काठमाडौं । केही दिनअघिको बाढीपहिरोले व्यापक जनधनको क्षति गरेपछि नेपाल भ्रमणको तयारीमा रहेका विदेशी पर्यटकले अग्रिम बुकिङ रद्द गर्न थालेका छन् ।
अक्टोबर शरद्ऋतुको पर्यटकीय सिजनको पहिलो महीना हो । पर्यटन व्यवसायीका अनुसार भारी वर्षाका कारण अहिले सडक यात्रा प्रभावित भएको र सुरक्षालाई दृष्टिगत गरी पर्यटकले अग्रिम बुकिङ रद्द गर्न थालेका हुन् ।
पर्यटकीय सिजनमै आएको बाढीपहिरोको असर पर्यटन क्षेत्रमा समेत परेको सरोकारवाला बताउँछन् । ‘अक्टोबरका लागि भएका बुकिङ पनि रद्द हुँदै छन्,’ ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले भने, ‘अहिलेको बाटोघाटोलगायत सुरक्षालाई हेरेर पर्यटकले बुकिङ रद्द गर्न शुरू गरिसकेको र यो २५ प्रतिशतजति पुग्ने प्रारम्भिक आकलन छ ।’
अग्रिम बुकिङ रद्द भएको अक्टोबर नेपालमा धेरै विदेशी पर्यटक आउने महीनामध्येमा पर्छ । ‘अक्टोबरको १५/२० तारीखसम्मका बुकिङ बढी रद्द भएका छन्,’ पाण्डेले भने, ‘नोभेम्बरका लागि भएका बुकिङ भने रद्द भएका छैनन् । त्यो बेलासम्म पर्यटक ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् ।’
शरद्याममा मौसम सफा हुने, नेपालका सांस्कृतिक चाडपर्वहरू पनि यही समयमा हुने भएकाले पर्यटक अन्य महीनाको तुलनामा अक्टोबर र नोभेम्बरमा बढी आउने गर्छन् । ट्रेकिङ गर्न र बिदा मनाउन धेरै पर्यटकले यी २ महीना रोज्ने गर्छन् ।
बाढीपहिरोका कारण पर्यटकले बुकिङ रद्द गर्न थालेपछि सरकारले राखेको चालू आर्थिक वर्षमा १६ लाख पर्यटक भित्त्याउने लक्ष्य भेट्टाउने काम भने चुनौतीपूर्ण हुने पर्यटन व्यवसायी बताउँछन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बरसम्म ८ लाखभन्दा बढी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् ।
नेपाल आइसकेका पर्यटकलाई भने परिस्थिति हेरेर मौसम अनुकूल भएपछि गन्तव्यसम्म पुर्याउने काम भइरहेको पाण्डेको भनाइ छ । उनका अनुसार अहिले सबैभन्दा बढी समस्या लुक्लातिर देखिएको छ । सोलुखुम्बुस्थित लुक्ला जानआउन समस्या भएको भन्दै उनले एयर ट्राफिकका कारण काठमाडौंबाट लुक्लामा उडान गर्न समस्या भइरहेको उनले बताए । ‘काठमाडौंबाट रामेछापको मन्थली जाने बाटो (बिपी राजमार्गका विभिन्न खण्ड बाढीले बगाएको छ । त्यसैले यो रूट पनि प्रयोग गर्न सकिएको छैन,’ उनले भने, ‘दोलखाको चरिकोटबाट भने पर्यटक पठाइरहेका छौं र पनि यो भरपर्दाे छैन ।’ अहिले चरिकोट भएर मन्थली र त्यहाँबाट हेलिकोप्टरमा लुक्ला जाने विकल्पमा काम भइरहेको उनले बताए ।
यस्तै जनकपुरबाट लुक्ला उडानका लागि प्रयास भइरहेको व्यवसायी बताउँछन् । अहिले जोखिमयुक्त (लुक्ला, अन्नपूर्ण सर्किटलगायत) गन्तव्यमा रहेका पर्यटकलाई हवाई मार्ग हुँदै सुरक्षित स्थानमा ल्याउने काम र सम्बद्ध क्षेत्रका ट्राफिक प्रहरीसँग समन्वय गरेर सहजीकरण गरिएको पाण्डेले बताए । मौसम सफा र खुला हुने भएकाले यो सिजनमा नेपालमा ट्रेकिङका साथै सांस्कृतिक टुरका लागि पनि पर्यटक उत्तिकै आउँछन् । काठमाडौं, पोखरा, नगरकोट, पाल्पा, चितवन, पनौती, काठमाडौंका सम्पदा घुम्न पर्यटक आउँछन् । ६०/६५ वर्ष उमेरका पर्यटक पनि यो सिजनमा बढी आउँछन् ।
