काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद शेयर आज (असोज १४ गते)सम्ममा २४ प्रतिशत मात्रै विक्री भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतवार बिहान १०:०७ सम्ममा २ लाख ३५ हजार ४५८ जना आवेदकले २ करोड ५९ लाख १ हजार १४० कित्ताका लागि आवेदन दिएका हुन् । अझै कम्पनीको ७ करोड ९९ लाख कित्ता हकप्रद शेयर विक्री हुन बाँकी रहेको छ ।
कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म विक्री अवधि तय गरेकोमा सो अवधि थप गरी असोज २२ गते सम्म पुर्याएको छ । यस आधारमा यस कम्पनीको सम्बन्धित शेयरधनीले असोज २२ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १० करोड १९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरिरहेको हो ।
यसरी हेर्दा पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम भएको देखिएको छ । सूचीकृत कम्पनीहरूले निष्कासन गरेको हकप्रद शेयरका लागि परेको आवेदनले पछिल्लो समय यसप्रति लगानीकर्ताको आकर्षण कम भएको देखाएको हो ।
कुनै समय लगानीकर्ताको प्रमुख आकर्षणमा अपर तामाकोशीको शेयर थियो । पछिल्लो समय बजार घट्दै जाँदा यो कम्पनीको शेयर मूल्यसमेत घटेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २१२ दशमलव ५० मा कारोबार भइरहेको छ ।
दोस्रो बजारमा हाल कायम मूल्यले पनि हकप्रद शेयर विक्रीमा प्रभाव पार्ने गर्छ । यतिबेला दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर मूल्य निकै कम हुनु र लगानीयोग्य रकम पर्याप्त भए पनि चर्को ब्याजदरका कारण कर्जा लिन नसक्ने अवस्थाले हकप्रद शेयर खरीद गर्न नसकेको भनाइ लगानीकर्ताको छ । बजार घटिरहेकाले पनि लगानीकर्ता चर्को ब्याजमा कर्जा लिएर हकप्रद शेयरमा लगानी गर्न डराइरहेको जानकार बताउँछन् ।