जनकपुरधाम । सहकारी संस्थाहरूमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेस प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माण कम्पनी जिनव इंन्क प्रालिको आयोजनामा शुक्रवार जनकपुरधाममा भएको कार्यक्रममा मधेस प्रदेशका सयभन्दा बढी सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाहरूमा आधुनिक प्रविधिको प्रयोग, सफ्टवेयर छनोट गर्ने आधार र यसबाट हुने फाइदाबारे छलफल गरिएको थियो ।
अन्तरक्रियालाई सहजीकरण गर्दै सहकारीविज्ञ किरण पौडेलले सहकारी संस्थाहरूमा प्रविधिको प्रयोग र उपयुक्त सफ्टवेयरको छनोटलगायतका विषयमा प्रशिक्षण दिएका थिए
। उनले सहकारीकर्मीलाई सफ्टवेयर छनोट गर्दा क्लाउड बेस, सहकारी ऐन, नियमसँग तथा मापदण्डसँग नबाझिने, थर्ड पार्टी एप्लिकेशन नचाहिने, नियामकको निर्देशन पालना गर्न र रिपोटिङ गर्न सहज हुने जस्ता विशेषता हेर्न सुझाव दिए ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक नथुनी यादवले सहकारीको विकास र विस्तारका लागि सहकारी ऐन र कानुनको पूर्ण पालना र पारदर्शितामाजोड दिनुपर्ने बताए । सहकारी संस्थाहरूले गरिबी निवारण, बेरोजगारी समस्याको समाधान र समाजको आर्थिक विकासमा खेलेको भूमिकाबारे विश्लेषण गर्दै उनले सहकारीप्रतिको नकारात्मक भावना हटाउन पनि आग्रह गरे । मधेस प्रदेशका सहकारी रजिस्ट्रारको कार्यालयका अधिकृत वाशुदेव भट्टले सहकारीमा भएको समस्या हटाउन एवं सुशासन कायम गर्न सफ्टवेयरको प्रयोगबाट ठूलो सहयोग पुग्ने बताए ।
कार्यक्रममा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउत, समाज सेवी कृष्ण दिक्षित तथा स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक विनोद थापाले पनि सहकारीको क्षेत्रको बारेमा धारणा राखेका थिए ।
गत साउनदेखि ‘फिनएक्स को–अपरेटिभ सफ्टवेयर’ नामबाट सञ्चालनमा रहेको सफ्टवेयरको सेवा हाल ५०० ओटाभन्दा बढी संस्थाहरूले प्रयोग गरिरहेका छन् । कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोगसम्बन्धी कार्यविधि–२०८१’ ले तोकेको मापदण्ड पूरा गरी सूचीकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रियासम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधा छन् ।
यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छ्योट, मिस्डकलमार्फत मोबाइल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, ई-सेवा खल्तीलगायतका वालेटहरूमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, ई-टेलर लगायतका आधुनिक सुविधा उपलब्ध छन् ।