काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले ब्याजदर घटाउँदै लगेपछि कुल निक्षेपमा मुद्दतीको अंश घट्दै गएको छ । तरलताको अवस्था सहज भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै मुद्दतीको तुलनामा साधारण निक्षेपमा जोड दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउनसम्ममा बैंक, वित्तीय संस्थाहरूले ६४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दतीको अंश ५७ दशमलव ५ प्रतिशत रहेको छ । गत आवको साउनमा भने बैंकहरूसँग यस्तो निक्षेप ६१ दशमलव ३ प्रतिशत थियो ।
मुद्दतीको अंश घट्दै गएपछि अन्य प्रकृतिका बचतको अंश भने बढ्न थालेको छ । गतवर्ष साउनमा बैंकहरूको कुल निक्षेपमा २६ दशमलव ७ प्रतिशत मात्र साधारण बचत रहेकोमा चालू आवमा बढेर ३० दशमलव ३ प्रतिशत पुगेको छ ।
तरलता अभावका कारण निक्षेप बढाउन बैंकहरूले अघिल्लो वर्ष मुद्दती निक्षेपमा जोड दिएका थिए । त्यसकारण बढ्दै गएको मुद्दती निक्षेपको अंश गत आवदेखि निक्षेपको ब्याजदर घटेसँगै घट्न थालेको हो । तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले गत आवको साउनदेखि निक्षेपको ब्याजदर निर्धारणमा भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर तोक्ने निर्णय गरेको थियो । त्यसपछि घट्ने क्रममा देखिएको निक्षेपको ब्याजदर चालू आवको साउनमा आइपुग्दा ५ प्रतिशतको हाराहारीमा झरेको छ ।
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बैंकमा तरलता अभाव हुँदा निक्षेप बढाउन मुद्दती योजनामा बढी ब्याजदर दिने प्रचलन रहेको बताउँछन् । ‘बैंकहरूलाई तरलता अभाव भयो भने बढी ब्याज दिएर दीर्घकालीन प्रकृतिका निक्षेप बढाउँछन्,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले ब्याजदरसँगै मुद्दती निक्षेपको अंश पनि घटेको देखिन्छ ।’
राष्ट्र बैंकको ब्याजदर निर्धारणसम्बन्धी निर्देशनअनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढी गर्न नपाइने प्रावधान छ ।
तरलता अभाव हुँदा बैंकहरूबीच निक्षेप तानातान हुने भएकाले मुद्दतीको अंश बढ्ने एक बैंकरले बताए । ‘अहिले बैंकहरूलाई तरलता व्यवस्थापनको तनाव नभएकाले बढी ब्याज दिएर मुद्दती निक्षेप लिनुपर्ने अवस्था छैन,’ ती बैंकरले भने । तरलता अभाव हुँदा निक्षेपमा अस्वस्थ प्रतिस्पर्धासमेत भएकाले मुद्दतीको अंश केही बढेको उनको भनाइ छ ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि आधारदरसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ । २०८० साउमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ११ प्रतिशत रहेकोमा २०८१ साउनमा ७ दशमलव ६१ प्रतिशतमा झरेको छ । आधारदर घटेसँगै बैंकको कर्जाको ब्याजदर पनि कम भएको छ ।
२०८० साउनमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत पुगेकोमा २०८१ साउनमा भने घटेर ९ दशमलव ६८ प्रतिशत कायम भएको राष्ट्र बैंकले बताएको छ । यसबीचमा विकास बैंकहरूको औसत ब्याजदर १३ दशमलव ८८ प्रतिशतबाट ११ दशमलव शून्य ७ र फाइनान्स कम्पनीको १४ दशमलव ६६ बाट १२ दशमलव ३२ प्रतिशत कायम भएको छ ।