काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गर्नुभएको छ ।
मन्त्रिपरिषदको निर्णयविरुद्ध पटक–पटक अभिव्यक्ति दिएका उनलाई बुधवार (आज) बर्खास्त गरिएको हो । उनी गत साउन १८ मा ऊर्जा राज्यमन्त्री नियुक्त भएका थिए ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।
कुलमानलाई बर्खास्त गर्ने निर्णयमा असन्तुष्टि जनाएकै कारण आफूलाई राज्यमन्त्रीबाट बर्खास्त गरेको उनले बताए ।
तपाईंको ऊर्जामन्त्री दीपक खड्कासँग कुरा नमिलेको होइन भन्ने अभियानकर्मीको प्रश्नमा उनले भने, ‘होइन, उहाँ कुलमान हटाउनुपर्छ भन्ने पक्षको हो । म नहटाउनुस् भन्ने पक्षको हो । मिल्ने, नमिल्ने केही होइन,’ उनले भने ।
सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै आएका ऊर्जा राज्यमन्त्री तामाङलाई पदबाट राजीनामा दिन नेपाली कांग्रेसले आग्रह गर्दै आएको थियो । तर, उनले यो कुरा अस्वीकार गरेका छन् ।
पार्टीले आफ्नो राजीनामा मागेकोबारे आफूलाई थाहा नभएको ऊर्जा राज्यमन्त्री तामाङले बताए । ‘पार्टीले राजीनामा मागेको भए एक मिनेटमै गरिदिन्थे । मलाई पदको लोभ नै छैन,’ उनले भने ।