८ गतेसम्म उक्त व्यापार मेला गर्न लागेको हो ।
महासंघले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको तयारी र यसको उद्देश्यका विषयमा जानकारी गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त मेला ललितपुरस्थित हेरिटेज गार्डेनमा हुने महासंघकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी गराइन् ।
उक्त मेलामा १४४ ओटा विक्री स्टल राखिनेछन् । उक्त मेला ६० हजार जनाले अवलोकन गर्ने र उक्त अवधिमा २ करोड २५ लाख रूपैयाँको कारोबार हुने अपेक्षा राखिएको उनले बताइन् ।
व्यापार मेलामा विभिन्न ६ प्रकारका स्टल हुने महासंघले जानकारी गराएको छ । महासंघका अनुसार वातावरणमैत्री उत्पादन, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य र अन्तरराष्ट्रिय स्तरबाट सहभागिता हुँदा उनीहरूले ल्याउने वस्तुहरूका स्टल हुनेछन् । उक्त मेलालाई नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेका छन् ।
७२ जिल्लामा पहुँच पुर्याएको महासंघले आयोजना गर्ने सो मेलामा महिला उद्यमी जिल्ला संघहरूमा आवद्ध साढे ५ हजारभन्दा बढी महिला उद्यमीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिने अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।