इस्लामावाद (पाकिस्तान) । भारतले पाकिस्तानविरुद्ध कूटनीतिक कदम चालेपछि पाकिस्तानले पनि जवाफी कदम चालेको छ ।
भारत प्रशासित कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको हमलामा पाकिस्तानमाथि दोष लगाएको भारतले बुधवार कूटनीतिक कदम चालेको थियो । कश्मीर घटनापछि भारतले जलस्रोत बाँडफाँट सम्झौता निलम्बन, मुख्य स्थल सीमा बन्द, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानीहरूका लागि भिसा रद्द गर्ने निर्णय गरेको छ ।
त्यसको जवाफ दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बिहीवार (आज) इस्लामाबादस्थित राजधानीमा राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका थिए ।
‘पाकिस्तानको सार्वभौमिकता र यसको जनताको सुरक्षामा आउने कुनै पनि खतरा विरुद्ध सबै क्षेत्रहरूमा दृढ प्रत्युत्तर दिइनेछ,’ प्रधानमन्त्री शहबाज शरिफको कार्यालयबाट एनएससी बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ ।
पाकिस्तानले भारतीय सैन्य सल्लाहकारहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै तुरुन्तै पाकिस्तान छोड्न निर्देशन दिएको जनाइएको छ ।
पाकिस्तानको हवाई क्षेत्र पनि ‘भारतीय स्वामित्व वा भारतीय सञ्चालित सबै एयरलाइन्सहरूका लागि’ तुरुन्तै बन्द गरिएको छ । पञ्जाबस्थित मुख्य वाघा सीमा नाका पनि बन्द गरिएको छ । ‘यस मार्गबाट भारतबाट हुने सबै प्रकारका पारवहन निःसन्देह रूपमा स्थगित गरिनेछ,’ वक्तव्यमा भनिएको छ।
‘भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो देशमार्फत किन नहोस्, तत्काल प्रभावबाट स्थगित गरिएको छ ।’ एएफपी/रासस
पाकिस्तानविरुद्ध भारतको कूटनीतिक कदमको असर : घटे दुवै देशका शेयर बजार