काठमाडौं । भदौ १८ गतेदेखि विक्रीमा आएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शत प्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप भएको छ । यसअघि असोज ७ गतेसम्मको विक्री अवधि तय गरेको कम्पनीले अवधि थप गरी असोज २२ गतेसम्म कायम गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । शत प्रतिशत हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ ।
हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालीन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले असार २२ गते शत प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्युअर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यो कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रहेको हो ।
वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानीसमेत अघिल्लो वर्ष २० लाख रुपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रुपैयाँभन्दा बढी भएको छ ।
विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीले लिएको दीर्घकालीन कर्जा अघिल्लो वर्षभन्दा गत वर्ष कम भएको छ ।
अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रहेको दीर्घकालीन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालीन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रुपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत वर्षको चौथो त्रैमाससम्म कम्पनी ३५ रुपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने ३४ रुपैयाँ ६७ पैसा छ ।