भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका ५मा पर्ने यो स्थानका स्थानीयबासीले बसाइँसराइ गर्दा बस्तीहरू खण्डहरमा परिणत भएका हुन् ।
बाँदरको उपद्रोको कारण स्थानीयबासीले गाउँ छाड्दा भोजपुर मानेभञ्याङका धेरै बस्ती खण्डहरूमा परिणत भएका छन् । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिशहरूले गाउँ छाडेर अन्यत्र गएपछि बस्तीहरू नै खाली भएका हुन् । बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिया बस्ती खण्डहर बनेको स्थानीयबासीको भनाइ छ
विगतमा यहाँ रहेको पानीको समस्या समाधानको लागि पिखुवा खोलाबाट लिफ्ट गरेर बस्तीमा पुर्याएको भएपनि गाउँ नै खाली भएपछि पानी वितरणमासमेत समस्या भएको छ । मानिसको स्थायी बसोबास नहुँदा अरुको घरमा बसेका एक/दुई घर परिवारलाई झनै समस्या भएको हो । सवैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको रहेको स्थानीयबासी कमला तामाङले बताए । राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्तीहरू खण्डहर बन्ने अवस्था रहेको उनको भनाइ छ ।
बसाइँसराइका कारण ३५ घर रहेको अर्चले गाउँमा अहिले दुई घर, भोर्लेनी गाउँका ३३ घरमध्ये तीन घर, दमाइछाँपमा ८० घर मध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घर मात्र रहेको स्थानीय शिक्षक प्रकाश पराजुलीले बताए । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरिया गाउँमा रहेका ८० घर परिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीको भनाइ छ । वर्षेनी बसाइँसराई भईरहेकाले केहि समयमापछि धेरै बस्ती खाली हुने अवस्थामा रहेको उनले बताए ।