काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २९ देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।
यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । दुवै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते दुवै कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएको थियो ।
नेपाल धितोपत्र बोर्डले असार २५ गते पूर्वस्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुवै बैंक एक हुन लागेका हुन् ।
दुई बैंक एक भई लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गरिने छ । मर्जरपश्चात् बन्ने बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ । एकीकृत कारोबार शुरू गर्न डाटा माइग्रेसन लगायतका प्रयोजनका लागि दुवै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा अबरूद्ध हुने जानकारी बैंकहरूले दिएका छन् ।
यी दुई बैंक समान हैसियतमा एक हुन लागेका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सनराइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्ता पूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ ।
एकीकृत कारोबारका दिनदेखि बढीमा १५ कारोबार दिन दुवै बैंकको शेयर कारोबार समेत बन्द रहनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था छ ।
यस अघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पूरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।