काठमाडौं । नेपालमा विदेशी लगानीमा सञ्चालित उद्योगमध्ये उत्पादनमूलकका लगानीकर्ताले सबैभन्दा बढी लाभांश फिर्ता लाने गरेको पाइएको छ । यो प्रवृत्ति गत आर्थिक वर्ष (आव) २०८०/८१ पनि दोहोरिएको उद्योग विभागको तथ्यांकले देखाउँछ । गतवर्ष बढी लाभांश लैजानेको दोस्रो नम्बरमा ऊर्जाक्षेत्र उक्लिएको छ ।
विभागका अनुसार गत आव २०८०/८१ मा नेपालबाट कुल १० अर्ब ७ करोड ८२ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले फिर्ता लगेका छन् । त्यसमा उत्पादनमूलक उद्योगका लगानीकर्ताले ९ अर्ब ३४ करोड रुपैयाँ बराबर लाभांश फिर्ता लगेका छन् । ऊर्जामूलक उद्योगका लगानीकर्ताले ३६ करोड ७६ लाख रुपैयाँ लगेका छन् ।
विभागले सार्वजनिक गरेको ‘नेपालमा विदेशी लगानी–२०२४’ नामको प्रतिवेदनले लाभांश फिर्ता लैजानेमा उत्पादनमूलक क्षेत्रका परियोजनामा लगानी गरेका विदेशी कम्पनीहरूको वर्चस्व लामो समयदेखि रहँदै आएको स्पष्ट पारेको छ ।
आव २०७९/८० विदेशी लगानीकर्ताले १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लाभांश फिर्ता लगेका थिए । त्यसमा पहिलो स्थानको उत्पादनमूलक उद्योगको अंश ८ अर्ब ८० करोड र दोस्रो स्थानको सूचना तथा सञ्चारप्रविधि क्षेत्रका उद्योगले ३ अर्ब ६७ करोड रुपैयाँ लगेका छन् ।
आव २०७८/७९ मा विदेशी लगानीकर्ताले १३ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ लाभांश फिर्ता लगेका थिए । त्यस वर्ष उत्पादनमूलक उद्योगका लगानीकर्ताले ८ अर्ब ६३ करोड र सूचना तथा सञ्चारप्रविधि क्षेत्रकाले ४ अर्ब ८० करोड रुपैयाँ लगेका थिए । यो क्षेत्रमा परियोजना/उद्योगको संख्या पनि तुलनात्मक रूपमा बढी नै देखिन्छ । गत आव २०८०/८१ मा लाभांश फिर्ता लैजाने उत्पादनमूलक उद्योगको संख्या ४३ पुगेको छ । अघिल्लो आव २०७९/८० मा उक्त संख्या ४१ थियो ।
नेपालमा भित्रिएका फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी)मा आधारित बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, युनिलिभरजस्ता कम्पनीले लाभांश बढी लगेको उद्योग विभागका एक अधिकारीले आर्थिक अभियानलाई बताए । यी उद्योग उत्पादनमूलक अन्तर्गतका हुन् । एशियन पेन्ट, बर्जर र केएनपीले पनि धेरै लाभांश लैजाने गरेको विभागका ती अधिकारीले बताए ।
विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले लाभांश फिर्ता लैजाने उद्योगमा उल्लेख्य भिन्नता नदेखिएको बताउँछन् । कुनै कम्पनीले कुनै १/२ आवको लाभांश १ आवमा पनि माग गरेर फिर्ता लग्ने गरेको उनको भनाइ छ ।
उनका अनुसार नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीले लैजाने लाभांशमा खासै ठूलो अन्तर छैन । ‘नेपालमा लगानी भएका त्यस्ता कम्पनीको नाफा घटेको छैन,’ उनले भने, ‘कोरोना महामारीको बेला होस् वा अन्य कुनै परिस्थितिमा पनि लाभांश धेरै घटेको छैन, नाफा होस् वा लाभांश फिर्ता उस्तै अनुपातमा रहेको देखिन्छ ।’
विभागका अनुसार ३ आवमा पहिलोपटक नेपालमा कृषि तथा वनजन्य उद्योगमा आधारित उद्योगले पनि लाभांश फिर्ता लगेको देखिएको छ । भुटानी लगानी रहेको रिजाल टासी उद्योगले गत आव २०८०/८१ मा २ करोड ५० लाख रुपैयाँभन्दा बढी लाभांश फिर्ता लगेको विभागका एक अधिकारीले भने ।
आव २०७९/८० मा पनि उत्पादनमूलक उद्योगका लगानीकर्ताले बढी लाभांश फिर्ता लगेको देखिन्छ । उक्त आवमा उत्पादनमूलक उद्योगबाट लगानीकर्ताले ८ अर्ब ८० करोड रुपैयाँ लाभांश फिर्ता लगेको देखिन्छ ।