काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले असार १३ गतेदेखि नयाँ योजना सञ्चालनका लागि इकाई निष्कासन गर्ने भएको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । ५० करोड रुपैयाँको आकार रहेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले ५ करोड इकाई जारी गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ५ करोड इकाईमध्ये बीच पूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नललाई सुरक्षित राखिएको छ । यी वाहेक बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणको निष्कासनमा ल्याउन लागेको हो ।
सार्वजनिक निष्कासनमा आउने योजनाको इकाई खरीदका लागि असार १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने असार २७ गतेसम्म निष्कासन गरिने जानकारी क्यापिटलले दिएको छ । योजनाको इकई निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । यी इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण र्बैक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि खुला रहनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।