काठमाडौं (अस) । ‘अघि बढौं– बेरोजगारी निर्मूल गरौं’ भन्ने नाराका साथ श्रीयोग कन्सल्टिङ प्रालिले श्रीयोग डट कम नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । श्रीयोगका अनुसार उक्त वेबसाइटको प्रमुख उद्देश्य बेरोजगार जनशक्तिमा रहेको शीप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरूका लागि रोजगारी सृजना गर्नु हो ।
श्रीयोगले डिजिटल प्लेटफर्ममा विभिन्न १८ ओटा मुख्य समूह, १५० भन्दा बढी उप–समूह तथा ती पेशासँग सम्बन्धित व्यक्तिको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, रेटिङ, रिभ्यू, शुल्क, अफर, कामका लागि उपलब्ध भएको/नभएको जानकारी इत्यादि सबै जानकारी वेबसाइटमा राखी पार्टटाइम काम गर्ने अवसर दिने बताएको छ । यसमा आफूलाई सूचीकृत गर्न चाहनेले पहिले आफूलाई उक्त वेबसाइटमा आफूलाई दर्ता गराउनुपर्छ । दर्ता गराउन मोबाइल वा इमेल आवश्यक हुन्छ । दर्ता गराउँदा व्यक्तिगत विवरण, फोटो र अनुभव समेत राख्न सकिन्छ । यसरी विभिन्न रोजगारीको किसिममा सूचीकृत भएका व्यक्तिलाई रोजगारदाताले उनीहरूको व्यक्तिगत विवरण हेरी सीधै सम्पर्क गर्न सक्छन् ।
श्रीयोग डटकमले दर्ता अनुसार पार्टटाइम काम गर्ने र शीप भएका व्यक्तिलाई लिस्टिङ गर्नेछ । त्यसपछि लिस्ट हेरी आफूलाई चाहिएको व्यक्ति र उसले गर्नुपर्ने कामबारे फोनबाट जानकारी दिइन्छ । यसले काम खोजिरहेकालाई काम र रोजगारी खोजिरहेकालाई रोजगारी दिने बताइएको छ । यस वेबसाइट, मोबाइल एप र कल सेन्टरका माध्यमबाट बेरोजगार र रोजगारदाता जोडिने श्रीयोगले उल्लेख गरेको छ । सन् २०१६ सेप्टेम्बर १२ मा शुरू भएको श्रीयोगले आजसम्म आइपुग्दा धेरै जनालाई काम गर्ने अवसर प्रदान गरिरहेको छ ।