काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राजनीतिकर्मी प्रत्यक्षरूपमा जनताप्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा आइतवार (आज) मन्त्रालयमा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । राजनीतिकर्मीले जनताप्रति थुप्रै वाचा गरेकाले जनताले सम्झनेगरी काम गर्नुपर्ने उनको भनाइ छ ।
‘हामी राजनीतिकर्मी जनताप्रति थुप्रै वाचा गरेर आएका हुन्छौं, थुप्रै लक्ष्य लिएका हुन्छौं, लक्ष्य प्राप्तिका लागि आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राजनीतिकर्मी जनताप्रति प्रत्यक्ष उत्तरदायी भएर काम गर्नुपर्छ,’ मन्त्री खड्काले भने ।
जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्नुपर्ने उनको भनाइ छ । मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरूमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।
उनले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक ढंगले निर्वाह गर्नुपर्ने उल्लेख गरे । उनले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने बताए ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउन लाग्ने विश्वास दिलाए । उनले देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।