अब शेयर बजार उकालो लाग्छ कि ओरालो हँ ?
यो प्रश्नले अहिले सबैको दिमाग चाटेको छ । बफेटका बाउले पनि भन्न नसक्ने यो प्रश्नको उत्तर दिन सजिलो भने छैन । तर पनि म यहाँ छोटकरीमा शेयर बजारको माहात्म्य सुनाउँछु है त ?
नेपालको शेयर बजार भनेको एउटा यस्तो ठाउँ हो, जहाँ सबैले लाख र करोडका कुरा गर्छन् । तर प्राय: जान्ने सुन्ने, मनमा कुरा गुन्ने, खासगरी ठूला लगानीकर्ताले कमाउँछन्, सानाले गुमाउँछन् । साना लगानीकर्ताले कमाए नै भने पनि हजारमा कमाउँछन् । जत्रो लगानी, त्यत्रै कमाइ हुने हो । तर यहाँ ठूला खेलाडीहरूले करोडौं कमाइरहँदा लाख कमाएको भन्छन्, सानाले हजार कमाए पनि लाख–करोडको हल्ला गर्छन् ।
हल्लै हल्लाको देश जो पर्यो नेपाल । त्यसैले बजारमा हल्लाका पछि लागेर लगानी गर्नेहरू हजारौं हुन्छन्, बुझेर सल्लामा लगानी गर्नेहरू केही मात्र हुन्छन् । अनि अन्तमा केहीले कमाउँछन्, धेरैले गुमाउँछन् । किनकि हाम्रो बजारमा जसलाई केही थाहा छैन, ऊ नै विशेषज्ञ बनेर हिँडिरहेको देखिन्छ ।
केही साहसी प्राणीहरू पनि छन् नेपालको शेयर बजारमा, जसले भैंसी बेचेर वा श्रीमतीको नाकको फुली खोसेर शेयरमा लगानी गर्छन् । घाटा हुँदा उनीहरू भन्छन्, ‘नाकको फुलीको पत्थर मात्र गुमेको हो, पूरै फुली होइन । यस्तो आत्मविश्वास राख्नेहरू नै शेयर बजारका प्रमुख खेलाडीहरू भएपछि बजार त केही समयका लागि माथि माथि उक्लिने भो, अनि गल्र्याम्म ढल्ने हो । माथि उक्लँदा लोभले बेच्न नसक्नेहरू ढ्याम्म पछारिन्छन् । अनि घट्दा बेच्ने र बढ्दा किन्नेहरूको रुवाबासी अर्कै छ ।
त्यसो त कतिपय लगानीकर्ताले शेयर किन्नुअघि कम्पनीकोे आधारभूत तथा प्राविधिक विश्लेषण गरेर, अब त कमाइने भो भनेर मख्ख परेर लगानी गर्छन् । तर लाभ भने भित्री सूचना पहिल्यै फुत्काउन सक्नेहरूले गर्छन् । बाँकी सबै इपिएस र पिई रेसियो खोज्दैमा अल्मलिन्छन् । यो भालु र साढेको जुधाइमा कोही पेलिन्छन्, कोही जेलिन्छन्, कोही फूल्छन्, कोहि बजारमा रनभुल्छन् ।
शेयर बजारमा अहिले विभिन्न समूहहरू छन् । फेसबुकमा विभिन्न पेजहरू छन् । ट्विटरको स्पेशमा त पण्डितहरू झन् कति कति ? अझ अनलाइन समाचार भनेर शेयरमा खेल्ने पनि छन् । ती समूहमा कसैले राम्रो सुझाव दिन्छन् भने कसैले आफूले किनेको कम्पनीको विज्ञापन गर्छन् । यहाँ जसले आफ्ना कुराले लगानीकर्तालाई जालमा पार्न सक्छ । अन्तमा उसैले नाफा कमाउँछ ।
कुन शेयर किनुँ, कुन बार किनु भन्दै ज्योतिषकहाँ धाउनेको पनि कमी छैन यहाँ । अमुक अमुक रत्न र धातुका औंठीले शेयरमा नाफा दिन्छन् भन्ने कथित तान्त्रिकहरू पनि बजारमा प्रशस्तै भेटिन्छन् । लाग्छ, यो शेयर बजारले सबैलाई रोजगारी दिएकै छ ।
समग्रमा बजार बुझ्नेका लागि यो कमाउने मेसो हुन पुग्छ । नबुझ्नेका लागि यो बजार रिणको पासो हुन सक्छ । शेयर बजार भनेको यस्तो अनिश्चित हुन्छ कि धैर्य छैन भने यसमा टिक्न गाह्रो हुन्छ । जानेन भने शेयरकोे खेल सास फेर्न भन्दा पनि सारो हुन्छ । पैसा गुम्दा रिसको पारोमात्रै चढ्छ । आफूले किनेको शेयरको मूल्य घट्दा घरमा झगडा मात्र बढ्दैन, बीपी पनि बढ्न सक्छ । त्यसैले जसलाई आफ्नो स्वास्थ्यको बढी नै ख्याल छ भने ख्याल ख्यालमा उनीहरूले यो बजारमा प्रवेश नगरेकै राम्रो भन्ने सुझाव छ हाम्रो । शेयरमा लगानी गरेर कमाउन मुटुमात्र दरो भएर पुग्दैन, पर्स पनि मोटै हुनुपर्छ, नभए बजारको ज्ञान चैं बाक्लै हुनुपर्छ, नत्र पछि रुनुपर्छ ।
