काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महीनामा १२ वाणिज्य बैंकको प्रतिशेयर आम्दानी बढेको छ । बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई, नबिल, प्राइम कमर्शियल, एनएमबि र प्रभु बैंकको प्रतिशेयर आम्दानी बढेको छ । यसैगरी, ग्लोबल आइएमई, कुमारी, नेपाल बैंक, सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले पनि प्रतिशेयर आम्दानी बढाएका छन् ।
यो अवधिमा ८ वाणिज्य बैंकको प्रतिशेयर आम्दानी घटेको छ, जसमा माछापुच्छ्रे, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन, सानिमा, सिटजन बैंक इन्टरनेशनल, राष्ट्रिय वाणिज्य, कृषि विकास र एनआईसी एशिया बैंक छन् ।
२० वाणिज्य बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी ३६ रुपैयाँ ५७ पैसा छ । गत त्रैमासमा सर्वाधिक प्रतिशेयर आम्दानी हुने बैंकको सूचीमा एभरेष्ट बैंक दोस्रो स्थानमा छ । बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८५ पैसा छ । त्यसैगरी, नेपाल एसबिआई बैंकको ३१ रुपैयाँ ०३ पैसा र नबिल बैंकको २९ रुपैयाँ ८३ पैसा छ । एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी भने सबैभन्दा कम २ रुपैयाँ ९१ पैसा रहेको छ ।
के हो प्रतिशेयर आम्दानी ?
प्रतिशेयर आम्दानी शेयर मूल्य मापन गर्ने एक महत्त्वपूर्ण सूचक हो । शेयर बजारमा लगानी गर्नुपूर्व यसको अध्ययन गर्न आवश्यक हुन्छ ।
कम्पनीले आर्जन गरेको खुद मुनाफालाई कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महीनासम्म उपयुक्त हुन्छ ।
प्रतिशेयर आम्दानी बढी हुनु राम्रो मानिन्छ भने कम हुनु कमसल मानिन्छ । प्रतिशेयर आम्दानी दर वृद्धि भइरहेको कम्पनीमा लगानी गर्नु उपयुक्त हुने शेयर बजारसम्बन्धी जानकार बताउँछन् । यसले कम्पनीको कमाइ राम्रो भइरहेको र लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था रहेको संकेत गर्छ ।
कुनको कति ?
कम्पनीको नाम | प्रतिशेयर आम्दानी रू. | घटबढ प्रतिशत | |
चालू आवको पहिलो त्रैमास | |||
गत आवको पहिलो त्रैमास | |||
स्ट्याण्डर्ड चार्टर्ड बैंक | 36.57 | 35.11 | 4.16 |
एभरेष्ट बैंक | 34.85 | 29.19 | 19.39 |
नेपाल एसबिआई बैंक | 31.03 | 18.25 | 70.03 |
नबिल बैंक | 29.83 | 21.31 | 39.98 |
प्राइम कमर्शियल बैंक | 26.53 | 23.74 | 11.75 |
एनएमबि बैंक | 24.95 | 20.98 | 18.92 |
प्रभु बैंक | 17.68 | 17.57 | 0.63 |
माछापुच्छ्रे बैंक | 17.32 | 18.66 | -7.18 |
नेपाल इनभेष्टमेण्ट मेगा बैंक | 17.16 | 17.84 | -3.81 |
ग्लोबल आइएमई बैंक | 16.74 | 13.71 | 22.1 |
कुमारी बैंक | 16.44 | 4.03 | 307.94 |
नेपाल बैंक | 16.39 | 3.88 | 322.42 |
हिमालयन बैंक | 13.42 | 19.51 | -31.21 |
सानिमा बैंक | 11.55 | 15.21 | -24.06 |
सिद्धार्थ बैंक | 10.64 | 1.19 | 794.12 |
लक्ष्मी सनराइज बैंक | 9.25 | 1.9 | 386.84 |
सिटिजन्स बैंक इन्टरनेशनल | 5.58 | 11.344 | -50.81 |
राष्ट्रिय वाणिज्य बैंक | 3.87 | 21.99 | -82.4 |
कृषि विकास बैंक | 3.25 | -28.83 | -111.27 |
एनआईसी एशिया बैंक | 2.91 | 26.58 | -89.05 |
स्रोत : बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन ।