मङ्सिर २३, पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिवारसम्म २ करोड ६५ लाख रुपैयाँको आर्थिक कारोबार भएको छ । शनिवार मात्र १ करोड ६५ लाखको आर्थिक कारोबार भएको मेला मूल आयोजक समितिका संयोजक एवम् पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए । बिहीवार र शुक्रवार रू. १ करोडको कारोबार भएको थियो ।
शनिवार मेलामा दर्शकको अत्यधिक चाप बढ्यो । शनिवार मात्र ३७ हजार दर्शकले मेला अवलोकन गरेको मेलाका प्रचारप्रसार समिति संयोजक तथा आयोजक पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव नारायण कोइरालाले जानकारी दिए । बिहीवार र शुक्रवार १५ हजारले मेला अवलोकन गरेका थिए ।
मेला व्यवस्थित रूपमा सञ्चालन भइरहेको महासचिव कोइरालाले बताए । ‘मेलामा दर्शकको उत्साहजनक सहभागिता बढेको छ ।’ उनले भने, ‘मेलाबाट लक्ष्यभन्दा बढी सफलता प्राप्त हुने हाम्रो विश्वास छ ।’ मेला पुस १ गतेसम्म जारी रहनेछ । ‘लगानीको संवद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भत्रे मूल नारासहित जारी मेलामा अटो, दैनिक उपभोग्य वस्तु, सूचना–प्रविधि, सेवा, रेष्टुराँ, हस्तकला, पुष्पलगायत २ सय ६७ ओटा स्टल रहेका छन् । मेलामा चीनमा उत्पादित सामग्री प्रदर्शनको लागि चाइनिज पेभेलियनको व्यवस्था गरिएको छ भने पाकिस्तानमा उत्पादित छाला तथा अन्य सामग्री पनि मेलाको आकर्षण बनेका छन् ।
मेलाको तेस्रो दिन मनोरञ्जनतर्फ लोक, पप तथा आधुनिक गायकहरूले भरपुर मनोरञ्जन दिलाएका थिए । प्रख्यात पप गायक धिरज राई सहित सुमन गौतम, गगन पुन, नवीन काफ्ले, सविन ताम्राकार, आशिषदास दियालीलगायतले दर्शकलाई मनोरञ्जन दिलाए । मेलामा लोकगायकहरू पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कुलेन्द्र विक, चोलेन्द्र पौडेल, कृष्ण देवकोटा, जीवन दाहाललगायतले गीत गाए । लोकदोहोरी प्रतियोगिता र विद्यालयस्तरीय समूह नृत्य प्रतियोगिता पनि मेलाको आकर्षण बनेको सांस्कृतिक उपसमिति संयोजक दामु अधिकारीले जानकारी दिए । मेलामा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा ३० देखि ३२ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.