नेपालमा समग्र अपराधका घटना बढ्दै गएको छ । त्यसमा बैंकिङ कसुर पनि पर्छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार २०८१ साउनदेखि कात्तिकसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र २ हजार ६२९ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । गतवर्ष सोही अवधिमा उपत्यकामा २ हजार ३७९ मुद्दा दर्ता भएका थिए । यसरी बैंकिङ कसुरका घटना किन बढिरहेका छन् त ?
गत आर्थिक वर्षको साउनदेखि कात्तिकको तुलनामा चालू आर्थिक वर्षमा ढेढ सयभन्दा बढी मुद्दा दायर भएका छन् । वित्तीय क्षेत्रमा अपराध बढ्दै जाँदा प्रहरीलाई अनुसन्धान गर्न नै समस्या भएको छ र उसले यसका लागि अलग्गै निकाय आवश्यक भएको बताएको छ । बैंकिङ कसुरमा सबैभन्दा बढी चेक अनादरको मुद्दा पर्ने गरेको छ । खातामा पैसा नहुँदा पनि जानाजान चेक काटेर दिँदा चेक अनादरको मुद्दा लाग्छ । अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ । घरजग्गा कारोबार ठप्प जस्तै हुँदा धेरैको लगानी अड्किएको छ । त्यसले गर्दा कारोबार बिग्रिएर पनि यस्तो कसुरको मात्रा बढेको देखिन्छ ।
बैंकिङ कसुरका घटना बढ्नुमा धितो मूल्यांकनमा हुने गडबडीलगायत समस्या पनि छन् । नेपालमा बैंकिङ क्षेत्र तुलनात्मक पारदर्शी रहेको छ । तर पनि विभिन्न कर्जा प्रवाहमा समस्या रहेको देखिन्छ । जसका कारण बैंकिङ कसुर बढेको देखिन्छ ।
कानूनी व्यवस्थाविपरीत बैंक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ कसुर भनिन्छ । विद्यमान कानूनी व्यवस्थाअनुसार अनधिकृत रूपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रूपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खाताको विवरण अन्य कुनै व्यक्ति वा संस्थालाई दिने, धितोको अस्वाभाविक मूल्यांकन गरी ऋण लिने तथा दिने काम बैंकिङ कसूरभित्र पर्छन् । नेपालमा बैंकिङ कसूर तथा यसमा दिइने सजायको बारेमा ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ मा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले सो बैंक तथा वित्तीय संस्थाको विनियमावलीबमोजिम पाउने कर्मचारी सुविधाअन्तर्गतको कर्जा वा सापटीबाहेक अन्य तरीकाले कर्जा वा सापटी लिने, अथवा बैंक तथा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, शेयरधनी वा त्यस्तो व्यक्तिका परिवारका सदस्यले उक्त बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने गरेमा पनि बैंकिङ कसुर गरेको ठहरिन्छ । बैंकिङ क्षेत्रलाई बलियो बनाउन तय गरिएका कानुनी प्रावधानको उल्लंघन बढ्दो छ जसले गर्दा बैंकिङ बढेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्था धराशयी भए भने मुलुक अकल्पनीय संकटमा फस्छ । त्यसैले वित्तीय क्षेत्रलाई स्वस्थ र सबल बनाउन बलिया कानून र नियामकको व्यवस्था गरिएको छ । त्यसो गर्दागर्दै पनि बैंकिङ कसुरका घटना हुने गरेका छन् । तिनलाई रोक्न र भएका घटनामा अनुसन्धान गरी बिगो भराउन प्रहरी निकाय पनि सबल हुनुपर्छ । तर, प्रहरीमा यससम्बन्धी विज्ञ जनशक्ति नहुँदा पनि समस्या परेको देखिन्छ जसले गर्दा अनुसन्धानमा नै बढी समय लाग्ने गरेको छ । मूलत: बैंकिङ र सहकारी क्षेत्रको स्वनियमन, संस्थागत सुशासनबाट नै यस्ता घटना अधिक नियन्त्रण हुन्छ । संस्थागत सुशासनका विधिको पालना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यसपछि बलियो नियामकका माध्यमबाट यस्ता अपराध घटाउन थप मद्दत मिल्छ । त्यसपछि मात्र प्रहरीमा जाने परिस्थिति ल्याउन सकियो भने मात्र बैंकिङ कसुरको प्रभावकारी नियन्त्रण सफल हुन्छ ।
बैंकिङ कसुरका घटना कम गराउन तथा अनुसन्धान गरी बिगो भराउन पनि अनुसन्धान निकाय बलियो बनाउनुपर्छ । यस्ता अपराधका घटना सचेतनाको अभाव हुनु अर्को चिन्ताको विषय हो । बैंकिङ कसुरसँग सहकारीको समस्या पनि जोडिएर आउँछ । वित्तीय कारोबार गर्ने भएर पनि सही नियमन नहुँदा सहकारीमा खर्बौ रकम अपचलन भएको अनुमान छ । त्यसैले यस्ता वित्तीय अपराधका घटनामा राज्य संवेदनशील बन्नैपर्छ ।