काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको हकप्रदमा आवेदन दिनको लागि अब ४ कार्यदिन मात्र बाँकी छ ।
कम्पनीले बिहीवार एक सूचना जारी गर्दै आवेदन दिन बाँकी रहेका शेयरधनीलाई ४ कार्यदिनभित्र अर्थात् असोज २२ गते बैंकिङ समयभित्र आवेदन दिइसक्न अनुरोध गरेको हो ।
कम्पनीको हकप्रद शेयर बिहीवारसम्ममा २५ दशमलव ६१ प्रतिशत मात्रै विक्री भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार बिहान १० बजेसम्ममा २ लाख ४७ हजार १२३ जना शेयरधनीले २ करोड ७१ लाख ३० हजार २५५ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका छन् ।
कम्पनीले भदौ १८ देखि असोज ७ गतेसम्म विक्री अवधि तय गरेकोमा सो अवधि थप गरी असोज २२ गते सम्म पुर्याएको हो । कम्पनीले १० करोड १९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरिरहेको हो ।