सामान्य अवस्थामा ५०० जति पर्यटकलाई सेवा दिने शक्ति ट्राभल एन्ड टुर प्रालिका प्रबन्ध निर्देशक सुरेश नकर्मी पनि अहिलेको अवस्थाले पर्यटकले बुकिङ रद्द गर्ने क्रम बढेको बताउँछन् । यही सिजनका लागि उक्त कम्पनीमार्फत आएका १५० जति पर्यटक अहिले काठमाडौं, पोखरा र चितवनमा छन् । उनीहरूले सवारीमार्फत यात्रा नगरे हवाईमार्गबाट भए पनि सहज आवतजावत गराउने काम भइरहेको नकर्मी बताउँछन् ।
‘पोखरा जाने योजनामा रहेका पर्यटक अहिले नजाने भनिरहेका छन्,’ उनले भने । काठमाडौं, चितवन, पोखरा र पोखराबाट ट्रेकिङ हुने अन्नपूर्ण सर्किट, लुक्लालगायत जाने पर्यटकले बुकिङ रद्द गरेको उनको भनाइ छ । ‘यो बाढीपहिरोअघि पनि पोखरा–चितवनको बाटो नबन्दा सास्ती थियो,’ नकर्मी भन्छन्, ‘अब व्यवसाय बढ्ला भनेको बाढीपहिरोले समस्या निम्त्यायो । विकल्प भनेको छिटो सडक बन्नुपर्छ ।’ बेलायती, जर्मनी र अमेरिकन पर्यटकका साथै भारतीयले पनि बुकिङ रद्द गरिरहेका छन् ।
सांग्रिला टुर्स प्रालिका एमडी अशोक पोखरेलले भने अहिलेसम्म आफ्नो कम्पनीमार्फत आउने पर्यटकले बुकिङ रद्द गरिनसकेको बताए । ‘यो सिजनका लागि बुकिङ राम्रो भए पनि अब पर्यटक आए भने के कसरी गन्तव्यमा पुर्याउने भन्ने चुनौती थपिएको छ,’ पोखरेलले भने, ‘पोखरा, लुक्ला पठाउन परेमा कहाँ र कताबाट पठाउने भन्ने हुन्छ ।’ नेपाल आएका पर्यटकलाई काठमाडौंबाटै गन्तव्यमा पुर्याउने काम भइरहेको उनको भनाइ छ । धेरैजसो पर्यटक हवाईमार्गबाट देशका विभिन्न भाग घुम्न निस्कन्छन् । तर, कतिपयले सडकमार्गबाटै सम्बद्ध गन्तव्यमा पुग्ने गरी बुकिङ गरेका हुन्छन् । यसले गर्दा पर्यटकलाई यात्रा थप महँगो पर्न गएको उनको भनाइ छ । कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले पनि अझै बुकिङ रद्द भइनसकेको बताए ।
नौ महीनामा ८ लाख १६ हजार पर्यटक
यो वर्षको सेप्टेम्बरमा ९६ हजार ३०५ पर्यटक नेपाल आएका छन् । यो संख्या कोरोना महामारीअघिको सन् २०१९ को सेप्टेम्बरको भन्दा बढी हो । सन् २०२३ सेप्टेम्बरमा ९१ हजार १२ पर्यटक नेपाल आएका थिए । सन् २०१९ सेप्टेम्बरमा उक्त संख्या ९२ हजार ६०४ थियो । बोर्डका अनुसार सन् २०२४ को ९ महीनामा ८ लाख १६ हजार पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यो महीनामा विगत महीनाको भन्दा कम भारतीय पर्यटक आएका छन् । नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाटै आउँछन् । बोर्डका अनुसार भारतबाट २२ हजार ९८४, अमेरिकाबाट १० हजार ८४, चीनबाट ८ हजार ४२, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ पर्यटक आएका छन् । त्यसपछि बढी पर्यटक आउनेमा बंगलादेश, जर्मनी, दक्षिण कोरिया र मलेशिया छन् ।