काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्टाउन जरुरी रहेको बताएका छन् ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारेको छलफलमा उनले स्वार्थ बाँझिने गरी कानूनी व्यवस्था गर्न नहुने बताए ।
उनले भने, ‘बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ । तर मेरो भनाइ छुट्टाउनै पर्छ भन्ने नै छ । किनकी स्वार्थ बाँझिन्छ । अहिले जुन बिचौलिया राज भइरहेको छ । पार्टीहरू कब्जामा छन् । आर्थिक संस्थाहरू कब्जामा छन । यो एकाधिकार बढ्दै जाँदा उनीहरू हावी हुने अवस्था आएको छ यसलाई हामीले तोड्नैपर्ने हुन्छ ।’
तथ्यका आधारमा बैंकर–व्यवसायी छुट्टाउनेबारे निर्णय लिन जरुरी रहेको उनको भनाइ छ ।