काठमाडौं । समग्र अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) हुँदाहुँदै यो क्षेत्रका ठूला उत्पादक तथा आयातकर्ताले नयाँ संस्था गठन गरेका छन् ।
सबै खाले तयारी गाडी आयातकर्ता र नेपालमै गाडी उत्पादन गर्ने व्यवसायीको छुट्टै संस्थाका रूपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) गठन भएको औपचारिक घोषणा बुधवार गरिएको हो ।
यसअघि सबै अटो व्यवसायी, आयातकर्ता, स्पेयर पार्टस्, लुब्रिकेन्ट, टायर, ट्युबलगायत व्यवसायी एउटै छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) मा आबद्ध थिए ।
समयक्रमसँगै नाडामा विशुद्ध अटो व्यवसायी, आयातकर्ताभन्दा बढी अन्य अटो कम्पोनेन्ट कारोबारीको प्रभाव बढेको र खास मुद्दा ओझेलमा परेको भन्दै आयातकर्ता व्यवसायीले छुट्टै संस्था गठन गर्नुपरेको बताएका छन् ।
‘मोबिलिटीमार्फत समृद्धिको मार्ग’ नारासहित अगाडि आएको नाइमाको संस्थापक अध्यक्षको जिम्मेवारी युनाइटेड ट्रेडर्सकी प्रबन्ध निर्देशक रितुसिंह वैद्यलाई दिइएको छ । पुरानो संस्था नाडाको नेतृत्वमा व्यवसायी करण चौधरी छन् । यी दुई छुट्टाछुट्टै प्रतिस्पर्धी संस्थामा अनौठो देखिएको छ । नाडाको केन्द्रीय कार्यसमिति सदस्य तथा पदाधिकारी नै नाइमाको पनि बोर्ड सदस्य छन् ।
११ सदस्यीय नाइमाको बोर्ड सदस्यमा नाडाका एक पदाधिकारी र एक सदस्य खुलेरै बसेका छन् । नाइमाले सार्वजनिक गरेको विवरणअनुसार यो संस्थाको बोर्डमा लक्ष्मी मोटर्स कर्पोरेशन प्रालिका तर्फबाट सदस्य बनेका निराकार श्रेष्ठ नाडाको वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । अर्का सदस्य साइमेक्स इंककी यमुना श्रेष्ठ नाडामा कार्यसमिति सदस्य छिन् ।
नाइमा बोर्डमा रहेका दुवै जनाले नाडा कार्यसमितिबाट राजीनामा दिएका छैनन् । नाइमाकी अध्यक्ष वैद्य नेपालमा टोयोटा, एथरलगायत ब्रान्डको अधिकारिक विक्रेता कम्पनी सञ्चालक हुन् । देशको मोबिलिटी क्षेत्रको साझा मञ्चका रूपमा काम गर्न नाइमा गठन गरिएको वैद्यले बताइन् । ‘नाइमाले देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चका रूपमा कार्य गर्नेछ । यसले रणनीतिक सहकार्य, विकास र नीतिनिर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ,’ नाइमा घोषणा सभामा उनले भनिन् ।
आफूलाई नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रको साझा आवाजको रूपमा प्रस्तुत गर्दै नाइमाले नीतिगत वकालत, नवप्रवर्तन प्रवर्द्धन, पूर्वाधार सुदृढीकरण र उपभोक्ता सशक्तीकरण जस्ता क्षेत्रमा काम गर्ने उनको भनाइ छ । नाइमा मोबिलिटी क्षेत्रको साझा आवाज बन्ने उनको दाबी छ । नाइमाको संस्थापक सदस्यहरूमा कन्टिनेन्टल ट्रेडिङका सुह्द घिमिरे, हंसराज हुलासचन्ड एन्ड कम्पनी प्रालिका शेखर गोल्छा, अग्नि इंक प्रालिका क्याबिनेट श्रेष्ठ, स्याकार ट्रेडिङका सौरभ ज्योति रहेका छन् ।
एसपीजी अटोमोबाइल्सका सन्दीपकुमार शारडा, लक्ष्मी मोटरका निराकार श्रेष्ठ, साइमेक्स इंककी यमुना श्रेष्ठ, पारामाउन्ट मोटर्सका निकुञ्ज अग्रवाल, सांग्रिला मोटर्सका हेमन्त गोल्छा र ओम्नी मोटर्सका उदयन काबरा पनि संस्थापक सदस्य छन् ।
सञ्चालक समिति सदस्य सुह्द घिमिरेले कसैसँग द्वन्द्व बढाउने नभई सबैसँग सहकार्य गरी अघि बढ्ने बताए । ‘सरकारी निकायले लक्जरी प्रोडक्टका रूपमा परिभाषित गर्दै अटो व्यवसायीलाई अप्ठ्यारो पार्ने गरेकाले नीतिगत लबिङका लागि नाइमाले काम गर्नेछ,’ उनले भने ।
नाइमा गत फागुन ९ गते कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको थियो । नाडाबाट टुक्रिए पनि नाइमामा बस्ने, नबस्ने र दुवै संस्थाको सदस्य हुन पाउने छूट आयातकर्ता व्यवसायीलाई रहने नाडा र नाइमा दुवै संस्थाले सहमति गरिसकेका छन् ।
तथापि, कार्यक्रम र व्यावसायिक स्वार्थको लबिङमा भने दुवै संस्था आफू अनुकूल गृहकार्य र प्रयोगमा स्वतन्त्र रहने सम्भावना रहेको नाइमाका व्यवसायी बताउँछन् । तर, नाइमाको उदयपछि नाडामा हलचल मच्चिइसकेको छ ।
नाडाले आफ्नो कार्यसमितिमा रहेर अर्को प्रतिस्पर्धी संस्था नाइमामा पनि बस्ने पदाधिकारी एवं सदस्यलाई तत्काल कारबाहीको तयारी थालेको छ ।
‘अब बस्ने नाडा केन्द्रीय कार्यसमिति बैठकमा नाइमाको बोर्ड सदस्यमा बस्ने नाडाको पदाधिकारी तथा सदस्यलाई तत्काल हटाउने प्रस्ताव जाँदै छ, बहुमतले हटाइनेछ,’ नाडाका एक पदाधिकारीले भने ।
नाइमाले आगामी साउनमा मोबिलिटी एक्स्पो गर्ने घोषणा गरेको छ । नाडाले लामो समयदेखि सवारीसाधनको एक्स्पो गर्दै आएको छ । बुधवार नाइमाको टीम घोषणासँगै आगामी साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी एक्सपो गर्ने जानकारी गराइएको हो । नाइमाअन्तर्गत गठित अटो शो समितिका सदस्य गौरव शारदाले ‘नेपाल मोबिलिटी एक्सपो’को लोगो सार्वजनिक गर्दै काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्ने जानकारी गराए ।