शेयर बजारमा पहिलोचोटि प्रवेश गर्नु भनेको कुनै सर्कसमा जानु जस्तै हो । पहिलो पटक जाँदा सबै कुरा अनौठो देखिन्छ । तर पछि रमाइलो हुन थाल्छ । सर्कसमा जस्तै यहाँ पनि जोकरहरू हुन्छन्, जसले लगानीकर्तालाई खुब उछाल्छन् । जसले यो राम्रोसँग ध्यान दिन्नन्, उनीहरूले धेरै गुमाउँछन् ।
शेयरको साँडे उफ्रिरहेका बेला नयाँ नयाँ लगानीकर्ताहरू शेयर किन्नासाथ कुर्सी समातेर भन्छन्, ‘अब म धेरै माथि उठ्छु ।’ तर बजार तल जानासाथ उनीहरू पनि सँगै तल पुग्छन् र रुन्छन् । पछि बजार माथि आउँदा पनि उनीहरू भने तलै कुरेर बसिरहन्छन् । यसलाई नै हामी शेयर बजारको एउटा महत्त्वपूर्ण नियम भन्छौं ।
‘जान्यो भने यो शेयर खेल खेल्न सजिलो पनि छ । पहिले त एउटा राम्रो ब्रोकर फेला पार्नुपर्छ, जसले तपाईंलाई सही सल्लाह दिन सक्छ । तर ब्रोकरमा मात्र भर नपर्नु, आफै पनि अलि अनुसन्धान गर्नु । शेयर बजार भनेको एउटै दिशा मात्रै होइन, चारै दिशा फनफनी घुमाउँछ, कहिले उकालो, कहिले ओरालो हो । जित्ने हो भने धैर्य र विवेक आवश्यक हुन्छ’ भन्छन् शेयर बजारका गुरुहरू ।
त्यसैले विज्ञहरू भन्छन्, ‘शेयर बजारमा कुरा त सबैका सुन । धेरै चैं आफ्नै मनमा गुन । कसैका कुरालाई पनि पनि अचूक नमान । आफ्नै खेल खेल । कागजस्तो चलाख भएर हेर, बकुल्ला जस्तो भएर कम्पनी खोज । हल्लामा नभुल । किनकि बजार सधैं तिम्रा दाहिने नहोलान्, तिम्रा विरुद्धमा पनि हुन सक्छ है, विचार गर ।’
चलचित्रमा जस्तै शेयर बजारमा पनि खलपात्रहरू हुन्छन् । ती खलपात्रहरूले बजारलाई नचाउने काम गर्छन् । ‘ग्रेटर फुल थ्योरी’मा विश्वास राख्ने लगानीकर्ताहरू, जो शेयर बजारलाई पाँचतारे होटेल सम्झेर घुम्न आउँछन्, शेयर बजार बढ्दा किन्ने र घट्दा बेच्ने, अनि यसो असन घुम्न जाउँ, दिउँसोको खाजा खाएर आउँछुु भनेझैं व्यवहार देखाउँछन्, यस्ता लगानीकर्ताहरू नै बजारलाई समस्यामा पार्ने खलनायक हुन् भन्न सकिन्छ ।
अर्का खलपात्रहरू भनेका शेयर बजारका हितका नामका खुलेका लगानीकर्ताका संगठनहरू पनि हुन्, जसले बजारलाई जबर्जस्ती टुप्पी समातेर भने पनि बजार चैं सधैं बढिरहनुपर्छ भनेर नियामक निकायहरूलाई दबाब र प्रभावमा पारिरहन्छन् । कहीँ नभएको जात्रा यिनले नेपालमा देखाउँछन् । तिनीहरूले नै बजारलाई हितभन्दा अहित धेरै गरिरहेका हुन्छन् ।
त्यसैगरी, नियामक निकायका हाकिमहरू पनि बेलाबेलामा बजारमा भिलियनको भूमिकामा देखापर्छन् । किनकि यिनलाई लाग्छ आफूहरू नै शेयर बजारको सुपर हिरो हो । तर तिनका कतिपय असमसामयिक गतिविधि र निर्देशिकाले बेलाबेलामा बजारलाई धक्का दिइरहेको हुन्छ । अरू देशहरूमा शेयर बजार माथि उक्ल्यो वा तल झर्यो भने पनि नेता, मन्त्रीहरू चुपै रहन्छन् र यसले के संकेत गर्दै छ भनेर अध्ययन गर्छन् । हामीकहाँ भने बजार अलिकति बढ्यो भने संसद्मै यसको जश लिने तँछाडमछाड हुन्छ । घट्यो भने त के के हुन्छ के के ?
शेयर बजारको ताला चाबी केन्द्रीय बैंकको हातमा पनि हुन्छ । तर कहिलेकाहीँ यो चाबी कहिले अर्थ मन्त्रालयले फुत्काउँछ भने कहिलेकाहीँ धितोपत्र बोर्डले । यसरी यो खेलमा झेल गर्नेमा नियामक निकायहरू, शेयर ब्रोकरहरू, शेयर बजारका नाममा खुलेका अनेक किसिमका समूहहरू, कतिपय मिडिया नामधारी पात्रहरू, जानेर वा नजानेर सबै आआफ्नो निजी स्वार्थ साँध्नमा तल्लीन हुन्छन्, जसले बजारको स्वाभाविक लयलाई आफ्नो तालमा मात्र नचाउन खोज्छन् । यी खलनायकहरू ग्रेटर फुल थ्योरी, इन्साइडर ट्रेडिङ वा टिएमएस फेल जस्ता हतियारहरूको सहारा लिएर बजारलाई आफ्नो इशारामा नचाउँदै आफू कमाउँछन्, अनि लाखौंले सर्वस्व गुमाउँछन् ।तपाईं चैं कुन वर्गमा पर्नुहुन्छ कुन्नि ?
इति श्री अर्थतन्त्रे, शेयर खण्डे, शेयर कारोबार नाम माहात्म्यम् समाप्तम् ।