काठमाडौं । गत शुक्रवारदेखि दुई दिनसम्म परेको वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट १७ अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (मंगलवार) सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरो र डुबानका कारण खानेपानी, सडक, ऊर्जा र सिँचाइका संरचनामा ११ अर्बको क्षति पुगेको छ । यस्तै, कृषि तथा पशुपन्छीतर्फ ६ अर्बको नोक्सानी भएको छ ।
कार्यालयको तथ्यांकअनुसार खानेपानीतर्फ ३ अर्ब ५५ करोड र सडकतर्फ २ अर्ब ५२ करोडको नोक्सानी भएको छ । यस्तै, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारमा १ अर्बको क्षति भएको छ ।
बाढीपहिरोका कारण २१ जिल्ला प्रभावित बनेका छन् । तीमध्ये ७ जिल्ला (काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर) अति प्रभावित रहेको कार्यालयले जनाएको छ ।
बाढीपहिरोका कारण हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
कुन क्षेत्रमा कति क्षति ?
क्षेत्र | क्षति (रुपैयाँमा) |
खानेपानी | ३ अर्ब ५५ करोड |
सडक | २ अर्ब ५२ करोड |
ऊर्जा | ४ अर्ब |
सिँचाइ | १ अर्ब |
कृषि तथा पशुपन्छी | ६ अर्ब |
जम्मा | १७ अर्ब ७ करोड |
स्रोत : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।